अब पशुपतिनाथदेखि भारतको वैद्यनाथधाम ४ घण्टामै, २५० किमिको नयाँ एक्सप्रेसवे बन्ने

714
Shares

काठमाडौं । नेपालको पशुपतिनाथलाई भारतको झारखण्डस्थित वैद्यनाथ धाम(बाबाधाम) सँग जोड्ने गरी २५० किलोमिटर लामो ‘पशुपतिनाथ-वैद्यनाथधाम हाई-स्पीड कोरिडोर’ निर्माण गरिने भएको छ ।

यो नयाँ ग्रीनफिल्ड एक्सप्रेसवेले हाल १४ घण्टा लाग्ने यात्रालाई घटाएर लगभग ४ घण्टामा सीमित गर्ने लक्ष्य राखेको छ। नेपाल सरकारले सुरु गरेको निजगढ- काठमाडौं द्रुतमार्ग सम्पन्न भएपछि बैजनाथदेखि काठमाडौंको पशुपतिनाथसम्मको यात्रा ४ घन्टामा पूरा हुन सक्नेछ ।

बिहार सरकारले धार्मिक पर्यटन र क्षेत्रीय कनेक्टिभिटीलाई गति दिने उद्देश्यले यो महत्त्वपूर्ण परियोजना अघि बढाएको हो। बिहारका सडक निर्माण मन्त्री डा दिलीप जायसवालले विधानसभामा यो एक्सप्रेसवे नेपालको राजधानी काठमाडौंबाट सुरु भई भीमनगर र वीरपुर हुँदै बिहारको सुपौल जिल्लाबाट भारतीय सीमामा प्रवेश गर्ने जानकारी गराए ।

त्यसपछि यो बिहारका मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्ला हुँदै झारखण्डको देवघर जिल्लामा रहेको प्रसिद्ध वैद्यनाथ धाममा पुग्नेछ।

नेपालको पर्यटन क्षेत्रमा भारतीय पर्यटकहरूको आगमनले महत्त्वपूर्ण स्थान ओगट्दै आएको छ। खुला सिमाना, सहज पहुँच तथा सांस्कृतिक र धार्मिक समानताका कारण हरेक वर्ष लाखौं भारतीय नागरिक नेपाल भ्रमणमा आउँछन्, जसमध्ये ठूलो संख्या धार्मिक आस्था बोकेर आउने गर्दछ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार, नेपाल भित्रिने विदेशी पर्यटकमध्ये भारतीय नागरिक अग्रस्थानमा रहन्छन्।

नेपाल आउने भारतीय पर्यटकमध्ये कति प्रतिशत धार्मिक उद्देश्यले आउँछन् भन्ने यकिन तथ्याङ्क नभए पनि एक महत्त्वपूर्ण हिस्सा तीर्थयात्राकै लागि आउने गरेको पर्यटन व्यवसायीहरू बताउँछन्। भारतबाट बर्सेनि डेढ लाखभन्दा बढी पर्यटक तीर्थयात्रा र बिदा मनाउन नेपाल आउने गरेको एक तथ्याङ्कले देखाउँछ। हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र भएकाले नेपाल भारतीयहरूका लागि एक प्रमुख धार्मिक गन्तव्य बनेको छ।

भारतबाट नेपालमा वार्षिक ३ लाखको हाराहारीमा पर्यटक भित्रिन्छ । सन् २०२५ मा भारतबाट नेपालमा २ लाख ९२ हजार पर्यटक भित्रिएका थिए । सन् २०२४ को तुलनामा सन् २०२५ मा २५ प्रतिशत बढी संख्यामा भारतीय पर्यटक नेपाल भित्रिएका थिए । भारतबाट आउने पर्यटकमध्ये झण्डै ९० प्रतिशत धार्मिक पर्यटक हुन्छन् ।

भारतीय धार्मिक पर्यटकहरू नेपालका विभिन्न पवित्र स्थलहरूको दर्शनका लागि पुग्ने गरेका छन्। उनीहरूको मुख्य धार्मिक रोजाइमा पशुपतिनाथ मन्दिर पर्छ । विश्वभरका हिन्दूहरूको लागि आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर मानिएको छ । त्यसमा पनि भारतबाट आउने अधिकांश धार्मिक पर्यटकहरूको पहिलो गन्तव्य पशुपतिनाथ नै हुने गर्छ भारतको चारधाम घुमेपछि पशुपतिनाथको दर्शन नगरे तीर्थयात्रा अपूरो हुने विश्वासले पनि पशुपतिनाथ मन्दिरको दर्शन उनीहरुको लागि अपरिहार्य मानिएको छ ।

यसपछि दोश्रोमा मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिरको दर्शनको लागि भारतीय पर्यटक नेपाल भित्रिन्छन् । मुक्तिनाथ हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूको साझा तीर्थस्थल मानिन्छ । कठिन भौगोलिक अवस्थाका बाबजुद हजारौं भारतीय तीर्थयात्रीहरू यहाँ मोक्ष प्राप्तिको कामनासहित पुग्ने गर्दछन्।

यसपछि सीताको जन्मस्थलको रूपमा परिचित जनकपुरधाम भारतीय पर्यटकहरूको आर्कषकको केन्द्रविन्दु मानिन्छ । विशेषगरी रामायणसँग आस्था राख्नेहरूका लागि प्रमुख आकर्षणको केन्द्र हो। यस्तै बुद्धको जन्मस्थल लुम्बिनी, मनकामना मन्दिर, गोसाइँकुण्ड, बराहक्षेत्र, हलेसी महादेव, स्वर्गद्वारी जस्ता अन्य धार्मिक स्थलहरू पनि भारतीय पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।

धार्मिक पर्यटन र आर्थिक विकासमा टेवा

मन्त्री जायसवालले यस परियोजनाको मुख्य उद्देश्य दुई प्रमुख शिव धामलाई सोझै जोडेर धार्मिक पर्यटनलाई बढावा दिनु र नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउनु भएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसले तीर्थयात्रीहरूका लागि सहज र छिटो यात्रा सुनिश्चित गर्नुका साथै यस क्षेत्रमा पर्यटनमा आधारित आर्थिक गतिविधिहरूलाई पनि गति दिनेछ।

यो हाई-स्पीड कोरिडोरको निर्माणले बिहार र झारखण्डका धेरै जिल्लाहरूमा आर्थिक विकास, रोजगारीका अवसर र यातायात व्यवस्थालाई मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै, यो एक्सप्रेसवेलाई रक्सौल-हल्दिया र दरभंगा-आमस जस्ता अन्य प्रमुख एक्सप्रेसवेसँग पनि जोडिनेछ, जसले पूर्वी भारतको सडक सञ्जाललाई अझ सुदृढ बनाउनेछ।

कति लाग्छ बजेट ?

बिहार राज्य सरकारले यो प्रस्ताव केन्द्र सरकारसमक्ष स्वीकृतिका लागि पठाइसकेको छ । केन्द्रबाट स्वीकृति प्राप्त हुनासाथ निर्माण कार्य सुरु गरिनेछ । बिहार सरकारले आर्थिक वर्ष २०२६/२७ को बजेटमा सडक निर्माण परियोजनाहरूका लागि ८ हजार २६० करोड भारतीय रुपैयाँ छुट्याएको छ जसमा यस कोरिडोरलाई प्रमुख योजनाका रूपमा राखिएको छ।

यदि भारतको केन्द्र सरकारबाट छिट्टै स्वीकृति प्राप्त भएमा यो महत्त्वाकांक्षी परियोजना लगभग पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो एक्सप्रेसवे निर्माण भएपछि हाल करिब ५३४ किलोमिटर रहेको दूरी घटेर २५० किलोमिटरमा सीमित हुनेछ, जसले समय र इन्धन दुवैको बचत गराउनेछ । यसले नेपाल, बिहार र झारखण्डबीचको व्यापार, पर्यटन र आर्थिक गतिविधिलाई ठूलो प्रोत्साहन दिने विश्वास लिइएको छ ।

Skip This