संघीय राजधानीलाई गिज्याइरहेको तीनकुने पुल: ‘आर्क’ डिजाइनमा बन्दै, लागत साढे २४ करोड

पप्पुका कारण ११ वर्षदेखि अलपत्र

1.2k
Shares

काठमाडौं । संघीय राजधानी काठमाडौंको सुविधानगर, तीनकुनेस्थित बागमती नदीमाथि ‘आर्क’ डिजाइनको नयाँ पुल निर्माण प्रक्रिया सुरु भएको छ ।

माइतीघर–बानेश्वर सडक खण्डको बिजुलीबजारस्थित नयाँ आर्क डिजाइनको ब्रिजजस्तै हुबहु तीनकुनेस्थित बागमती नदीमाथि ‘नेटवर्क आर्क ब्रिज’ निर्माण गर्ने प्रक्रिया सुरु भएको हो ।

सडक विभागअन्तर्गतको काठमाडौं चक्रपथ सुधार योजनामार्फत यो पुल निर्माण हुन लागेको हो ।

तीनकुने पुल वारिपारि सर्भिस लेनसहित आठ लेनमा सडक विस्तार भए पनि पुल फराकिलो नहुँदा विगत ११ वर्षदेखि सर्वसाधारणले उक्त पुल वारपार गर्न ठूलो जामको समस्या बेहोर्न बाध्य छन्।

मुख्यगरी बिहान र साँझको समयमा त्यस स्थानमा ठूलो जाम हुने गरेको छ । सो पुलमार्फत भक्तपुर र कोटेश्वरबाट बानेश्वरतर्फ तथा बानेश्वरबाट कोटेश्वर, भक्तपुर र गौशालातर्फ सवारीसाधन गुड्ने गर्छन् ।

पप्पु कन्स्ट्रक्सनले ११ वर्षदेखि अलपत्र पारेको उक्त पुल नयाँ ठेक्कामार्फत आर्क डिजाइनमा निर्माण अघि बढाइएको काठमाडौं चक्रपथ सुधार योजनाका सूचना अधिकारी इन्जिनियर रामबिहारी चौधरीले जानकारी दिए ।

पप्पु कन्स्ट्रक्सनले कमसल संरचना निर्माण गरेपछि उक्त पुल निर्माणको कार्य अलपत्र परेको थियो । पप्पुले काम अलपत्र पारेपछि सरकारले ठेक्का रद्द गरी नयाँ ठेक्कामार्फत सो स्थानमा नयाँ आर्क ब्रिज निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ ।

जसअनुसार, पप्पुले निर्माण गरेको उक्त संरचना भत्काएर ‘नेटवर्क आर्क डिजाइन’ मा नयाँ पुल निर्माण गर्न विभागले २०७९ साउन १० गते निर्माण कम्पनी वाईपी–किरातेश्वर जेभीसँग सम्झौता गरेको थियो ।

यो ठेक्का ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा लगाइएकाले पुलको डिजाइनदेखि निर्माणसम्मको सबै काम निर्माण कम्पनीकै हुने चौधरीले जानकारी दिए ।

वाईपी–किरातेश्वर जेभीसँग भ्याट र कन्टिजेन्सीबाहेक २४ करोड ५९ लाख ६७ हजार रुपैयाँ तथा भ्याट र कन्टिजेन्सीसहित ३९ करोड ३५ लाख ४९ हजार ६ सय ७४ रुपैयाँमा सम्झौता भएको थियो ।

यो सम्झौताअनुसार ४२ महिनाभित्र (२०८२ माघ १० गते) नयाँ पुलको निर्माण भइसक्नुपर्ने समयसीमा तोकिएको थियो । तर विभिन्न झन्झटिलो प्रक्रियाका कारण निर्माण अवधि सकिँदा समेत पुलको काम अघि बढ्न सकेको थिएन ।

ठेक्का तोडिसकेपछि पुनः नयाँ ठेक्का आह्वान गरेर प्रक्रिया अघि बढाउन निकै जटिल समस्या आएको थियो । ठेक्का तोडेर सबै नयाँ प्रक्रिया सम्पन्न गर्न तीन वर्ष लागेको चौधरीले बताए ।

उनका अनुसार पप्पुसँग ठेक्का तोडिएपछि पुनः ठेक्का आह्वान, माटो परीक्षण, डीपीआर तयार, नयाँ डिजाइन तयार, तयार भएको डिजाइन ‘थर्ड पार्टी’ बाट भेरिफिकेसन र सार्वजनिक खरिद ऐनमा सुधारलगायतका प्रक्रिया पूरा गर्दा समय लागेको हो ।
योजनाका सूचना अधिकारी चौधरीले भने, ‘सार्वजनिक खरिद ऐनमा सुधार गरेर ती सबै प्रक्रिया पूरा गरी पुनः स्वीकृत गर्न करिब तीन वर्ष लाग्यो । यस्ता प्रक्रिया समयमा सम्पन्न हुन नसक्दा निर्माण कम्पनीलाई कार्यादेश (वर्क अर्डर) समेत दिइएको थिएन, जसले गर्दा निर्माणमा ढिलाइ भयो ।’

योजना कार्यालयका अनुसार सबै प्रक्रिया सम्पन्न गरेर गत कात्तिक २३ गते निर्माण कार्य सुरु गर्न कम्पनीलाई कार्यादेश प्रदान गरिएको थियो ।

कार्यादेश पाएपछि निर्माण सम्पन्न गर्ने अवधि सकिएकाले निर्माण कम्पनीले पुनः ३ वर्ष म्याद थप्न योजना कार्यालयमा पत्राचार गरेको छ । आवश्यक प्रक्रिया पुर्‍याएर म्याद थप्ने तयारी भइरहेको चौधरीले जानकारी दिए ।

‘ठेक्का सम्झौता भए पनि निर्माणको कार्यादेश दिइएको थिएन । कात्तिकमा बल्ल कार्यादेश दिइएको हो । निर्माण सम्पन्न गर्नुपर्ने साविकको तीन वर्षको म्याद प्रक्रियामै सकियो,’ चौधरीले भने, ‘अहिले म्याद थपको प्रक्रियासँगै निर्माण सुरु गर्न निर्देशन दिइएको छ ।’

कस्तो बन्दैछ तीनकुनेको आर्क ब्रिज?

कार्यादेश पाएलगत्तै निर्माण कम्पनीले अहिले पप्पुले निर्माण गरेको पुरानो संरचना भत्काउन सुरु गरेको छ । पुरानो संरचना भत्काएपछि डिजाइनअनुसार १.०२ मिटर व्यास र ३६ मिटर लम्बाइ भएका २०–२० वटा गरी कुल ४० वटा पाइल निर्माण गरिनेछ । त्यसपछि ‘नेटवर्क आर्क डिजाइन’ मा पुल निर्माण सुरु हुनेछ ।

नयाँ डिजाइनअनुसार तीनकुनेको पुरानो पुलको दायाँ र बायाँतर्फ १६.४० मिटर चौडाइको संरचना निर्माण हुनेछ । जसमध्ये दायाँ र बायाँ १२ मिटर चौडाइ भएको लेनमा सवारीसाधन गुड्नेछन् भने पुरानो पुल यथावत् रहनेछ । नयाँ आर्क ब्रिजको लम्बाइ ८५ मिटर हुनेछ भने दुई मिटरको फुटपाथ निर्माण गरिनेछ ।

यसैगरी, आर्क ब्रिजको माथिल्लो गोलो बीम १.२०–१.२० मिटरको हुनेछ । पुलको आर्क संरचनाको उचाइ १५.७५ मिटर हुनेछ । यस्तै, फाउन्डेसन निर्माण गर्न ‘पाइल तथा पाइल क्याप’ प्रविधिको प्रयोग हुनेछ ।

के थियो पप्पुसँगको लफडा ?

सडक विभागले ८५ मिटर लम्बाइको नेटवर्क आर्क डिजाइनको पुल बिजुलीबजार र तीनकुनेमा निर्माण गर्न २०७१ सालमा ठेक्का आह्वान गरेको थियो । सम्झौताअनुसार पप्पुले २०७५ असार ५ गते पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

बिजुलीबजारको आर्क पुल निर्माण सम्पन्न भई ६ वर्षदेखि सञ्चालनमा छ । पप्पुले ‘डिजाइन एण्ड बिल्ड’ प्रविधिअनुसार २०७१ पुस ४ गते २१ करोड रुपैयाँमा तीनकुने पुलको ठेक्का पाएको थियो ।

उक्त कम्पनीले मापदण्ड र डिजाइनविपरीत कमसल सामग्री प्रयोग गरी दुईवटा पिलर र बेसमेन्ट निर्माण गरेको थियो । अनुगमनका क्रममा गुणस्तरहीन काम पाइएपछि विभागले रोक लगाएको थियो ।

त्रुटि सच्याउन पटक–पटक दिएको निर्देशन अटेर गरेपछि विभागले २०७६ मा पप्पुलाई कालोसूचीमा राख्दै ठेक्का तोडेको थियो । त्यसपछि मात्र नयाँ ठेक्काको प्रक्रिया सुरु गरिएको हो ।