
म विगत चार दशकदेखि तयारी पोशाक, चुनढुंगा खानी, उद्योग, व्यापार, आपूर्ति, निर्माण, होटल र पर्यटन क्षेत्रमा सक्रिय छु । यसक्रममा मैले राजनीतिक र व्यवस्था परिवर्तनका लागि चरणबद्ध रूपमा विभिन्न स्वरूपमा भएका आन्दोलन र तिनले नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरूलाई पनि नियालेर हेर्ने अवसर पाएको छु । विभिन्न कालखण्डमा भएका आन्दोलन र प्रदर्शनका क्रममा मानवीय, भौतिक र आर्थिक क्षति पुगेको पनि देखिएकै हो ।
तर, भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र त्यसले गरेको क्षति भने विगतका सबैखाले आन्दोलन र प्रदर्शनको भन्दा निकै फरक रहन पुग्यो । विगतका आन्दोलनले भौतिक तथा आर्थिक क्षति भए पनि मानसिक रूपमा भने यति धेरै खलबलाएको स्थिति थिएन । नयाँ उद्यम गर्न चाहने र थप लगानी गर्न चाहनेको मनोबल यति धेरै कमजोर यसअघि भएको थिएन ।
जेनजी आन्दोलनका क्रममा मेरो व्यवसायमा भौतिक र आर्थिक क्षति नभए पनि समग्रमा भएको मानवीय क्षति अनि निजी क्षेत्रमा भएको भौतिक र आर्थिक क्षतिको दृश्यले मनोविज्ञानमा ठूलो असर पुर्यायो । मेरो उद्योग र व्यवसायमा अहिलेसम्म १० अर्ब भन्दा बढीको लगानी भइसकेको छ । हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । आन्दोलनबाट मेरो कुनै पनि क्षेत्रको व्यवसायमा आर्थिक र भौतिक क्षति नपुगे पनि मनोवैज्ञानिक क्षति भने ठूलै भयो ।
जेनजी आन्दोलनपछिको अनिश्चितताको अवस्थामा उत्पादन वा सेवा बन्द हुने, आपूर्ति शृंखलामा असर पर्ने मात्रै भएन । मुलुकको सुरक्षा अवस्थाका कारण समग्र निजी क्षेत्र र नागरिक बेचैनीको अवस्थामा पुगे । राज्य सञ्चालनमा हुने र भइरहेको अनियमितता, कुशासन, चरम भ्रष्टाचारविरुद्ध जेनजीहरूको आन्दोलन केन्द्रित भए पनि त्यो खबरदारीमा मात्रै सीमित भएन ।
विभिन्न समूह र गिरोहको घुसपैठले आन्दोलन अनियन्त्रित बन्यो । राज्य सञ्चालक सरकार र सुरक्षा निकाय मूकदर्शक बने । सरकार पूर्णरूपमा असफल बन्यो । यही समयमा उद्योगी व्यवसायीमाथि आक्रमण हुँदा ठूलो आर्थिक र भौतिक क्षति भयो । राज्यको सुरक्षा संयन्त्रमाथि प्रश्न खडा हुँदा मुलुकमा लगानीको वातावरण नै प्रभावित बनेको छ।
थप लगानीका लागि यस बेला निजी क्षेत्र पर्ख र हेरको अवस्थामा छ । सरकारले समयमै नागरिक समाज र युवावर्गमा रहेको चरम असन्तुष्टिलाई सम्बोधन गर्न नसक्दा मुलुकले मानवीय, भौतिक र आर्थिक क्षेत्रमा ठूलो क्षति भोग्नुपर्ने स्थिति बन्यो । राज्यको ढुकुटीमा रकम जम्मा गर्ने निजी क्षेत्रका उद्योग व्यवसाय खरानीमा परिणत हुँदा व्यवसायीको मनमा निराशा छाएको छ ।
निजी क्षेत्रको मनोबल उकास्न वर्तमान सरकारले गरेका केही नीतिगत सुधार सकारात्मक भए पनि यस किसिमको अल्पकालीन सुधार नेपाली अर्थतन्त्रका लागि पर्याप्त छैन । दीर्घकालीन सुधारका योजना कार्यान्वयन गरेर जानुपर्ने आवश्यकता छ । यसबीचमा नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग गरेको संवाद कार्यक्रममा प्रधानमन्त्रीले निजी क्षेत्रलाई सुरक्षाको प्रतिबद्धता जनाएकाले पनि निजी क्षेत्रमा केही आशा पलाएको छ ।
सरकारले नागरिकको असन्तुष्टि र आक्रोशलाई बेलैमा सम्बोधन गरेर कालान्तरमा हुने आन्दोलनलाई समयमै रोक्न सक्नुपर्छ । आन्दोलन भए पनि औद्योगिक र व्यावसायिक क्षेत्रलाई आन्दोलन निषेधित क्षेत्र घोषणा गरिनुपर्छ । सुरक्षाको प्रत्याभूति गरेर सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने हो भने मुलुकमा अझै पनि लगानीको वातावरण बन्न सक्छ । यसका लागि राज्य सञ्चालकको नियतमा परिवर्तन हुन जरुरी छ ।
सरकार निजी क्षेत्रसँग कर असुल्न मात्र उद्यत भएर हुँदैन । सोहीअनुरूप सुरक्षाको प्रत्याभूति पनि दिन सक्नुपर्छ । दोहोरो कर नीतिले आन्तरिक तथा बाह्य लगानीकर्तालाई असर गरेको विषयमा सरकार समयमा नै सजग हुन आवश्यक छ । यसो भएमा मात्रै लगानीकर्ताको मनोबल बढेर जान्छ । साथै, निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको आवश्यकता छ ।
व्यवसायीले गरेको लगानीको रकम र मुनाफामा सरकारको दृष्टिकोण सकारात्मक नहुँदा पनि लगानीको वातावरण प्रभावित बन्दै आएको छ । व्यापार घाटालाई निरुत्साहित गर्न आयात प्रतिस्थापन गरिनुपर्छ । त्यसका लागि स्वदेशी उत्पादन बढाउन जरुरी छ । स्वदेशी उत्पादन बढाउन उद्योग स्थापनाका लागि सरकारले विशेष प्याकेज कार्यक्रम ल्याउन सक्नुपर्छ । सरकारले विकास खर्च बढाउनमा पनि ध्यान दिनुपर्छ ।
निजी क्षेत्रको लगानी वृद्धिका लागि सरकारले पूर्वाधारका महत्त्वपूर्ण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ । कोशी प्रदेश नेपालको कृषि अर्थतन्त्रको सबैभन्दा ठूलो योगदानकर्ता हो । अलैंची, चिया, तरकारी, छुर्पी जस्ता निर्यातमूलक उत्पादनको प्रमुख केन्द्र पनि कोशी प्रदेश नै हो । सर्वोच्च शिखर सगरमाथा, वराहक्षेत्र, धनकुटा हिले, इलाम लगायतका प्रमुख पर्यटकीय गन्तव्य रहेको यो प्रदेश पर्यटनका लागि पनि अग्रणी प्रदेशका रूपमा रहेको छ ।
ऊर्जाको क्षेत्रमा पनि प्रशस्त लगानीको सम्भावना छ । तर, सरकारको फितलो सुरक्षा रणनीतिले लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन् । मुलुकमा धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना छ । त्यसैले सरकारले प्रदेशको विशिष्टीकृत विशेषता र सम्भावनालाई ध्यान दिएर काम गर्नुपर्छ । यी क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण बनाउन सकेमा उल्लेख्य रूपमा आन्तरिक र बाह्य लगानी बढ्ने अपेक्षा गर्न सकिन्छ ।
(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययनका क्रममा सोधिएका प्रश्नहरुमा शिवम् अर्गनाइजेशन समूहका अध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका प्रमुख राजेन्द्र राउतले दिएको जवाफका आधारमा तयार पारिएको हो।)










प्रतिक्रिया