लक्ष्यभन्दा डेढ खर्ब कम राजस्व संकलन, ६ खर्ब ६९ अर्ब आम्दानी हुँदा सरकार सवा खर्बको बजेट घाटामा

21
Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लिएको लक्ष्यभन्दा डेढ खर्ब कम राजस्व संकलन भएको छ । चालु आवको पहिलो ७ महिना (साउन–माघ)सम्ममा सरकारले ६ खर्ब ६९ अर्ब रुपैयाँ ३२ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तो राजस्व संकलन यो अवधिमा सरकारले ८ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो ।

सरकारको यो वर्ष कुल राजस्व संकलन लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ । सरकारले फागुनसम्ममा ४५.२२ प्रतिशत राजस्व संकलन गरेको अर्थ मन्त्रालयले उपलब्ध गराएको एक तथ्यांकमा उल्लेख छ ।

सरकारको माघसम्मको आम्दानीको तुलनामा खर्च धेरै भएका कारण बजेट घाटा १ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । सरकारले आम्दानी कम र खर्च बढी भएका कारण बजेट घाटा चालु आवको ७ महिनामा नै सवा खर्ब रुपैयाँ नाघेको देखिएको छ ।

सरकारले माघसम्ममा गरेको राजस्व संकलनमा भन्सार महसुलबाट १ खर्ब ३५ अर्ब, मूल्य अभिवृद्धि करबाट १ खर्ब ९६ अर्ब, अन्तःशुल्कबाट १ खर्ब ५ अर्ब शिक्षा सेवा शुल्कसहितबाट ३ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । आयकरबाट १ खर्ब ५८ अर्ब, गैरकर राजस्व ६५ अर्ब, विविधबाट ४ अर्ब ३० करोड रुपैयाँ गरी कुल ६ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

सरकारले गत आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा ६ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षको पहिलो सात महिनामा पनि सरकारले लिएको लक्ष्यको १ खर्ब ८५ करोड रुपैयाँ कम राजस्व संकलन भएको थियो ।

सरकारले राजस्व संकलनको स्रोत बढाउन नसकेको र लक्ष्य मात्रै वर्षेनी बढाउँदै गएको कारण बजेटको आकारको तुलनमा राजस्व संकलन भने कमजोर भएको देखिको छ । चालु आर्थिक वर्षमा सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

यस्तो बजेटबाट हालसम्म भएको खर्च ८ खर्ब १ अर्ब रुपैयाँ मात्रै खर्च भएको तथ्यांकले देखाएको छ । यो अवधिमा सरकारले कुल बजेट खर्चमध्येबाट चालु खर्च ५ खर्ब ६२ अर्ब, पुँजीगत खर्च ६३ अर्ब रुपैयाँ खर्च भएको पनि महालेखा नियन्त्रकको तथ्यांकले देखाएको छ ।

माघसम्ममा सरकारको विकास निर्माणमा गरिने पुँजीगत खर्च जम्ममा १५ प्रतिशत मात्रै छ । यस्तो खर्च सरकारले यो वर्षका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ गर्ने गरी बजेट विनियोजन गरेको छ ।