
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा मतदान हुनुभन्दा ७२ घण्टा अघि भारत र चीनतर्फको सीमा नाका बन्द (बोर्डर सील) गरिने भएको छ ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार शुक्रवार विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल (एसएसबी) बीचको १६औँ डीआईजी स्तरीय समन्वय बैठकमा त्यस्तो निर्णय भएको हो ।
नेपालको तर्फबाट सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीले बहन गर्दै आएको छ ।
शुक्रवारको बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागूऔषध ओसार–पसार नियन्त्रण सहितका विषयमा छलफल भएको डीएसपी थापाले जनाएका छन् ।
सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको उनले जनाए ।
सीमा क्षेत्रका सम्भावित नाका पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्याङ्कन गर्ने, शरणार्थी,आप्रवासीहरूको गतिविधिमाथि निगरानी राख्ने, विभिन्न तह बनाई चेक पोइन्ट र बेरियर खडा गर्ने, आपराधिक तत्त्वबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा मादक पदार्थ विक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्ने लगायत विषयमा दुईपक्षीय छलफल भएको छ ।
उक्त बैठकमा सशस्त्रका तर्फबाट नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति डीआईजी कुमार न्यौपाने र एसएसबीका तर्फबाट डीआईजी सरोजकुमार ठाकुर सहभागी थिए ।









प्रतिक्रिया