ज्ञानेन्द्रलालको सुपर खुदी हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुल्यो, कस्तो छ कम्पनी ?

1.2k
Shares

काठमाडौं । फागुन ५ गते (मंगलबार) देखि सर्वसाधारणका लागि सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री खुला भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण सेयर निष्कासनका लागि विवरणपत्र स्वीकृत गराएको थियो।

जसमध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङको मर्स्याङ्दी गाउँपालिका २ र ३ का स्थानीयका लागि ४० प्रतिशतले हुने ६ लाख २० हजार कित्ता र सोही गाउँपालिकाका वडा नम्बर १, ४, ५, ६, ७, ८ र ९ का स्थानीयका लागि ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएर बाँकी रहेको १५ लाख ५० हजार कित्ता सेयरको १० प्रतिशतले हुने १ लाख ५५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिसकेको छ ।

त्यसैगरी सामूहिक लगानी कोषका लागि ७७ हजार ५०० कित्ता, कम्पनीका कर्मचारीका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको १२ लाख ८६ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । प्रति आवेदक १०–१० कित्ताका दरले यो आईपीओ १ लाख २८ हजार ६ सय ५० जनालाई पर्नेछ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल हो ।

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको कम्पनीले व्यावसायिक उत्पादन भने सुरु गरेको छैन । पछिल्लो समय जलविद्युत् कम्पनीले व्यावसायिक उत्पादन गरेपछि मात्रै आईपीओ निष्कासन गर्न दिनुपर्ने विषय उठिरहेको छ । हालका अर्थमन्त्री रामेश्वर खनाल नेतृत्वमा तत्कालीन सरकारले गठन गरेको आर्थिक सुधार सुझाव आयोगले पनि प्रतिवेदनमा यस विषयलाई उठाएको छ ।

कम्पनीको लमजुङको मर्स्याङ्दी गाउँपालिकामा २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत् आयोजना हो । तर, यो आयोजनाको भौतिक प्रगति पूरा भएको छैन । हालसम्म माथिल्लो खुदी जलविद्युत् आयोजनाको भौतिक प्रगति ९५.३० प्रतिशत सकिएको छ ।

कम्पनीले २०७५ जेठ ९ मा विद्युत् विकास विभागबाट विद्युत् उत्पादनका लागि अनुमति पाएको थियो। यसको बहाल अवधि मिति २११० जेठ ८ सम्म रहनेछ ।

आयोजनाको अनुमानित कुल लागत करिब ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ। यसमा निर्माण अवधिको ब्याजसमेत समावेश गरिएको छ। आयोजनाको प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ छ ।

माथिल्लो खुदी जलविद्युत् आयोजनाबाट उत्पादन हुने सम्पूर्ण विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गरी २०७६ वैशाख ११ गते नै कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो । तर आयोजना निर्माण समयमा सम्पन्न नहुँदा ३ पटक सम्झौता संशोधन भएर उत्पादन मिति सरिसकेको छ ।

२०८० मा पहिलो संशोधन, २०८१ मा दोस्रो संशोधन तथा मिति २०८१ कात्तिक २८ मा पुनः तेस्रो पटक संशोधन गरिएको छ।
विद्युत् प्राधिकरणसँग गरिएको सम्झौताका आधारमा कम्पनीले उक्त आयोजना ३० वर्षसम्म सञ्चालन गर्नेछ । सम्झौता अवधि समाप्त भएपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।

पछिल्लो समय गरिएको संशोधनमा भने आयोजनाको व्यावसायिक उत्पादन २०८२ माघ ७ गते सुरु हुने कम्पनीको विवरणपत्रमा उल्लेख छ ।

कम्पनीको गत असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५३ पैसा छ। त्यस्तै प्रतिसेयर आम्दानी ४.४५ रुपैयाँ छ । व्यावसायिक उत्पादन सुरु नगरे पनि आईएफआरएस-१२ अनुसारको निर्माण आम्दानी र खर्चको कारण कम्पनीको १९ करोड ४६ लाख २२ हजार रुपैयाँ नाफा रहेको देखिएको छ ।

४६ करोड ५३ लाख रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले आगामी वर्षहरूमा आयोजना सञ्चालनमा आएपछि सञ्चित नाफा उल्लेखनीय रूपमा बढ्ने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षमा नै कम्पनीले विद्युत् बिक्रीबाट ४० करोड ६० लाख रुपैयाँ आम्दानी गरी ३९ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।

त्यस्तै आर्थिक वर्ष २०८३/८४ मा ८५ करोड ४६ लाख २७ हजारको विद्युत् बिक्री गरी १५ करोड ६० लाख रुपैयाँ र आर्थिक वर्ष २०८४/८५ मा ८७ करोड ९९ लाख रुपैयाँको विद्युत् बिक्री गरी १९ करोड ७१ लाख ५९ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा रेटिङ एजेन्सी केयर नेपालले ‘केयर–एनपी डबल बी’ इस्युअर रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

लगानीकर्ताको विवरण

कम्पनीमा विभिन्न संघ-संस्था तथा व्यवसायमा वर्षौंदेखिको अनुभव भएका अनुभवी ऊर्जा व्यवसायीहरूको लगानी रहेको छ।
कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान हुन् ।

उनको नाममा २६ करोड ५२ लाख ४२ हजार ६०० रुपैयाँ लगानी रहेको छ, जुन कुल हिस्साको २१.३९ प्रतिशत हो । उनीसँग जलविद्युत् क्षेत्र अन्तर्गत हाइड्रोसोलुसन्स प्रा.लि. मा सन् २००७ देखि कार्यकारी अध्यक्षका रूपमा काम गरेको अनुभव छ ।

त्यस्तै कम्पनीमा गणेश कार्कीको ५ करोड ८९ लाख १७ हजार ८०० रुपैयाँ लगानी रहेको छ ।

त्यसैगरी विमला श्रेष्ठ प्रधानको स्वामित्वमा ४ करोड ७१ लाख ७५ हजार ९०० रुपैयाँ, बटु लामिछानेको २ करोड ८९ लाख १७ हजार ८०० रुपैयाँ, कविता लामिछानेको २ करोड ८५ लाख रुपैयाँ, एन महर्जनको २ करोड ७० लाख रुपैयाँ, युगजंग कार्कीको २ करोड ६१ लाख ६८ हजार ८०० रुपैयाँ, वर्णन लामिछानेको २ करोड ६१ लाख १८ हजार ८०० रुपैयाँ, जिज्ञासा लामिछाने र विवेना लामिछानेको दुवैको समान २ करोड ६१ लाख ५० हजार रुपैयाँ, शंकर प्रसाद शर्माको २ करोड ५० लाख र कल्पना अर्यालको २ करोड ५० लाख रुपैयाँ सेयर स्वामित्व रहेको छ।

कम्पनीमा संस्थागत लगानीकर्ताहरू पनि रहेका छन् ।

व्यक्तिगत लगानीकर्ताबाहेक ५ वटा ठूला संस्थाहरूले यस आयोजनामा लगानी गरेका छन् । जसमा नेपाल हाइड्रो डेभलपरको १० करोड रुपैयाँ, वैदिक हाइड्रो इन्भेष्टमेन्ट कम्पनीको ८ करोड ८४ लाख ३० हजार ५०० रुपैयाँ, सुपर खुदी इन्भेष्टमेन्टको ७ करोड ३४ लाख ७९ हजार ६०० रुपैयाँ लगानी रहेको छ । त्यस्तै बीजी ग्रुप प्रालिको २ करोड ६२ लाख र युग होल्डिङ्स प्रा.लि. को २ करोड ४९ लाख ५० हजार रुपैयाँ लगानी रहेको छ । नेपाल हाइड्रो डेभलपर्स कम्पनी पनि ज्ञानेन्द्रलाल प्रधानकै लगानी रहेको कम्पनी हो ।