
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामै नेपालको भुक्तानी सन्तुलन (शोधनान्तर) बचत ५ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार पुससम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको उल्लेख गरेकाे हाे ।
निर्यात व्यापार बढेपनि आयातमा वृद्धि हुँदा व्यापार घाटा बढेको छ । सेवा खाता घाटा पनि बढेको छ । तर, रेमिट्यान्समा उच्च वृद्धि हुँदा पुसम्म शोधनान्तर स्थितिसँगै चालु खाता पनि उल्लेख्य बचतमा रहेको केन्द्रिय बैंकको तथ्यांकले देखाउँछ । अमेरीकी डलरमा शोधनान्तर बचत ३ अर्ब ५४ करोड पुगेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को पुससम्म शोधनान्तर बचत २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँ थियो । अमेरीकी डलरमा भने १ अर्ब ८५ करोडले बचतमा थियो ।
पुससम्म चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएएको छ । गत आवको यहि अवधिमा चालु खाता बचत १ खर्ब ६५ अर्ब ६७ करोड मात्रै थियो ।
अमेरीकी डलरमा चालु खाता बचत ३ अर्ब ३ करोड पुगेको । जबकी गत आवको यहि अवधिमा १ अर्ब २३ करोड मात्रै थियो ।
चालु आवको दोस्रो त्रैमाससम्म आउँदा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रहेको छ । गत आवको यहि अवधिमा खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रहेको थियो ।
प्रत्यक्ष वैदेशिक लगानी पनि सुधार भएर ८ अर्ब १७ रुपैयाँ (इक्विटी मात्र) पुगेको छ । गत आवको पुससम्म ६ अर्ब ४८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशीक लगानी भित्रिएको थियो ।








प्रतिक्रिया