
काठमाडौं । सामान्य समयभन्दा बढी परिमाणमा आयात भए तापनि माघ महिनाको दोस्रो सातादेखि तेस्रो साताको मध्यसम्म काठमाडौं उपत्यकाका उपभोक्ताले केही ब्राण्डको खाना पकाउने ग्यासको अभाव व्यहोर्न बाध्य भए ।
सामान्य महिनामा खपत हुने परिमाणको तुलनामा जनवरी महिना (पुस १७ देखि माघ १७ सम्म) मा साढे २ हजार मेट्रिक टन बढी आयात भएको थियो । सामान्य महिनामा देशभर ४५ हजार मेट्रिक टन खाना पकाउने ग्यास खपत भइरहँदा २०२५ नोभेम्बरमा ४७ हजार २ सय ६४ मेट्रिक टन, डिसेम्बरमा ४८ हजार ५ सय ३१ मेट्रिक टन र २०२६ जनवरीमा ४७ हजार ३ सय ४ मेट्रिक टन ग्यास आयात भएको थियो ।
नेपाल आयल निगमका अनुसार अभाव देखिएका दुई ब्राण्डको आइतबारदेखि पर्याप्त परिमाणमा उत्पादन भएकाले अब बिस्तारै बजार सामान्य हुँदै जाने बताइएको छ ।
पछिल्लो समयमा आपूर्ति र उपलब्धताका कारण नेपाल ग्यास र साईबाबा ब्राण्डका सिलिण्डरको बजारमा चर्को अभाव सिर्जना भएको थियो ।
एक उद्योगीका अनुसार पछिल्लो समयमा नेपाल ग्यास कम्पनीका साझेदारहरूबीच आन्तरिक कलह फैलिएका कारण उक्त कम्पनीबाट कम परिमाणमा लोडिङ भएको र कम परिमाणमै बजारमा पठाइएकाले पनि उक्त ब्राण्डको सिलिण्डरको अभाव सिर्जना भएको थियो । काठमाडौं उपत्यकाको बजारमा नेपाल ग्यासको हिस्सा करिब २० प्रतिशत छ ।
मुख्यगरी नेपाल ग्यास ब्राण्डका उपभोक्ताहरूले सिलिण्डरको चरम अभाव व्यहोर्न बाध्य भएका छन् । नेपाल ग्यास ब्राण्डका उपभोक्ताहरू बिक्री केन्द्रहरूमा ग्यास नपाएको भन्दै खाली सिलिन्डर बोकेर बालाजु औद्योगिक क्षेत्रस्थित कार्यालयमै धाउन थालेका छन् ।
नेपाल ग्यास व्यवस्थापनले ढुवानी र आपूर्तिका कारण बजारमा उपलब्धता कम भएको भन्दै अहिले पर्याप्त परिमाणमा आयात भएकाले विस्तारै अभाव समस्या कम हुने जनाएको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार करिब डेढ महिनाअघि भारतको बरौनीस्थित रिफाइनरी केन्द्र नियमित कार्यतालिकाअनुसार मर्मत सम्भारका साथै सरसफाइ प्रक्रियामा गएको थियो । यसले गर्दा मागअनुसार केही लोडिङमा समस्या हुँदा उपत्यकाको बजारमा केही प्रभाव परेको उनले जानकारी दिए ।
‘जाडोयाम र निर्वाचनका कारण माग बढ्नुका साथै बरौनी रिफाइनरी मर्मत सम्भारमा गएकाले काठमाडौंको बजारमा केही अभाव देखिए तापनि अहिले बजारमा सुधार भइसकेको छ,’ प्रवक्ता ठाकुरले भने, ‘हल्लाको पछि लागेका कारण पनि बजारमा कृत्रिम अभाव सिर्जना भयो ।’
नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेका अनुसार नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय नम्बर प्लेटका बुलेट ट्रान्सपोर्टरहरूले बढी भाडा प्राप्त गर्ने लोभमा नेपालको रुटबाट झन्डै २५ प्रतिशत ढुवानी कटौती गरी भारतीय क्षेत्रमै ढुवानीमा केन्द्रित भएका कारण पनि नेपालमा मागअनुसार नियमित रूपमा ढुवानी हुन नसक्दा केही ब्राण्डको खाना पकाउने ग्यासको उपलब्धतामा समस्या देखिएको थियो ।
भारतीय नम्बर प्लेटका झन्डै ७ सयको संख्यामा बुलेटले ग्यासको ढुवानी गर्दै आएका छन् । तर पछिल्लो समयमा भारतमै भाडादर अत्यधिक बढेको र भारतबाट नेपाल आउँदा टोल ट्याक्ससमेत प्रतिबुलेट १ हजार २ सय भारतीय रुपैयाँ बढ्दा खर्च बढी भएको भन्दै त्यस्ता बुलेट ट्रान्सपोर्टरहरू २५ प्रतिशतका दरले १ हजार ७ सय ५० बुलेट कटौती गरी भारतकै ढुवानीमा केन्द्रित हुँदा आयातमा समस्या भई त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको थियो ।
‘मंसिरदेखि माघ महिनासम्म यतिकै पनि ग्यासको माग अत्यधिक बढ्छ; रेस्टुरेन्ट, होटल र घरमा हिटर बाल्न, गिजर चलाउन ग्यासको माग बढ्छ,’ घिमिरेले भने, ‘त्यसमाथि बरौनी रिफाइनरी केन्द्र मर्मत सम्भारमा जानु र बुलेट ट्रान्सपोर्टरहरूले नेपाली रुटबाट कटौती गरी भारतीय क्षेत्रमै केन्द्रित हुनुले गर्दा करिब दुई साता काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव सिर्जना भयो । तर सोमबारदेखि आपूर्ति शृङ्खला र उपलब्धतामा धेरै सुधार आइसकेको छ ।’
हल्लै हल्लाको भरमा उपभोक्ता र होटल तथा रेस्टुरेन्टहरूले बढी संख्यामा ग्यास भरिएका सिलिण्डरको भण्डारण (जम्माखोरी) गरेकाले पनि बजारमा समस्या देखापरेको हो । एक सिलिण्डर मात्र हुने उपभोक्ता अत्यधिक सास्ती व्यहोर्न बाध्य भएको घिमिरेको भनाइ छ ।
ग्यास उद्योगीहरूका लागि भाडा र दूरीको हिसाबले सबैभन्दा नजिक बरौनी रिफाइनरी पर्ने भएकाले अधिकांशले त्यहाँबाट ग्यास आयात गर्दै आएका छन् । हल्दिया, मथुरा र पारादीप विकल्प भए तापनि दूरी र भाडाका हिसाबले निकै झन्झटिलो र महँगो भएकाले तुलनात्मक रूपमा बरौनीबाट बढी परिमाणमा आयात हुन्छ । बरौनीबाट काठमाडौंसम्म ल्याउन दुई दिन लाग्छ।
बरौनीपछि मथुरा र पारादीपबाट पनि उल्लेख्य परिमाणमा आयात हुन्छ । हल्दियाबाट आयात गर्दा ४ दिन लाग्छ ।
निगमका प्रवक्ता ठाकुरका अनुसार भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मासिक रूपमा यी चार स्थानबाट स्थानअनुसार कोटा तोकेको हुन्छ ।
त्यो कोटाअनुसार निगमले ग्यास उद्योगलाई पायक पर्ने रिफाइनरी केन्द्रका नाममा प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गर्छ । त्यो पीडीओका आधारमा ग्यास उद्योगीले भारतीय ट्रान्सपोर्टरको सहयोगमा ग्यास आयात गर्दै आएका छन् ।
निगमको एलपी ग्यास एभिएसन विभागका प्रमुख विनीतमिणि उपाध्यायले जाडोयाम, निर्वाचनका कारण ग्यासको खपतमा वृद्धि र आपूर्ति प्रणालीमा अवरोधका कारण काठमाडौं उपत्यकामा केही ब्राण्डको ग्यासको उपलब्धतामा समस्या आए पनि अहिले बजारमा सुधार आइसकेको जानकारी दिए ।
उपाध्यायका अनुसार घरायसी, होटल तथा रेस्टुरेन्ट, उद्योगको नियमित माग र आगामी निर्वाचनको समयमा बढ्ने मागका आधारमा फेब्रुअरी महिना (माघ १८ देखि फागुन १६ गते) का लागि ग्यासको कोटा ५२ हजार मेट्रिक टन तोकेर आईओसीलाई पत्र पठाएको छ । आईओसीले नेपाललाई ४९ हजार ५ सय मेट्रिक टनको मासिक कोटा उपलब्ध गराएको छ ।

यस्तै बजारमा देखिएको अभावको समस्यालाई समाधान गर्न उपत्यका केन्द्रित ग्यास उद्योग र डिलरमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोली अनुगमनमा खटिएका छन् ।
यसैबीच निगमले सोमबार बिज्ञप्ती जारी गर्दै बजारमा केहि ब्राण्डको बाहेक अन्य ब्राण्डको सिलिण्डरको अभाव नरहेको स्पष्ट पारेको छ । निगमका प्रवक्ता ठाकुरले जारी गरेको बिज्ञप्तीअनुसार उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराएर बजार सामान्यकरण गर्न निर्देशन दिइएको र अनावश्यक रुपमा ग्यासको सिलिण्डर भण्डारण नगर्न पनि आम उपभोक्तासँग आग्रह गरेको छ ।








प्रतिक्रिया