क्यानडालाई टुक्य्राउने ट्रम्पको प्रयास, अल्बर्टाका पृथक्तावादीहरूसँग अमेरिकी अधिकारीको भेटघाट

49
Shares

एजेन्सी । अमेरिका र क्यानडाबीचको तनावपूर्ण सम्बन्धमा क्षेत्रीय विवादले फेरि खलबल मच्चाएको छ । यो अमेरिकाको उत्तरी छिमेकी क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने राष्ट्रपति डोनल्ड ट्रम्पको धम्कीको परिणाम मात्र होइन ।

गत साता क्यानडाका नेता मार्क कार्नीले ट्रम्पलाई क्यानडाको सार्वभौमसत्ताको सम्मान गर्न पुनः आग्रह गरे । अमेरिकाका विदेश मन्त्रालयका अधिकारीहरूले गत अप्रिलदेखि अल्बर्टा प्रान्तलाई क्यानडाबाट अलग गर्न चाहने समूहका नेताहरूसँग तीनपटक भेट गरेको रिपोर्ट फाइनान्सियल टाइम्सले सार्वजनिक गरेपछि यो प्रतिक्रिया आएको हो ।

अल्बर्टा प्रोस्पेरिटी प्रोजेक्ट नामक उक्त समूहले अल्बर्टाको स्वतन्त्रताका लागि जनमतसंग्रह गराउन दबाब दिइरहेको छ । उक्त समूहका एक नेताले सामाजिक सञ्जाल एक्समा गरेको पोस्ट अनुसार, उनीहरूले स्वतन्त्र र स्वायत्त अल्बर्टा बनाउनका लागि अमेरिकाको ट्रेजरी डिपार्टमेन्टसँग ५०० अर्ब डलरको ऋण सुविधा माग्ने योजना बनाएका छन् ।

ह्वाइट हाउसका एक अधिकारीले सीएनएनसँग कुरा गर्दै यसमा अमेरिकाको संलग्नतालाई कम महत्त्व दिँदै भने, ‘प्रशासनका अधिकारीहरूले विभिन्न नागरिक समाजका समूहहरूसँग भेटघाट गर्ने गर्छन् । यसमा कुनै सहयोग वा प्रतिबद्धता जनाइएको छैन ।’

तर, यस रिपोर्टले क्यानडामा नयाँ आक्रोश पैदा गरेको छ जबकि क्यानडा ट्रम्प प्रशासनको भन्सार शुल्क (ट्यारिफ) र क्षेत्रीय धम्कीहरूका विरुद्ध एकजुट हुन खोजिरहेको छ । छिमेकी प्रान्त ब्रिटिस कोलम्बियाका नेताले अल्बर्टा समूहको यस कदमलाई देशद्रोहको संज्ञा दिएका छन् ।

अल्बर्टा पश्चिमी क्यानडामा रहेको प्रचुर तेल भएको प्रान्त हो । त्यो क्षेत्रफलमा लगभग अमेरिकाको टेक्सस जत्रो छ ।
करिब ५० लाख जनसंख्या भएको यस प्रान्तमा रकीज हिमशृंखला र बान्फ तथा लेक लुइस जस्ता पर्यटकीय गन्तव्यहरू रहेका छन् ।

यस प्रान्तको एक अद्वितीय राजनीतिक र सांस्कृतिक पहिचान छ जुन यसको बलियो ऊर्जा र कृषि क्षेत्र, आर्थिक व्यक्तिवादप्रतिको प्रतिबद्धता र न्यून कर प्रणालीले निर्देशित छ । ऊर्जा प्रान्त भनिने अल्बर्टाको ओइल स्यान्ड्सले क्यानडाको कुल कच्चा तेल उत्पादनको करिब ८४ प्रतिशत हिस्सा ओगट्छ ।

राजनीतिक रूपमा यसलाई क्यानडाको अनुदारवाद (कन्जरभेटिजम) को गढ मानिन्छ यद्यपि यसका शहरी क्षेत्रहरू क्यालगरी र एडमन्टन भने बढी प्रगतिशील छन् ।

अल्बर्टाकी प्रिमियर ड्यानियल स्मिथ ट्रम्प र अन्य रिपब्लिकनहरूसँग मैत्रीपूर्ण सम्बन्धमा छिन् । उनले गत जनवरीमा ट्रम्पको निजी क्लब मार–ए–लागोको भ्रमण समेत गरेकी थिइन् । ट्रम्पले क्यानडा गाभ्ने र यसको अर्थतन्त्रलाई कमजोर बनाउने धम्की दिएपछि अन्य प्रान्तका नेताहरू एकजुट भइरहँदा उनले भने यस्तो मित्रता देखाएकी हुन् ।

पृथक्तावादी अल्बर्टनहरूले ओटावा (केन्द्रीय सरकार) मा आफ्ना हितहरूको सही प्रतिनिधित्व नभएको लामो समयदेखि महसुस गर्दै आएका छन् ।

जलवायु परिवर्तन रोक्न संघीय सरकारले चालेका कदमले अल्बर्टाको तेल उद्योगलाई बाधा पु¥याइरहेको, आफूले तिरेको करको तुलनामा संघीय सरकारबाट कम लाभ पाउने गरेको र आफ्ना अनुदारवादी मूल्यमान्यताहरू बढी जनसंख्या भएका उदारवादी पूर्वी प्रान्तहरूका कारण ओझेलमा परेको उनीहरूको तर्क छ ।

पृथक्तावादी भावना क्यानडाको स्थापनादेखि र विशेषगरी अल्बर्टा सन् १९०५ मा प्रान्त बनेपछि रहँदै आएको रणनीतिक परामर्शदाता कम्पनी न्यु वेस्ट पब्लिक अफेयर्सका साझेदार माइकल सोल्बर्ग भन्छन् । उनले पूर्व प्रधानमन्त्री स्टिफन हार्परको सरकारमा राजनीतिक कर्मचारीका रूपमा काम गरेका थिए ।

‘तर, ओटावाले अल्बर्टनहरूको जीवनशैलीमा प्रत्यक्ष असर पुर्याउने निर्णयहरू गर्दा यस्तो भावना अझ बढेर जान्छ,’ उनले बताए ।

संघीय रूपमा लागू गरिएको कोभिड–१९ लकडाउन र ओटावामा एक दशकभन्दा लामो लिबरल नेतृत्वले यसलाई थप बल दियो । प्रधानमन्त्री कार्नीको लिबरल पार्टीले ट्रम्पविरोधी भावनाको लहरमा सन् २०२५ को संघीय चुनाव जितेलगत्तै अल्बर्टाको संसद्ले स्वतन्त्रताका लागि जनमतसंग्रह आयोजना गर्न सजिलो हुने कानुन पारित गर्यो ।

यद्यपि, पृथक्तावादी आन्दोलनमा कुनै स्पष्ट नेता वा व्यवस्थित अभियानको अभाव छ र सोल्बर्गका अनुसार यो केही मुखर कार्यकर्ताहरू र अनलाइन प्रचारमा मात्र सीमित छ । हाल अल्बर्टाको संसदमा कुनै पनि पृथक्तावादी राजनीतिक दलको सिट छैन ।

तेल समर्थक अनुदारवादी नेता ट्रम्पको ह्वाइट हाउसमा फिर्तीले पृथक्तावादी आन्दोलनलाई थप ऊर्जा दिएको छ र कतिपयका लागि यसको अन्तिम लक्ष्य नै परिवर्तन गरिदिएको छ ।

गत ग्रीष्म ऋतुमा सीएनएनले अवलोकन गरेको अल्बर्टा स्वतन्त्रता र्यालीमा समर्थकहरूले मागा शैलीको मेक अल्बर्टा ग्रेट अगेन टोपी लगाएका थिए र ट्रम्पलाई उत्तर अमेरिकाको सबैभन्दा ठूलो सम्पत्ति र पृथक्तावादीहरूको सम्भावित सहयोगीका रूपमा प्रशंसा गरेका थिए ।

र्यालीमा सहभागी अधिकांशले अल्बर्टालाई पूर्ण स्वतन्त्र देशका रूपमा हेर्न चाहे पनि कतिपयले अल्बर्टा अमेरिकाको ५१ औं राज्य बन्न सक्ने सम्भावनाप्रति समर्थन जनाए ।

फेब्रुअरीमा क्यालगरी र एडमन्टनबीचको राजमार्गमा एउटा ठूलो होर्डिङ बोर्ड देखियो । त्यसमा प्रिमियर स्मिथले ट्रम्पसँग हात मिलाएको तस्बिरमा ‘अमेरिकामा गाभिऔं !’ भनिएको थियो । यसलाई ५१ औं राज्यका लागि क्यानेडियनहरू नामक समूहले प्रायोजन गरेको थियो ।

ट्रम्पका उच्च अधिकारीहरूले पनि अल्बर्टाको स्वतन्त्रताको पक्षमा समर्थन देखाएका छन् । अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले गत साता एक अन्तर्वार्तामा अल्बर्टालाई अमेरिकाको लागि प्राकृतिक साझेदार भएको बताए ।

‘उनीहरूसँग ठूलो स्रोत छ । अल्बर्टनहरू धेरै स्वतन्त्र मानिस हुन्,’ उनले थपे, ‘मानिसहरू सार्वभौमसत्ता चाहन्छन् । उनीहरू अमेरिकाको जस्तै सुविधा चाहन्छन् ।’

क्यानडाले अल्बर्टालाई प्रशान्त महासागरसम्मको तेल पाइपलाइन बनाउन नदिएको दाबी गर्दै बेसेन्टले भने, ‘मलाई लाग्छ, हामीले उनीहरूलाई अमेरिकामा आउन दिनुपर्छ ।’

सोल्बर्गका अनुसार, अल्बर्टाले स्वतन्त्रताका लागि जनमतसंग्रह आह्वान गर्ने उच्च सम्भावना छ । यसअघि क्यानडाको प्रान्त क्युबेकले मात्र दुईपटक यस्तो जनमत संग्रह गरेको थियो । त्यहाँ सन् १९९५ मा मतदाताहरूले थोरै मतान्तरले क्यानडामा रहने निर्णय गरेका थिए ।

सोल्बर्ग भन्छन्, ‘आउँदो शरद ऋतुमा अल्बर्टा क्यानडामा रहने वा नरहने भन्नेबारे जनमतसंग्रह हुने सबै संकेतहरू देखिएका छन् । यसको दाउ धेरै ठूलो छ र यो अब वास्तविक जस्तो लाग्न थालेको छ ।’

‘स्टे फ्री अल्बर्टा’ नामको अर्को पृथक्तावादी समूहले जनमत संग्रहका लागि हस्ताक्षर संकलन गरिरहेको छ । उक्त समूहले मे महिनासम्ममा १ लाख ७७ हजारभन्दा बढी मतदाताको हस्ताक्षर संकलन गर्नुपर्नेछ ।

यद्यपि, सार्वजनिक मत सर्वेक्षणले अल्बर्टाको स्वतन्त्रताका लागि समर्थन अझै कम रहेको देखाउँछ । पोलारा स्ट्य्राटेजिक इनसाइट्सको जनवरीको सर्वेक्षणअनुसार, मात्र १९ प्रतिशत अल्बर्टनहरूले पृथक्ताको समर्थन गर्ने बताएका छन् ।

क्यालगरीको माउन्ट रोयल विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक लोरी विलियम्स भन्छन्, ‘हस्ताक्षर गर्ने कतिपय मानिसहरू प्रतीकात्मक पृथक्तावादी हुन सक्छन् जसले ओटावालाई कडा सन्देश दिन मात्र चाहेका छन् ताकि अल्बर्टाले केन्द्रीय सरकारसँगको वार्तामा बलियो स्थिति बनाउन सकोस् ।’

पृथक्ताको विपक्षमा रहेको अर्को नागरिक नेतृत्वको निवेदनले ४ लाखभन्दा बढी हस्ताक्षर संकलन गरिसकेको छ ।

सबैभन्दा ठूलो विरोध आदिवासी समुदायहरूबाट आएको छ । उनीहरूले क्यानडासँग गरेको सम्झौता अल्बर्टा प्रान्त स्थापना हुनुभन्दा पुरानो छ । उनीहरूको दबाबका कारण सरकारले जनमतसंग्रहको विधेयकमा एउटा प्रावधान थपेको छ जसले परिणाम जे भए पनि उनीहरूको अधिकार सुरक्षित रहने ग्यारेन्टी गर्छ ।

प्रिमियर स्मिथ आफूले पृथकताको समर्थन नगर्ने बताएकी छन्, तर यसका लागि दबाब दिनेहरूको गुनासोलाई न्यायपूर्ण भन्दै उनीहरूको आलोचना गर्न अस्वीकार गरेकी छन् ।

जनमतसंग्रह पारित भयो भने पनि छुट्टिने प्रक्रिया अत्यन्त जटिल र अस्थिर हुने सोल्बर्गको तर्क छ । यसको कुनै स्पष्ट मार्गचित्र छैन र यसका कानुनी तथा आर्थिक जोखिमहरू अझै पनि विशाल छन् ।