
म मधेस जाँदै छु किनकि म मधेस जोड्न चाहन्छु । म काठमाडौंको कथाहरू मधेस लगेर सुनाउन चाहन्छु अनि मधेसका कथाहरू, मधेसका पीडाहरू, मधेसका व्यथाहरूलाई बुझ्दै काठमाडौं ल्याएर सुनाउन पनि चाहन्छु ।
म सबैको सम्मान रहँदै गर्दा मात्रै हामी सबै नेपालीहरूको सम्मान रहन्छ भन्ने कुरामा विश्वास राख्छु। म उत्तेजनाको राजनीतिमा विश्वास राख्दिनँ । तर म अधिकार नभईकन सबैको बिचमा एकता हुन्छ भन्ने कुरामा पनि विश्वास राख्दिनँ ।
काठमाडौं क्षेत्र नम्बर ४ का सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरू सबैलाई हार्दिक नमस्कार गर्न चाहन्छु ।
आज म फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा उम्मेदवार बनेर सर्लाहीको क्षेत्र नम्बर ४ को मेरो नयाँ क्षेत्रमा जाँदै छु। जानुभन्दा पहिला तपाईँहरूसँग केही कुराहरू राखेर मात्र जाने मन भएकोले यो भिडियोमार्फत केही कुराहरू राख्दै छु।
पहिलो संविधानसभाको निर्वाचनको बेलामा म नेपाली कांग्रेस पार्टीको समानुपातिक सूचीको उम्मेदवार थिएँ। आदरणीय सुप्रभा दिदीलाई उम्मेदवारको रूपमा क्षेत्र नम्बर ४ मा लिएर आएको थिएँ। त्यो बेलाका हाम्रा गाउँहरू चपली, चुनीखेल, महाँकाल, कपन र काठमाडौं महानगरपालिका भित्रको वडा नम्बर ७, १, ३० र ८ यी सबै ठाउँहरूमा, गल्लीहरूमा, आँगनहरूमा, घरहरूमा, चोकहरूमा उम्मेदवार लिएर घुमेको दिनहरू अहिले पनि म सम्झन्छु । र त्यही बेलामा तपाईँले अवधि माया गर्नुभएको थियो।
त्यही मायाले तानेर म २०७० सालमा फेरि उम्मेदवार बनेर क्षेत्र नम्बर ४ मा आएँ । शानदार ढंगले मलाई विजयी बनाइदिनुभयो । त्यो बीचमा नाकाबन्दीको हामीले सामना गर्यौँ, भूकम्पको हामीले सामना गर्यौँ । सँगसँगै मिलेर समुदायसँग मिलेर काम गर्यौँ । एउटा विधायकको रूपमा निर्वाह गर्नुपर्ने भूमिका मैले इमानदारीपूर्वक निर्वाह गर्ने कोसिस गरेँ । कति गल्ती–कमजोरीहरू पनि भए, तपाईँले सिकाउनुभयो । कतिपय ठाउँमा प्रश्नहरू गर्नुभयो, तर सधैँभरि मलाई माया गर्नुभयो ।
मैले छोटो समय मन्त्री बनेर काम गर्ने मौका पनि पाएँ, त्यसको पनि तपाईँहरूले सराहना गर्नुभयो। र २०७४ सालको निर्वाचन सजिलो निर्वाचन थिएन । देशभरि अत्यन्त थोरै ठाउँमा मात्रै नेपाली कांग्रेसको उम्मेदवार निर्वाचित भएको बेलामा पनि मलाई फेरि निर्वाचित गराउनुभयो । र त्यो बेलामा मलाई अहिले पनि याद छ, कोभिडको ठुलो प्रकोपमा हामीहरू भयौँ, महामारीको । फेरि एक पटक समुदायसँग मिलेर हामीले काम गर्यौँ ।
यो बीचमा थुप्रै–थुप्रै अभियानहरू सञ्चालन गर्यौँ । युवा लक्षित अभियान, महिला लक्षित अभियान, रोजगारी केन्द्रित अभियानहरू । खासगरीकन शिक्षा र स्वास्थ्यको अभियानहरू नियमित रूपमा गर्ने अरू पूर्वाधारका कामहरू त छँदै थिए सांसदको रूपमा मैले संसदभित्र उठाउनुपर्ने विषयहरू सधैँ थिए, तर त्योभन्दा बाहेक पनि ती सबै समुदायसँग मिलेर काम गर्ने मलाई लगातार अवसर दिनुभयो।
२०७९ सालको निर्वाचनमा म पार्टीको महामन्त्री भएर उम्मेदवारको रूपमा प्रस्तुत भएको थिएँ। यो पटक झन् बढी मतान्तरले तपाईँहरूले मलाई निर्वाचित गराइदिनुभयो।
मैले पार्टीकै जीवनमा पनि पार्टीको एउटा सदस्य, केन्द्रीय सदस्य, महामन्त्री हुँदै यहाँसम्मको यात्रा तपाईँहरूकै बीचमा रहेर तय गरेँ र सँगसँगै लगातार सांसदको रूपमा पनि यो क्षेत्रबाट तीन पटक त म प्रत्यक्ष रूपमा निर्वाचित नै भएँ ।
मैले एउटा परिवारको जस्तो माया यो क्षेत्रमा सधैँभरि पाएँ। यहाँको जात्रा, पर्व, यहाँका ससाना फङ्गसनहरू, पूजा, महोत्सव– सबै ठाउँमा तपाईँहरूले मलाई बोलाउनुभयो, सबै ठाउँमा म मिसिएँ र म मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण चरणहरू मैले यहीँभित्र बिताएको छु । मेरो पार्टीका साथीहरूसँग पनि खेल्दाखेल्दै हामी सबै जना सँगसँगै हुर्किएको जस्तो भएका छौँ, परिवार जस्तो भएका छौँ ।
म भर्खरै मात्र विशेष महाधिवेशनबाट पार्टीको सभापति भएको छु। यो पटक पार्टीका साथीहरूले ‘कुनै पनि हालतमा निर्वाचन क्षेत्र छोड्नु हुँदैन’ भनेर भन्नुभयो। यहाँका मतदाताहरूले ‘यो पार्टी त्यो पार्टी’ नभनीकन जसरी मलाई लगातार निर्वाचित गराउँदै आउनुभएको छ, त्यसका प्रतिनिधि आवाजहरू पनि त्यसैगरी आए कि यो पटक झन् सहज छ आफ्नो निर्वाचन क्षेत्र । लगातार यही कुरा भनिराख्नुभयो। म तपाईँहरू सबै प्रति अत्यन्त कृतज्ञ छु, सबैलाई कोटी–कोटी नमन गर्छु।
मेरो बाआमाहरू पहाडबाट काठमाडौं आउनुभएको हो, त्यसैले पहाडको रहनसहन जीवनलाई मैले नजिकबाट बुझ्ने मौका पाएँ। काठमाडौंमा जन्मिएँ, हुर्किएँ, सहरको जीवन, यहाँका गारा–सारा सबै कुरा बुझ्ने मौका पाएँ। तर मलाई नेपाली कांग्रेस पार्टी, नेपालको एउटा राष्ट्रिय पार्टीको एउटा जिम्मेवारी निर्वाह गरिरहँदै गर्दा मलाई मधेससँगको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्छ भन्ने मेरो तीव्र इच्छा पनि रह्यो र रहन आवश्यक पनि थियो । किनकि मधेससँगको साइनोलाई मैले केवल औपचारिकताको बनाएर मात्र हुँदैन ।
सर्लाही क्षेत्र नम्बर ४ का साथीहरूले माया गरेर बोलाउनुभयो, म त्यहाँ जाँदै छु। त्यसैले मैले मधेसको प्रतिनिधित्व गरिरहँदै गर्दा त्यहाँका मुद्दाहरूलाई मैले बुझ्दै गर्दा त्यसको समाधानको लागि मैले पहल गर्दै गर्दा प्रकारान्तरले मैले सिङ्गो नेपालको मुद्दाहरूलाई नै हल गर्ने कुरामा ठुलो आफ्नो भूमिका निर्वाह गर्न सक्छु भन्ने विश्वास राखेको छु ।
त्यसकारणले गर्दा मैले एउटा निर्णय गरेर सुझबुझपूर्ण, सोचविचार गरेर निर्णय गरेर पहाडबाट झरेको मेरो परिवार, काठमाडौं हुर्किएको म सिङ्गो देशको हुनका निमित्त मैले एक पटक मधेसको माटो राम्रोसँग ढोग्नुपर्छ, टेक्नुपर्छ त्यसको आशीर्वाद लिनुपर्छ, त्यससँग जोडिनुपर्छ, त्यहीभित्र लडिबुडी गर्नुपर्छ भन्ने सोच राखेर यो निर्णय गरेको हुँ। यो निर्णयप्रति तपाईँहरूको त्यस्तै माया र विश्वास रहन्छ भन्ने विश्वास राख्छु ।
काठमाडौंमा एउटा युवा सचिन तिमल्सिनालाई नेपाली कांग्रेस पार्टीको तर्फबाट उम्मेदवारको रूपमा हामीले प्रस्तुत गरेका छौँ । सचिन तिमल्सिनाका बारेमा तपाईँहरूले अरू माध्यमहरूबाट पनि थप कुराहरू थाहा पाउँदै जानुहुन्छ । तपाईँहरूको बीचमा आएर म पनि आएर राख्छु । तर अहिलेको लागि यति नै कुरा भन्छु– तपाईँले जुन माया मलाई गर्नुभयो, जुन शुभेच्छा र आशीर्वाद मलाई दिनुभयो, म जीवनभर त्यसलाई सम्झन्छु, जीवनभर ऋणी रहन्छु ।
म सिङ्गो नेपालको हुन्छु भन्ने मलाई विश्वास छ भने म सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधित्व गर्ने अवसर मैले प्राप्त गरिरहँदै गर्दा काठमाडौं क्षेत्र नम्बर ४ लाई पनि म सँगसँगै मेरो मनमुटुमा लिएर हिँड्न सक्छु भन्ने विश्वास म राख्छु । किनकि यहाँको जात्रासँग म जोडिएको छु, यहाँको पर्वसँग म जोडिएको छु, यहाँको महोत्सवसँग म जोडिएको छु। तपाईँ हामी मिलेर पहिलो पटक कमलपोखरीमा छठ हामीले सुरु गर्यौँ। यस्ता कयौँ पहिलो पटक गरिएका हाम्रा अनुभवहरू छन्। ती अनुभवहरू म सँगालेर राख्नेछु।
सर्लाहीमा पनि म ती नयाँ अनुभवहरू लिएर आउनेछु। ती दुवैको अनुभवलाई मिसाएर झन् अझ बढी निखारेर जान्छु भन्ने कुराको विश्वास राख्छु। सधैँभरि तपाईँहरू मेरो मनमुटुमा रहनुहुन्छ, म तपाईँहरुकै बीचमा छु, तपाईँहरुकै बीचमा रहन्छु। फेरि एक पटक तपाईँहरूको शुभेच्छा, तपाईँहरूको आशीर्वाद, तपाईँहरूको माया, तपाईँहरूको प्रेम, साथ, विश्वास जुन मैले निरन्तर पाएँ, आगामी दिनमा पनि त्यसैगरी पाइराख्छु भन्ने विश्वास राख्दै आजबाट म सर्लाही क्षेत्र नम्बर ४ मा हुन्छु। फेरि अर्को कुनै बेला आएर तपाईँहरूको बीचमा आफ्नो कुरा राखौँला । धन्यवाद ।








प्रतिक्रिया