
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी रूपान्तरणको एजेन्डासहित नेपाली कांग्रेस निर्वाचनमा होमिएको बताएका छन् ।
विशेष महाधिवेशनपछि निर्वाचित भएर पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा पदवहाली गर्दै सभापति थापाले आगामी निर्वाचनको तयारीमा जुट्न देशभरका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले यसपटक उम्मेदवार छनोटमा केही त्रुटि र कमजोरी भएको स्वीकार गरे ।
विशेष महाधिवेशनपछिको वैधानिकता परीक्षण, अदालतमा रहेका विषय र निवर्तमान सभापतिलगायतका नेताहरूसँगको निरन्तर संवादका कारण समय अभाव हुँदा सोचेजस्तो समावेशी र वैज्ञानिक ढंगले उम्मेदवार छान्न नसकिएको उनले स्पष्ट पारे ।
सभापति थापाले आगामी निर्वाचनदेखि उम्मेदवार छनोटको विद्यमान विधि पूर्ण रूपमा परिवर्तन गरिने बताए । उनले भने, ‘अर्कोपटकदेखि कांग्रेसको उम्मेदवार यसरी केन्द्रबाट चयन हुँदैन । १६५ वटै निर्वाचन क्षेत्रमा त्यहीँका पार्टी सदस्यहरूले मतदान गरेर उम्मेदवार टुङ्ग्याउने व्यवस्था (प्राइमरी) गरिनेछ । यसका लागि हामीले विधानमा संशोधन पनि गरिसकेका छौँ ।’
यसपटक समयको चापले गर्दा उक्त पद्धति लागू गर्न नसकिएको भन्दै उनले कार्यकर्ताहरूसँग माफी समेत मागेका छन् ।
आजको बैठकले सभापति गगनकुमार थापालाई नै भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै निर्वाचनमा जाने सर्वसम्मत निर्णय गरेको छ । ‘यो कांग्रेस आफैँ बदलिएको होइन, हामीले बदलेका हौँ,’ थापाले भने, ‘अब बदलिएको कांग्रेसले देश बदल्ने संकल्पका साथ निर्वाचनमा होमिनेछ ।’
विगतको निर्वाचनमा अन्य दलसँगको गठबन्धनका कारण आफ्नै चुनाव चिह्न ‘रुख’ मा मत हाल्न नपाएको गुनासोलाई सम्बोधन गर्दै थापाले यसपटक देशभरका १० लाख क्रियाशील सदस्यहरूलाई आफ्नै निर्वाचन क्षेत्रमा खटिन र रुख चिह्नमै मतदान गर्ने वातावरण बनाइएको बताए ।
उनले निर्वाचनमा ‘फेयर प्ले’ हुनुपर्नेमा जोड दिँदै नेता–कार्यकर्ताका लागि छुट्टै आचारसंहिता बनाइने र त्यसको पूर्ण पालना गर्नुपर्ने निर्देशन दिए । ‘अर्काको निर्वाचन क्षेत्रमा गएर मद्दत पुग्दैन, सबैले आफ्नै क्षेत्रमा पार्टीलाई बलियो बनाउनुपर्छ,’ उनले भने ।
सभापति थापाले पार्टीभित्र रहेका भिन्न मत र असन्तुष्टिहरूलाई छलफलमार्फत टुङ्ग्याउँदै सबैलाई एकजुट भएर चुनावी अभियानमा लाग्न आह्वान गरेका छन् ।








प्रतिक्रिया