
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका भट्टराईले शुक्रबार आफ्ना निकटवर्ती नेताहरूसँगको छलफलपछि चुनावी मैदानबाट बाहिरिने निर्णय गरेका हुन् ।
उनको सचिवालयका अनुसार विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू र शुभेच्छुकहरूको आग्रहपछि भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय लिएका हुन् ।
विशेषगरी नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेसहितका नेताहरूले उनलाई चुनावी प्रतिस्पर्धामा उत्रिनुको सट्टा ‘अभिभावक’ बनेर सहजीकरण गरिदिन आग्रह गरेका थिए ।
उम्मेदवारी फिर्ताको घोषणा गर्दै डा. भट्टराईले देशको वर्तमान तरल राजनीतिक अवस्थामा आफू चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा बाहिरै रहेर सल्लाह-सुझाव दिने र अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुने बताएका छन् । ‘आगामी दिनमा देशले आवश्यक ठानेको व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘देशमा तीव्र आर्थिक विकास र समृद्धिको आधार निर्माण गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रका चुनौतीहरू व्यवस्थापन गर्न म बाहिरै रहेर दलहरूलाई सघाउनेछु ।’
भट्टराई गोरखा २ का पूर्वजनप्रतिनिधि हुन् । २०७९ को निर्वाचनमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै आफू चुनाव नलड्ने घोषणा गरेका थिए । यसपटक पनि सुरुमा चुनाव नलड्ने बताएका भट्टराई मनोनयनको दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा पुगेका थिए । तर, रास्वपा र अन्य दलहरूको विशेष अनुरोधपछि उनी पछि हटेका हुन् । रास्वपाले यस क्षेत्रमा आफ्ना महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ ।
डा. भट्टराईले उम्मेदवारी फिर्ता लिए पनि आफूले कसलाई समर्थन गर्ने भन्नेबारे भने प्रष्ट पारेका छैनन् । उनले देशलाई आवश्यक पर्ने साझा व्यक्तिको रूपमा आफू रहने बताएका छन् ।
भट्टराईको फिर्तीसँगै अब गोरखा २ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे), रास्वपाका कविन्द्र बुर्लाकोटी र नेपाल कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि यसै क्षेत्रबाट निर्वाचित भएका प्रचण्डले भने यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् ।








प्रतिक्रिया