
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका भट्टराईलाई सोही क्षेत्रमा रास्वपाका उम्मेदवारलाई सघाउन र आफू भने ‘वरिष्ठ अभिभावक’को भूमिकामा रहन रास्वपाले अनुरोध गरेको हो ।
रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले एक अपील जारी गर्दै डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिएर ‘अनुकरणीय देशभक्तिपूर्ण उदाहरण’ प्रस्तुत गर्न आग्रह गरेका हुन् । वाग्लेले डा. भट्टराईलाई वैकल्पिक राजनीतिको जग बसाल्ने नेताको रूपमा चित्रण गर्दै अबको समय नयाँ पुस्तालाई मार्गनिर्देश गर्ने काममा केन्द्रित हुन सुझाव दिएका छन् ।
डा. वाग्लेद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘पुराना दलहरूले राजनीतिक-सामाजिक सशक्तिकरणका लागि व्यवस्था परिवर्तनकै संघर्षबाट जे जति उपलब्धि हासिल गरे तिनको सारभूत संरक्षण गर्दै आगामी २१औं शताब्दीमा आर्थिक समुन्नतिको बाटो भने नयाँ र वैकल्पिक राजनीतिक दल र अभियानहरूबाट मात्र सफल हुन्छ भन्ने निष्कर्ष सहित ‘नयाँ शक्ति’ को कल्पना डा. बाबुराम भट्टराईले गर्नुभएको हो। तत्पश्चात् उन्नत बन्दै आएको वैकल्पिक राजनीतिक जगमा आज राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, विस्तार र उचाइ सम्भव हुन सकेको सर्वविदितै छ। पूर्व प्रधानमन्त्रीका रूपमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउन सक्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारको राजनीतिक-प्रशासनिक एवं सुशासन र विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापनमा उहाँको अनुभवबाट सिक्दै हामीले धेरै गर्नुछ। त्यसैले फागुन २१ को आसन्न निर्वाचनमा गोरखा क्षेत्र न. २ बाट उम्मेदवार रहनुभएका डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नहुन विनम्र अनुरोध गर्दछौं।’
गोरखा क्षेत्र नम्बर २ मा रास्वपाले आफ्ना महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । बुर्लाकोटी यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रमा भिडेका थिए । यसपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्षेत्र परिवर्तन गरेपछि सो क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार छन्।
प्रचण्डले पनि डा. भट्टराईलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन र वाम-लोकतान्त्रिक सहकार्यलाई बलियो बनाउन आग्रह गरिसकेका छन् ।








प्रतिक्रिया