
काठमाडौं । गुल्मी–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकालले चुनावी अभियानलाई सादगीपूर्ण बनाउने घोषणा गरेका छन् ।
उनले प्रचारका क्रममा माछा–मासु नखाने लिएको भन्दै एक रातको खानाबासको खर्चको बिलसमेत सार्वजनिक गरेका छन् ।
गुल्मीमा प्रचारमा रहेका ढकाल हिजो साँझ मालिका गाउँपालिका–सिमलटारी पुगेका थिए । सिमलटारी गुल्मी क्षेत्र नम्बर २ मा पर्छ, जहाँ रास्वपाबाट गोविन्द पन्थी उम्मेदवार छन् । ढकाल, पन्थीसहित ६ जनाको टोली बोलेरो गाडीमा यात्रा गर्दै सिमलटारीस्थित सिता होटल एन्ड रेस्टुरेन्टमा बसेको थियो ।
ढकालले आज बिहान सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै एक रातमा कति खर्च भयो भन्ने विवरण देखाएका हुन् । भिडियोमा पन्थी पनि सँगै देखिन्छन् । उनले आफूहरुसहितको टोलीले पूर्ण शाकाहारी खाना मात्रै खाएको बताए ।
उनले सार्वजनिक गरेको बिलअनुसार ६ जनाले प्रतिव्यक्ति २०० रुपैयाँका दरले खाना खाँदा १ हजार २०० रुपैयाँ खर्च भएको छ । ४ सय रुपैयाँ दरका ३ वटा कोठाको शुल्क पनि १ हजार २०० रुपैयाँ नै परेको छ । यसैगरी, ६ जनाका लागि चिया र खाजामा प्रतिव्यक्ति २२५ रुपैयाँ खर्च देखाइएको छ ।
ढकालले गाडी भाडामा लिएर हिँड्दा दैनिक ३–४ हजार रुपैयाँ लाग्ने बताए । तर, आफूहरुले कसैलाई पनि तेल नबाँडेको उनको भनाइ छ । उनले रास्वपाका देशभरका उम्मेदवारलाई माछा–मासु र रक्सी त्याग्न र बाइकमा तेल बाँड्ने चलन बन्द गर्न सुझाव दिए ।
‘हामी माछा–मासु, रक्सी केही पनि खाँदैनौं । तपाईंहरुले पनि यो बन्द गर्नुभयो र बाइकमा तेल बाड्नुभएन भने सादगी तरिकाले पनि चुनाव जित्न सकिन्छ,’ ढकालले भने ।
ढकालले आफूहरुसँगै हिँडिरहेका उम्मेदवार पन्थीलाई बिहान उठबस गराएको प्रसंगसमेत सुनाए । निर्धारित समयभन्दा चार मिनेट ढिलो भएपछि चार पटक उठबस गराइएको उनको भनाइ छ ।
‘सात बजे गाडी चढ्ने भनिएको थियो, चार मिनेट ढिला हुनुभयो । त्यसैले चारपटक उठबस गराइयो,’ ढकालले भने । पन्थीले पनि उठबस गरेको स्वीकार गरेका छन् । पन्थी पूर्वडिएसपी तथा अधिवक्ता हुन् ।
ढकालले यसपटक गुल्मीमा रास्वपाले क्लिन स्वीप गर्ने दाबी गर्दै प्रतिस्पर्धा झापा र चितवनसँग भइरहेको टिप्पणी गरेका छन् ।








प्रतिक्रिया