डाभोसमा ट्रम्पल हुँकार भर्दै भने, ‘म तानाशाह हुँ’


एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व आर्थिक मञ्चको अवसरमा आफ्नो नेतृत्व शैलीको बचाउ गर्दै आफूलाई तानाशाहको रूपमा उल्लेख गरेका छन् । उनले आफ्नो दृष्टिकोण विचारधाराबाट भन्दा पनि कमन सेन्सबाट प्रेरित भएको दाबी गरे ।

स्विट्जरल्यान्डको आल्प्स पर्वत शृंखलामा आयोजित वार्षिक भेलामा आफ्नो सम्बोधनपछि अनौपचारिक रूपमा बोल्दै ट्रम्पले आफ्नो भाषणमा आएको सकारात्मक प्रतिक्रियाबाट आफू आश्चर्यचकित भएको बताए । यो प्रतिक्रिया सामान्यतया आलोचकहरूले उनलाई चित्रण गर्ने तरिका भन्दा ठ्याक्कै विपरीत रहेको उनले बताए ।

‘हाम्रो भाषण राम्रो भयो । हामीले उत्कृष्ट समीक्षाहरू पायौं । म यसमा विश्वासै गर्न सक्दिनँ,’ ट्रम्पले बताए ।

आफूलाई प्रायः कठोर रूपमा चित्रण गरिने कुरालाई उल्लेख गर्दै ट्रम्पले थपे, ‘त्यस भाषणमा हामीले राम्रा समीक्षा पायौं । सामान्यतया उनीहरूले मलाई भयानक तानाशाह किसिमका व्यक्ति भन्ने गर्छन् ।’

उक्त लेबललाई स्वीकार गर्ने शैलीमा ट्रम्पले भने, ‘म एक तानाशाह हुँ ।’ त्यसपछि आफ्नो टिप्पणीलाई प्रस्ट पार्दै उनले भने, ‘तर, कहिलेकाहीँ तपाईंलाई तानाशाहको आवश्यकता पर्छ ।’

ट्रम्पले आफ्नो शासन दर्शनलाई विचारधारामा आधारित हुनुको साटो व्यावहारिक रूपमा प्रस्तुत गर्न खोजे । उनले आफ्ना निर्णयहरूले परम्परागत राजनीतिक सीमाहरूलाई तोड्ने तर्क गरे ।

‘यो सबै कमन सेन्समा आधारित छ,’ उनले भने, ‘यो रूढिवादी वा उदारवादी वा अन्य केही होइन । मानौं, यो ९५ प्रतिशत कमन सेन्स हो र मसँग जे छ यही हो ।’

ट्रम्पले ग्रीनल्यान्डको विषयमा पनि अलि मेलमिलापपूर्ण शैली अपनाए । हप्तौंसम्म नेटो साझेदारहरूलाई सशंकित बनाएको भाषणबाजीपछि उनले सहयोगी राष्ट्रका चिन्ताहरूलाई कम गर्ने प्रयास गरे ।

यी टिप्पणीहरूले रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापुको बारेमा पहिले व्यक्त गरिएको कठोर भाषाबाट स्पष्ट परिवर्तनको संकेत गरे । ट्रम्पले दबाबका लागि भन्सार शुल्क प्रयोग गर्ने सम्भावनालाई पनि अस्वीकार गरे । यसले वार्तातर्फ अघि बढ्ने संकेत दियो ।

अमेरिका अहिले डेनमार्क र ग्रीनल्यान्डसँगको दीर्घकालीन समझदारीतर्फ अघि बढिरहेको नेटोका महासचिव मार्क रुट्टसँगको भेटपछि ट्रम्पले बताए । सुरक्षा र स्रोतहरूमा पहुँच बनाउनमा अमेरिका केन्द्रित हुने उनको भनाइ छ ।

डेनमार्क, ग्रीनल्यान्ड र अमेरिकाबीचको वार्ता जारी रहने ट्रम्पले बताए । त्यसअन्तर्गत रुस र चीनलाई टापुमा आर्थिक वा सैन्य पकड बनाउनबाट रोक्नमा ध्यान केन्द्रित गरिनेछ । उनले पहिले युरोपेली सहयोगीहरू विरुद्ध लगाउने भनेको भन्सार शुल्कहरू पनि लागू नगरिने पुष्टि गरे ।