
एजेन्सी । पाकिस्तानको कराँचीस्थित एउटा शपिङ मलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । दमकलकर्मीहरूले जलेको भवनको भग्नावशेषबाट थप शवहरू निकालेपछि यो संख्या बढेको हो ।
‘हामीले २० देखि २५ वटा शव वा अवशेषहरू फेला पारेका छौं,’ डेपुटी कमिश्नर जावेद नबी खोसोले बुधबार सञ्चारमाध्यमहरूलाई बताए ।
देशको सबैभन्दा ठूलो शहर कराँचीको गुल प्लाजा मलमा शनिबार अबेर राति आगलागी भएको थियो ।
आगो निभाउनुअघि यो भीषण आगलागी २४ घण्टाभन्दा बढी समयसम्म जारी रह्यो ।
तर, भवनको खरानीको थुप्रो र धुवाँइरहेको भग्नावशेषबाट आगो पुनः सल्किएपछि दमकलकर्मीहरूलाई मंगलबारसम्म संघर्ष गर्नुपरेको थियो ।
बहुतल्ले शपिङ कम्प्लेक्सभित्र फसेका बेपत्ता व्यक्तिहरूको खोजीका लागि गरिएको उद्धारकार्यमा आगलागीका बेला मलमा भरिएको बाक्लो धूवाँले बाधा पुर्याएको दमकल अधिकारीहरूले बताएका छन् ।
पीडितहरूको पहिचान गर्न मद्दत गर्न ५० भन्दा बढी परिवारले डीएनए नमूना दिएको प्रादेशिक स्वास्थ्य अधिकारी सुमैय्या सैयदले सिभिल अस्पताल कराँचीको शवगृह बाहिर पत्रकारहरूलाई बताइन् ।
‘डीएनए नमूनाहरू मिलेपछि हामी शव (अवशेष) हरू परिवारलाई हस्तान्तरण गर्नेछौं,’ उनले थपिन् ।
राज्यले सञ्चाल गरेको उद्धार सेवाका अनुसार, कुल ८४ जनालाई बेपत्ताको सूचीमा राखिएको छ ।
अधिकारीहरूका अनुसार, बेपत्ता भएकामध्ये अधिकांशको मृत्यु भएको हुनसक्ने आशंका छ । त्यसको अर्थ, मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ ।
यसैबीच, बेपत्ता व्यक्तिहरूका आफन्तले खोजी र उद्धारकार्य सुस्त भएको भन्दै आलोचना गरेका छन् ।
आगलागीको कारण अझै खुल्न सकेको छैन ।
अधिकारीहरूले घटनाको छानबिन सुरु गरेका छन् र पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाए अनुसार छानबिन समितिका उच्च अधिकारीहरूले बुधबार घटनास्थलको भ्रमण गरेका थिए ।
मलको यो आगलागी कराँचीमा एक दशकभन्दा बढी समययता देखिएको सबैभन्दा घातक आगलागी हो ।
सन् २०१२ मा यो बन्दरगाह शहरको एक गार्मेन्ट फ्याक्ट्रीमा भएको आगलागीमा २६० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।








प्रतिक्रिया