सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीले माघ २१ गतेसम्मको थप गरिएको समयअगावै निष्काशन बन्द गर्न लागेको हो ।

कम्पनीले पुस २२ गतेदेखि आफ्नो जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दाका लागि १५ करोड ५० लाख रुपैयाँ बराबरको १५ लाख ५० हजार कित्ता साधारण सेयर बिक्रीमा ल्याइएको हो ।

कम्पनीले स्थानीयका लागि छुट्याएको सेयरलाई दुई भागमा विभाजन गरेको छ । ४० प्रतिशत (६ लाख २० हजार कित्ता) लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का स्थानीय बासिन्दाका लागि र ६० प्रतिशत (९ लाख ३० हजार कित्ता) मर्स्याङ्दी गाउँपालिकाकै वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि छुट्याइएको छ ।

यस आईपीओमा इच्छुक स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखा तोकिएको छ। आवेदकले दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

कम्पनीले लमजुङमा २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।