
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको उम्मेदवारीमाथि गम्भीर कानुनी प्रश्न उठाउँदै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका नेपालविरुद्ध सोही क्षेत्रका उम्मेदवार रामनरेश राय यादवले बुधबार उजुरी दिएका हुन् । उजुरीमा नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेको र उनी कानुनी रूपमा ‘निलम्बित’ अवस्थामा रहेको दाबी गर्दै उम्मेदवारी बदर गर्न माग गरिएको छ ।
उजुरीकर्ता यादवले पेस गरेको पत्रमा काभ्रेपलाञ्चोकको नासिकास्थान साँगास्थित महेन्द्रज्योतिमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद–बिक्री गर्न दिएको प्रकरणमा माधव नेपालमाथि भ्रष्टाचारको आरोप छ। उक्त विषयमा विशेष अदालत बबरमहलमा ‘सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानि–नोक्सानी’ गरेको अभियोगमा आरोप पत्र (दर्ता नम्बर ०८१-CY-०१०७) दायर भएको उजुरीमा उल्लेख छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ लाई आधार मान्दै उजुरीकर्ताले भनेका छन्,’भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा रहेको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुन्छ।’अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ बमोजिम पनि नेपाल उम्मेदवार हुन नपाउने दाबी उजुरीमा गरिएको छ।
निर्वाचन अधिकृतको कार्यालय, गौरले उजुरी दर्ता भएको पुष्टि गर्दै यसबारे आवश्यक छानबिन सुरु गरिएको जनाएको छ । निर्वाचन तालिका अनुसार दाबी–विरोधमाथि जाँचबुझ गरी निर्वाचन अधिकृतले नेपालको उम्मेदवारी कायम रहने वा बदर हुनेबारे अन्तिम निर्णय सुनाउनेछन् ।
रौतहट-१ मा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध परेको यो उजुरीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, नेपालको सचिवालयले भने यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।








प्रतिक्रिया