चुनावी मैदानमा व्यवसायी, कुन पार्टीबाट को बने उम्मेदवार ?


काठमाडौं । व्यवसायीमा पनि राजनीतिक मोह बढ्दै गएको छ । २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चलेका केही चर्चित व्यवसायी प्रत्यक्ष चुनावका लागि मैदानमा होमिएका हुन् ।

मंगलबार मनोनयन दर्ता गराएर व्यवसायीहरू पनि राजनीतिमा होमिएका हुन् । विगतमा चर्चित व्यवसायीहरू राजनीतिक दलको समानुपातिक सूचीमा रहने गरेकोमा पछिल्लो समय विवाद बढ्न थालेपछि प्रत्यक्ष चुनावमा होमिएका हुन् ।

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी नेपाली कांग्रेसबाट दोस्रो पटक प्रत्यक्ष चुनाव लड्दै छन् । उनले पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

यस्तै पूर्वबैंकर भरत राज ढकाल पनि स्याङ्जाबाट प्रत्यक्ष चुनाव लड्ने भएका हुन् । नेपाली कांग्रेसले उनलाई स्याङ्जा क्षेत्र नम्बर १ बाट टिकट दिएसँगै मनोनयन दर्ता गराएका छन् ।

मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष र सोही विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकालको मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी सहित विभिन्न व्यवसायमा लगानी छ ।

नेपाली कांग्रेसले दाङ ३ मा टिकट दिएको दीपक गिरी पनि व्यवसायी हुन् । उनी निवर्तमान सांसद पनि हुन् । यस्तै कांग्रेसले धादिङका दुवै क्षेत्रमा टिकट दिएका कृष्ण रिजाल र रमेश धमला दुवै जना व्यवसायी हुन् ।

गोरखा–१ मा कांग्रेसबाट उम्मेदवार बनेका प्रेम खत्री पर्यटन तथा घरजग्गा व्यवसायी हुन्। उनी पिके भेन्चर्सका प्रबन्ध निर्देशक छन्।

कांग्रेसले रुपन्देही–२ मा टिकट दिएको चुन्नप्रसाद शर्माको यशोदा फुड्स लगायतका व्यवसाय छन् ।

यस्तै नेपाली कांग्रेसले सोलुखुम्बुमा टिकट दिएको प्रकाशसिंह कार्की पनि व्यवसायी हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कार्कीको कार्गो र कुरियर लगायतका व्यवसाय छ ।

कांग्रेसले नै मोरङ ३ मा मेडिकल व्यवसायी डा. सुनील शर्मालाई उम्मेदवार बनाएको छ । शर्माको विराटनगरमा नोवेल मेडिकल कलेज र काठमाडौंमा काठमाडौं मेडिकल कलेज लगायतका व्यवसाय सञ्चालनमा छन् ।

पर्सा १ बाट टिकट पाएका अनिल रुङ्गटा पनि व्यवसायी हुन् । सेयर बजारको कारोबारमा बेलाबेला विवादमा आइरहने उनले विभिन्न इन्भेष्टमेन्ट कम्पनी, बिमा कम्पनी लगायतमा लगानी गरेका छन् ।

यस्तै कांग्रेसले मनाङमा टिकट दिएको टेकबहादुर गुरुङ पनि व्यवसायी हुन् । उनले विगतदेखि नै मनाङमा कांग्रेसबाट चुनाव लड्दै आएका छन् ।

मनाङमा कांग्रेसले युवा पर्यटन व्यवसायी योगेश गौचन थकालीलाई टिकट दिएको छ । उनी निवर्तमान सांसद पनि हुन् ।

यस्तै एमालेबाट पनि उद्योगी व्यवसायी प्रत्यक्ष चुनावमा छन् । उद्योगपति वीरेन्द्रप्रसाद कनौडियालाई एमालेबाट कपिलवस्तु ३ मा प्रत्यक्षतर्फको उम्मेदवारी दिएका छन् । उनी चिनी उद्योग र कृषि व्यवसायमा लागेका व्यक्ति हुन् ।

कृष्णकुमार (किसान) श्रेष्ठ बाराको निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका छन् । उनको बाराकै सिमरामा विभिन्न उद्योग र व्यवसाय छ । उनले हाल सिमरामा होटल, अपार्टमेन्ट र निर्माण सामग्रीको व्यवसाय गर्दै आएका छन् ।

सौर्य ऊर्जा, जलविद्युतसहितको इन्भेष्टमेन्ट कम्पनीमा लगानी गरेका र वैदेशिक रोजगार व्यवसायीका रूपमा समेत आफ्नो परिचय बनाएका लालप्रसाद लिम्बु साँवा (एलपी साँवा) ले पनि एमालेबाट झापाको क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका छन् ।

नवलपुर क्षेत्र नं. १ बाट उम्मेदवार बनेका पर्यटन व्यवसायी भगीरथ सापकोटाको ट्राभल व्यवसाय छ । उनी नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी), इम्पेरियल इनोभेसन फण्ड र ट्रोइका इनर्जीका निर्देशक तथा स्टार ट्रेडर्स प्रालिका संस्थापकसमेत हुन् ।

मुक्तिनाथ विकास बैंकका अध्यक्ष रहिसकेका मीनप्रसाद गुरुङ पनि एमालेबाट स्याङ्जाको क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । उनको बैंक तथा वित्तीय संस्थामा लगानी छ ।

काभ्रेको क्षेत्र नं. १ बाट उम्मेदवार भएका अमित लामा पनि व्यवसायी हुन् । उनको झम्सिखेलमा पार्टी प्यालेस, दरबारमार्गमा क्लब प्लाटिनम (नाइट क्लब) र कमलपोखरीमा आलिसान गजल छ ।

एमालेबाट मनाङमा टिकट पाएका पोल्देन छोपाङ गुरुङ पनि व्यवसायी हुन् । उनको कृषि र पर्यटन क्षेत्रमा लगानी छ ।

एमालेबाट गोरखाको क्षेत्र नं. २ बाट उम्मेदवार भएका मिलन गुरुङ ‘चक्रे मिलन’ पनि एक व्यवसायीकै रुपमा चिनिन्छन् । अपराध कर्ममा मुछिएका उनको मनोरञ्जन व्यवसायदेखि घरजग्गाको कारोबारसम्म छ ।

बागलुङको क्षेत्र नं. २ बाट उम्मेदवारी पाएका हिराबहादुर केसी ऊर्जा व्यवसायी हुन् । उनको दरमखोला जलविद्युत आयोजनामा लगानी छ ।

नेकपा एमालेबाट सुनसरी ३ मा टिकट पाएकी भगवती चौधरी पनि लघुवित्त संस्थाकी लगानीकर्ता हुन् । चौधरी पूर्वा कम्युनिटी लघुवित्तकी पूर्व अध्यक्ष हुन् ।

यस्तै जनता समाजवादी पार्टी छोडेर जनमत पार्टीबाट सिराहामा उम्मेदवार बनेका वीरेन्द्र महतो पनि व्यवसायी हुन् । गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोका भाइ समेत रहेका उनी माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष हुन् । महतोको बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर लगायतका क्षेत्रमा लगानी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल व्यवसायी हुन् । मेनपावर व्यवसाय सञ्चालन गर्ने अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिस्पर्धा गर्दै छन् । उनको कृषि फार्म, ट्राभल सर्भिस, सहकारी, इँटा उद्योग, रेमिटेन्स कम्पनी, एजुकेसन कन्सल्टेन्सी, सेक्युरिटी सर्भिस, ट्रेकिङ सर्भिस, होटेल सहितका व्यवसाय छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा पनि व्यवसायी उम्मेदवार छन् । नेकपाका नेता राजेन्द्रप्रसाद पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्दै छन् । उनी सहकारी चलाउँछन् भने मनमोहन मेमोरियल अस्पतालमा पनि उनको लगानी छ ।

काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिस्पर्धामा उत्रिएका सुमन सायमी पनि व्यवसायी हुन् । उनको पार्टी प्यालेस तथा होटल छ । उनको कालीमाटीमा स्वीटकेभ नामक होटल छ ।

त्यस्तै भुक्तानी सेवा प्रदायक खल्तीका सह–संस्थापक अरविन्द साहले उम्मेदवारी दर्ता गरेका छन् । साहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।