‘वान स्टप सर्भिस सेन्टर’ सुरु गर्दै लगानी बोर्ड, १४ वटा निकायले तोके फोकल पर्सन


काठमाडौं । लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र (वान स्टप सर्भिस सेन्टर) सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह गर्दै लगानी वृद्धि गर्ने उदेश्यले बोर्डले एकल बिन्दु सेवा केन्द्र (वान स्टप सर्भिस सेन्टर) सञ्चालनको गृहकार्य सुरु गरेको हो।

उक्त सेवा केन्द्र सञ्चालनका लागि लगानी बोर्डको कार्यालयले सम्बन्धित मन्त्रालय, विभाग तथा निकायसँगको समन्वयमा कार्यविधिको मस्यौदा समेत तयार गरिसकेको छ।

तत्कालका लागि सम्बन्धित निकायका फोकल पर्सनसँग समन्वय गर्दै सेवा प्रवाहलाई सहज बनाइने तयारी गरिएको छ ।

सेवा केन्द्रसँग समन्वय गरी काम अघि बढाउन हालसम्म १४ वटा सरकारी मन्त्रालय, विभाग तथा निकायले अख्तियारीसहित फोकल पर्सन तोकेका छन्।

फोकल फर्सन तोक्नेमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल राष्ट्र बैंक, अध्यागमन विभाग, आन्तरिक राजस्व विभाग, उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, भन्सार विभाग , श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, विद्युत विकास विभाग, कम्पनी रजिष्ट्रारको कार्यालयद र नेपाल दुरसञ्चार प्राधिकरणले फोकल पर्सन तोकेका छन् ।

बोर्डका अनुसार अन्य सम्बन्धित निकायहरुले पनि आवश्यकता अनुसार फोकल पर्सन तोक्न सक्नेछन्। यस एकल विन्दु सेवा केन्द्रको समन्वयको जिम्मेवारी भने सहसचिव हेमराज तामाङले पाएका छन् ।

तोकिएका फोकल पर्सनहरुले हाल सम्बन्धित मन्त्रालय तथा निकायका सिंगल प्वाइन्ट अफ कन्ट्याक्ट का रूपमा रहनेछन्। उनीहरूले लगानी बोर्डबाट सिफारिस भएका फाइल तथा पत्रलाई समयमै कार्यान्वयन गर्न सहजीकरण गर्नेछन्। उनिहरुले सार्वजनिक–निजी साझेदारी ऐन २०७५, लगानी नियमावली २०७७ तथा बोर्डको रणनीति र व्यावसायिक योजनाले तोकेका सेवा प्रवाहसम्बन्धी कार्यमा सहयोग गर्नेछन्। साथै, लगानी बोर्ड र सम्बन्धित निकायबीच संस्थागत समन्वयकर्ताको भूमिका निर्वाह गर्नेछन्।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार जेन्जी आन्दोलनका क्रममा बोर्डको कार्यालयमा आगजनी भएकाले नयाँ कार्यालयको व्यवस्थापन र कार्यविधिले अन्तिम रुप पाएपछि एकै स्थानबाट सेवा प्रवाह गरिने छ । काम अटोमेसनमार्फत हुने भएकाले प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिइनेछ।