दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर ब्युरोलाई निर्वाचन आयोगको पत्रचार


काठमाडौं । निर्वाचन आयोगले दुर्गा प्रसाईंमाथि कारafही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । आयोगले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंमाथि कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।

विशेष महाधिवेशनबाट निवार्चित गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिलाउन आयोगले ५२ करोड रुपैयाँ लेनदेन गरेको भन्दै प्रसाईंले गम्भीर आरोप लगाएको भिडियो सार्वजनिक भएपछि आयोगले प्रसाईंलाई कारबाही गर्न पत्रचार गरेको हो।

आइतबार बसेको आयोगको बैठकले प्रसाईंको अभिव्यक्तिबारे अनुसन्धान गरी कारबाही गर्न ब्युरोलाई पत्र लेख्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन अधिकारीले बताए । उनका अनुसार प्रसाईंले सामाजिक सञ्जालमार्फत फैलाएको भिडियो र अभिव्यक्तिमाथि छानबिन गर्न भनिएको छ।

‘आयोगले औपचारिक निर्णय गरेरै अनुसन्धानका लागि पत्राचार गरेको हो,’ अधिकारीले भने, ‘सामाजिक सञ्जालमा उहाँको जुन भिडियो सार्वजनिक भएको छ, त्यसमाथि अनुसन्धान गरिदिन हामीले साइबर ब्युरोलाई आग्रह गरेका छौं ।’

गत शुक्रबार निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय गरेको थियो। प्रसाईंले भने सोही निर्णय गराउन आयोगले मोटो रकम लिएको दाबी गर्दै एक सार्वजनिक कार्यक्रममा भिडियो प्रदर्शन गरेका थिए।