बालेनलाई स्वागत गर्नेको जनकपुर विमानस्थलमा भीड, फुटाए ढोका


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह समर्थकको भीडले धकेलाधकेल गर्दा जनकपुर विमानस्थलको ढोका फुटेको छ ।

आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगेका शाह त्यस लगत्तै चुनावी अभियानमा सक्रिय हुन भन्दै जनकपुर पुगेका छन् । उनी जनकपुर विमानस्थलमा पुग्ने क्रममा समर्थक विमानस्थलमा जान खोज्दा विमानस्थको सिसाको ढोका फुटेको हो ।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह लगायतका नेतालाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन् ।

सोमबार जनकपुरमा आयोजित सभालाई लामिछानेसहित शाहले सम्बोधन गर्ने कार्यक्रम छ । रास्वपाले चुनावी सभाको सुरुवात जनकपुरबाट गर्ने भन्दै बालेनसहितको उपस्थितिमा कार्यक्रम गर्न लागेको हो ।