
काठमाडौं । बागमती प्रदेश सरकारले हेटौँडामा निर्माण गरेको पाउडर दूध कारखाना अहिलेसम्म औपचारिक रूपमा सञ्चालनमा आएको छैन ।
बागमती प्रदेश सरकारले खपतभन्दा बढी भएको दूध खेर जान नदिन हेटौँडाको न्युरेनीस्थित सिसौघारीमा पाउडर दूधको प्लान्टसहित कारखाना निर्माण गरेको थियो ।
कारखाना र प्लान्ट जडानको काम पूर्ण रूपमा सम्पन्न भइसक्दा पनि उक्त कारखाना सञ्चालनको मोडालिटीको विषयमा टुङ्गो नलाग्दा औपचारिक रूपमा सञ्चालनमा आउन नसकेको हो ।
‘सञ्चालन गर्ने मोडालिटीको विषयमा टुङ्गो नलाग्दा औपचारिक रूपमा सञ्चालनमा ल्याउन पाएका छैनौँ,’ बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरि पौडेलले भने, ‘औपचारिक रूपमा सञ्चालनमा नआए पनि अहिले परीक्षण उत्पादनको जिम्मेवारी दुग्ध विकास संस्थान (डीडीसी) लाई दिएका छौँ । डीडीसीले पछिल्लो दुई वर्षदेखि निरन्तर रूपमा परीक्षण उत्पादन गरिरहेको छ ।’
पौडेलले कारखाना सञ्चालन गर्ने विषयमा ४ वटा विकल्पसहितको मोडालिटीको सुझाव प्राप्त भएको जानकारी दिए ।
उनका अनुसार सञ्चालन मोडालिटी सुझावअनुसार पहिलो प्रदेश सरकारले आफैँ सञ्चालन गर्ने । दोस्रोमा डीडीसीजस्ता सार्वजनिक संस्थानमार्फत सञ्चालन गर्ने ।
तेस्रोमा सहकारीहरूको विशिष्टीकृत संघले सञ्चालन गर्ने र चौथो र अन्तिम विकल्प पीपीपी (सार्वजनिक निजी साझेदारी) मोडेलको मोडालिटी हो ।
यसमध्ये पहिलो विकल्पअनुसार सञ्चालन प्रक्रियामा जाँदा कर्मचारी र प्राविधिक जनशक्ति व्यवस्थापनलगायतका विभिन्न प्रकारका झन्झटिला समस्या छन् ।
‘यसले गर्दा पहिलो विकल्पअनुसार अहिले अघि बढ्न निकै कठिनाइ हुने भएकाले दोस्रो विकल्पमा जाने विषयलाई सर्वपक्षीय छलफलको आधारमा टुङ्गो लगाउने गृहकार्य अन्तिम चरणमा पुगेको छ,’ पौडेलले भने, ‘डीडीसी आफैँ पनि सार्वजनिक संस्थान हो, उसँग पाउडर दूध कारखाना सञ्चालन गर्ने अनुभव छ ।’
उनका अनुसार अहिले पनि डीडीसीले निर्माण सम्पन्न भएको उद्योगबाट पछिल्लो दुई वर्षदेखि परीक्षण उत्पादन गरिरहेकाले उसैलाई सञ्चालनको जिम्मेवारी दिने विषयमा गृहकार्य अन्तिम चरणमा पुगेको छ ।

सम्भवतः यही माघ महिनामा प्रदेश सरकारको स्वामित्व रहने गरी जिम्मेवारी डीडीसीलाई दिइने पौडेलले जानकारी दिए ।
‘प्रदेश सरकारले बजार मूल्यको आधारमा कन्भर्सन चार्ज (दूधबाट पाउडर दूध र मख्खन तयार गर्न लाग्ने शुल्क) निर्धारण गरिदिने र सञ्चालन खर्च कटाएर तोकिएको राजस्व प्रदेश सरकारलाई बुझाउने सर्तमा एग्रिमेन्ट गरेर डीडीसीलाई यही महिनामा सञ्चालनमा दिने गरी गृहकार्य अघि बढेको छ,’ पौडेलले भने, ‘कन्भर्सन शुल्क हाल बजारमा रहेका शुल्कभन्दा तुलनात्मक रूपमा केही सस्तो निर्धारण गर्दैछौँ ।’
सरकारी स्वामित्व रहेको जग्गामध्ये २ बिघा जग्गामा बहुवर्षीय योजना अन्तर्गत बागमती प्रदेश सरकारको ४७ करोड रुपैयाँमा यो कारखाना निर्माण भएको छ ।
बोर्डका अनुसार ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त कारखानाको निर्माण अवधि लम्बिँदै जाँदा लागत ४७ करोड पुगेको हो ।
तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यावधिमा २०७७ पुस १ गते शिलान्यास भएको यो कारखानाले २०८० मंसिरदेखि परीक्षण उत्पादन सुरु गरेको थियो ।
परीक्षण उत्पादनको जिम्मेवारी डीडीसीअन्तर्गतको हेटौँडा दुग्ध वितरण आयोजनालाई दिइएको थियो । परीक्षण उत्पादनको विषयमा प्रदेश र डीडीसीबीच २०८० मंसिरमा सम्झौता भएको थियो ।
हेटौँडा दुग्ध वितरण आयोजनाका म्यानेजर राजीव खनालका अनुसार सञ्चालन मोडालिटीको विषयमा टुङ्गो नलागेकाले पछिल्लो दुई वर्षदेखि आयोजनाले तरल दूधबाट पाउडर दूध र मख्खन उत्पादन गर्दै आएको जानकारी दिए ।
‘बजारमा खपत हुने परिमाणभन्दा बढी भएको दूध विभिन्न स्रोतमार्फत आउँदा पाउडर र मख्खन (बटर) मा कन्भर्सन गर्दै आएका छौँ,’ खनालले भने, ‘तर दूध कम उत्पादन हुने सिजनमा भने दूधको अभाव हुँदा प्लान्ट सञ्चालन गर्न समस्या हुन्छ, यसले गर्दा प्लान्टको उपकरण जाम भएर पछि समस्या पनि आउन सक्छ ।’
उनका अनुसार पर्याप्त परिमाणमा दूध उपलब्ध हुँदा दैनिक २५ हजार लिटरबाट २ हजार ५ सय किलोसम्म पाउडर दूध उत्पादन हुँदै आएको छ ।
अहिले विभिन्न सहकारी दुग्ध संस्थामार्फत आउने दूधबाट प्रतिकिलो पाउडर दूध तयार गर्दा भ्याटबाहेक ११३ रुपैयाँ र प्रति लिटर मख्खन तयार गर्दा भ्याट बाहेक ५५ रुपैयाँ कन्भर्सन शुल्क कायम गरिएको खनालले जानकारी दिए ।
किसानले उत्पादन गरेको दूध बजार नपाएर बिक्री हुन नसकेको अवस्थामा यो कारखाना निर्माणले ठूलो राहत भएको पौडेलको भनाइ छ ।
व्यावसायिक रूपमा कारखाना सञ्चालनमा आएपछि हेटौँडा वरिपरि सहित विभिन्न जिल्लाका २५ हजार किसानले प्रत्यक्ष रूपमा फाइदा उठाउन सक्ने उनले बताए ।
यो कारखानाबाट दैनिक ६० हजार लिटर दूध प्रशोधन गरी पाउडर दूधमा परिणत गर्न सकिने बोर्डले जनाएको छ ।
पौडेलले भने, ‘अफ सिजनमा उत्पादन भएको दूधको खपत दर घटेर बिक्री हुन नसक्दा ठूलो परिमाण खेर गइरहेको हुन्छ । त्यस्तो अवस्थालाई मध्यनजर गरी निर्माण भएको यो कारखानाका कारण बढी भएको कच्चा दूधलाई पाउडरमा परिणत गर्न ठूलो सहयोग पुग्नेछ ।’
मधेश, बागमती र लुम्बिनी प्रदेशलाई नजिक हुने गरी यो कारखाना हेटौँडामा निर्माण गरिएको हो । तीनवटै प्रदेशमा खपतभन्दा बढी भएको दूधलाई संकलन गरी यो कारखानाको सहयोगमा पाउडर दूधमा परिणत गर्न सहज भएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

दैनिक ५ मेट्रिक टन पाउडर दूध उत्पादन गर्ने क्षमता यो कारखानाको छ । कारखाना सञ्चालनका लागि आवश्यक पर्ने कच्चा दूध बागमतीका १३ जिल्लाका साथै मधेश प्रदेशको महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा तथा गण्डकी प्रदेशको नवलपरासी, तनहुँ लगायतका जिल्लाबाट दूध संकलन गरी ल्याउनुपर्ने दाहालले बताए ।
कात्तिकदेखि माघसम्म सबैभन्दा बढी दूध उत्पादन हुने सिजन हो । त्यो बेला खपतभन्दा बढी उत्पादन हुने भएकाले दूधको बजार व्यवस्थापन गर्न निकै समस्या हुने गरेको छ । फागुनदेखि असोजसम्म कम उत्पादन हुने समय भएकाले त्यो बेला बजारमा दूधको चर्को अभाव हुने गर्छ ।
हेटौँडाको यो नयाँ कारखानासहित अहिले देशभर गरी ७ वटा पाउडर दूध बनाउने कारखाना छन् ।
यसमध्ये भक्तपुरको खरिपाटी, पोखराको सुजल, चितवनको चितवन मिल्क, विराटनगरको दुग्ध विकास संस्थान (डीडीसी) र निजी क्षेत्रको सूर्योदय र इटहरीको तरहरास्थित सगरमाथा पाउडर दूध कारखाना सञ्चालनमा छन् ।
दाहालका अनुसार देशभर दैनिक ३१ लाख लिटर दूध उत्पादन हुन्छ । यसमध्ये २६ लाख लिटर दूध मात्रै बजारमा बिक्री भइरहेको छ ।








प्रतिक्रिया