
बारा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा शनिबार बिहान गुडिरहेको इभी माइक्रोबसमा आगलागी भएको छ ।
आगलागीबाट माइक्रोबस पूर्ण रूपमा जले पनि त्यसमा सवार यात्रुहरू सकुशल रहेका छन् ।
पोखराबाट काकरभिट्टातर्फ जाँदै गरेको नेपाल यातायात प्रालिको इभी माइक्रोबसमा बिहान करिब ३.३० बजे अचानक आगो लागेको हो ।
घटना जीतपुरसिमरा उपमहानगरपालिका- १६ स्थित सहजनाथ मन्दिर जाने बाटो अगाडि भएको प्रहरीले जनाएको छ ।
माइक्रोबसमा १४ जना यात्रु सवार थिए । गाडीमा अचानक आगो सल्किएको देखेपछि चालकले गाडी सडक छेउमा रोकेर यात्रुलाई बाहिर निकालेका थिए । आगलागीबाट माइक्रोबस पूर्ण रूपमा जलेको भए पनि यात्रु तथा उनीहरूका सामान सुरक्षित छन् ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले राजमार्गमा अलपत्र परेका यात्रुहरूलाई अर्को सवारीसाधनबाट गन्तव्यतर्फ पठाएको थियो ।
माइक्रोबसमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ








प्रतिक्रिया