
विराटनगर । तेतीस किलो सुन तस्करीका साथै मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा संलग्न फरार प्रतिवादी आठ वर्षपछि पक्राउ परेका छन् ।
चूडामणि उप्रेती (गोरे) मुख्य योजनाकार मानिएको यो प्रकरणमा अदालतबाट दोषी ठहर भएका हेटौँडा उपमहानगरपालिका वडा नं. १७ बस्ने ३३ वर्षीय सुरेन्द्र गौतम पक्राउ परेका हुन् ।
उनलाई काठमाडौंमा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गौतम ८ वर्षदेखि फरार थिए । उनको मुद्दा मुल्तबीमा थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरी मोरङ ल्याएको छ ।
गौतमलाई आजै अदालत बुझाइएको मोरङका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए छन् ।
२०७४ फागुन तेस्रो साता दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३३ केजी अवैध सुन आइपुगेको थियो । भारतीय सुन व्यापारीहरूको लगानीमा गोरे समूहले ल्याएको भनिएको सुन विमानस्थलबाट बाहिरिने क्रममा हराएपछि घटना सार्वजनिक भएको थियो ।
सुन हराएपछि तस्करीको सुन ओसारेर भारतीय बजारसम्म पुर्याउने मुख्य जिम्मा पाएका मोरङ उर्लाबारी घर भएका ‘गोरे’ भनिने चूडामणि उप्रेतीले सुन खोजी गरेका थिए ।
त्यस क्रममा उनले आफ्ना सहयोगीलाई केरकार गर्दै यातना दिएका थिए । केरकारका क्रममा सहयोगी उर्लाबारीकै सनम शाक्यको हत्या भएको थियो । गोरे समूहले सनम शाक्यलाई उर्लाबारीको जङ्गलमा लगेर करेन्ट लगाउँदै यातना दिँदा मृत्यु भएको थियो ।
गोरेको यातनाबाट १८ फागुन २०७४ मा सनमको मृत्यु भएको प्रहरीले जनाएको छ । सनमको मृत्यु भएपछि घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले डीएसपी प्रजित केसी नेतृत्वको टोली मोरङ खटाएका थिए ।








प्रतिक्रिया