बैंकिङ क्षेत्रको सुरक्षाका राष्ट्र बैंक, नेपाली प्रहरी र बैंकहरु समन्वयनमा अगाडि बढ्ने

प्रहरीले भन्योः अराजक गतिविधि गर्नेलाई निगरानीमा राखेका छौं


काठमाडौं । बैंकिङ क्षेत्र सम्बद्ध विभिन्न गतिविधि र घटनाक्रमले बैंकिङ क्षेत्रमा नै अस्थिरत आउने जोखिम बढेपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपाल प्रहरी र बैंकरसँग छलफल गरेका छन् । शुक्रबार बिहान गभर्नर पौडेलले बैंकिङ क्षेत्र र बैंकरको सुरक्षा लगायतका विषयमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संस्थाहरूसँग छलफल गरेका हुन् ।

कर्जा लगानी, बैंकिङ गतिविधिहरू, बैंक तथा वित्तीय संस्थाहरूले गर्ने कारोबारहरू, त्यस सन्दर्भमा पछिल्लो समय भएको घटनाक्रमका सन्दर्भमा आएका समाचारहरुले वित्तीय प्रणालीमा अस्थिरता उत्पन्न गराउन जोखिम बढेपछि नेपाली प्रहरी र बैंकर्ससमेतको उपस्थितिमा छलफल गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले बताए ।

‘बैंक वित्तीय संस्थाको निक्षेप, कर्जा लगायतका वित्तीय प्रणालीमा आघात पुग्ने जुन तत्त्वहरू चर्को स्वरमा अगाडि आइरहेको छ । छलफलले त्यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूको संगठन र प्रहरी संगठनहरूबीच समन्वयात्मक रुपमा अगाडि बढ्ने कुरा भएको छ,’ राष्ट्र बैंकका प्रवक्ता पौडेलले भने, ‘घटनाहरू बैंक वित्तीय संस्थाहरूमा हुन्छन्, अनि त्यसको जानकारी राष्ट्र बैंकलाई पनि हुनुपर्छ । त्यसपछि राष्ट्र बैंक र प्रहरी लगायतका सम्बन्धित निकायहरू मार्फत त्यहाँ पुग्न सकियो भने यस्ता घटनाहरू कम हुन सक्छन् र दोषीहरूलाई कारबाही पनि गर्न सकिन्छ भन्ने एउटा अन्डरस्ट्यान्डिङ भएको छ।’

चुनाव पनि नजिक आउँदै गरेको र अहिलेको परिस्थिति पनि अलि तरल रहेको अवस्थामा घटनालाई अतिरञ्जित नगरिकन आफ्नो तर्फबाट संयमित हुन बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई बैंकहरुले निर्देशन दिन पनि छलफलमा भएको उनले बताए । विशेषगरी बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु रिकभरीमा जाँदा संयमित हुने र सबै कानुनी प्रक्रिया पुरा गरेपछि मात्रै अगाडि बढ्नुपर्ने जस्ता विषयमा छलफल भएको र त्यसमा बैंकरहरु पनि सकारात्मक भएको उनले बताए ।

यस्तै कतिपय अवस्थामा रिकभरी र धितो लिलामीमा जाँदा अलिकति समन्वयात्मक ढंगले जान, कानुन अनुसारका प्रक्रिया सम्पूर्ण कुराहरू पूरा गरी प्रहरीसँग समन्वय पनि गरेर अगाडि बढ्न सकिने विषयमा छलफल भएको उनले बताए । जसबाट रिकभरीलाई सहज बनाउन सक्ने अपेक्षा गरिएको छ ।

चुनाव आउँदै गर्दा अहिलेको संक्रमणकालीन अवस्थामा बैंकहरुले कार्यालयमा सीसीटीभी लगायतका सुरक्षा उपकरणहरू अपडेट राख्न र व्यवस्था गर्नलाई बैंक वित्तीय संस्थाहरूलाई निर्देशन दिइएको उनले बताए । साथै समग्र अवस्थाका बारेमा राष्ट्र बैंकमा बैंकहरुले रिर्पोट गर्न निर्देशन भएको उनले बताए ।

‘एसबीआई बैंकको घटना, अनि पछिल्लो समयमा युट्युबमा समेत राखेर खुलमखुल्ला धम्कीपूर्ण भाषामा बैंकर र बैंक कर्मचारीहरू प्रति मात्र लक्षित गरेर बोल्नेहरूका बारेमा जानकारी गराउने र एक आपसमा कसरी अगाडि बढ्ने भन्ने विषय छलफल भयो,’ राष्ट्र बैंकका प्रवक्ता पौडेल भन्छन्, ‘यस विष्यामा प्रहरीहरू पनि एकदमै जानकार रहेको, अपडेटेड रहेको र त्यसलाई नजिकबाट निगरानी गरिरहेको जानकारी गराउनुभयो ।’

नेपाली प्रहरीबाट यस्ता घटनामा आवश्यकता अनुसार कारबाहीमा पनि जाने प्रतिवद्धता भएको उनले बताए । बैंकहरहरुले कर्मचारीको सुरक्षा विभिन्न माध्ममबाट दिइरहेको धम्कीको विषयमा चासो राखेका थिए । कतिपय ठाउँम स्थानीय प्रशासन र प्रहरी प्रशानबाट असहयोग भएको विषयमा उनीहरुले चासो राखेकोमा नेपाल प्रहरीले समन्वयन गरेर अगाडि बढ्न तयार रहेको बताएका थिए ।

कर्मचारीमाथि भइरहेको आक्रमण, दुर्व्यवहारलाई न्यूनीकरण गर्न प्रहरीसँग समन्वयन गरेर अगाडि बढ्ने सहमती भएको छलफलमा सहभागी एक बैंकरले बताए ।

छलफलमा नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ लगायत संस्थाका प्रतिनिधि, नेपाली प्रहरीका आईजीपी लगायतका अधिकारी सहभागी थिए । त्यस्तै गभर्नर डा. विश्वनाथ पौडेल, डेपुटी गभर्नर, नियमन विभाग, सुपरीवेक्षण विभागका कार्यकारी निर्देशकहरु र प्रवक्ता गुरुप्रसाद पौडेल पनि सहभागी थिए ।