भेनेजुएलाकी विपक्षी नेत्री माचादोले आफ्नो नोबेल पुरस्कार दिएपछि ट्रम्प दंग


एजेन्सी । भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचादोले बिहीबार ह्वाइट हाउसमा भएको एक निजी भेटघाटका क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कारको पदक प्रदान गरेको बताएकी छन् ।

ट्रम्पसँगको भेटपछि उनले भनिन्, ‘मलाई लाग्छ आज हामी भेनेजुएलाका जनताका लागि एक ऐतिहासिक दिन हो ।’

यी दुई नेताबीच पहिलोपटक प्रत्यक्ष भेटवार्ता भएको हो । अमेरिकी सेनाले काराकासबाट भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको र उनीमाथि लागूऔषध ओसारपसारको मुद्दा चलाएको केही हप्तापछि यो भेट भएको हो ।

ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै कृतज्ञता व्यक्त गरेका छन् र यस कदमलाई आपसी सम्मानको अद्भुत भाव भनेका छन् ।

अमेरिकाका राष्ट्रपतिले माचादोलाई भेनेजुएलाको नयाँ नेताको रूपमा समर्थन गर्न भने अस्वीकार गरेका छन् । माचादोको आन्दोलनले सन् २०२४ को व्यापक विवादित निर्वाचनमा विजयको दाबी गरेको थियो ।

ट्रम्पले यसको साटो भेनेजुएलाकी कार्यवाहक राष्ट्रप्रमुख डेल्सी रोड्रिगेजसँग संवाद गरिरहेका छन् । उनी मदुरो प्रशासनकी पूर्व उपराष्ट्रपति हुन् ।

माचादोलाई भेट्नु ठूलो सम्मान भएको बताउँदै ट्रम्पले उनलाई धेरै संघर्ष भोगेकी एक अद्भुत महिला भनेका छन् ।
ह्वाइट हाउसबाट बाहिरिएपछि माचादोले बाहिर गेटमा भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै भनिन्, ‘हामी राष्ट्रपति ट्रम्पमाथि भरोसा गर्न सक्छौं ।’ एसोसिएटेड प्रेसका अनुसार, उनले स्पेनी भाषामा सो कुरा भनेकी हुन् ।

‘मैले अमेरिकाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको पदक हस्तान्तरण गरें,’ माचादोले पछि पत्रकारहरूलाई अंग्रेजीमा भनिन् । उनले यसलाई हाम्रो स्वतन्त्रताप्रति ट्रम्पको अनुपम प्रतिबद्धताको कदर भनिन् ।

प्रायः नोबेल शान्ति पुरस्कार पाउने आफ्नो इच्छाबारे कुरा गर्ने ट्रम्पले गत वर्ष माचादोलाई यो सम्मान दिँदा र उनले सो स्वीकार गर्ने निर्णय गर्दा असन्तुष्टि व्यक्त गरेका थिए ।

माचादोले गत हप्ता आफूले यो पुरस्कार ट्रम्पसँग बाँड्ने बताएकी थिइन् । तर, नोबेल समितिले यो पुरस्कार हस्तान्तरण गर्न मिल्दैन भनी पछि स्पष्ट पारेको छ ।

‘एकपटक नोबेल पुरस्कार घोषणा भएपछि त्यसलाई खारेज गर्न, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिँदैन,’ समितिले गत साता एक विज्ञप्तिमा भन्यो, ‘यो निर्णय अन्तिम हो र सधैंका लागि मान्य हुनेछ ।’

माचादोको भनाइबारे प्रतिक्रिया माग्दा समितिले बीबीसीलाई उनीहरूको पुरानो विज्ञप्ति हेर्न निर्देशन दियो ।

बिहीबारको ह्वाइट हाउस भेटघाटअघि नोबेल शान्ति केन्द्रले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पदकको मालिक परिवर्तन हुन सक्छ, तर नोबेल शान्ति पुरस्कार विजेताको पदवी परिवर्तन हुन सक्दैन लेख्यो ।

आफ्नो भनाइका क्रममा माचादोले अमेरिकाको क्रान्तिकारी युद्धमा लडेका मार्किस डे लाफायेटले जर्ज वाशिङटनको आकृति भएको पदक आधुनिक भेनेजुएलाका संस्थापकहरूमध्ये एक सिमोन बोलिभरलाई कसरी दिएका थिए भन्ने कुराको वर्णन गरिन् ।

उक्त उपहार तानाशाही विरुद्ध स्वतन्त्रताको लडाइँमा उनको देश र अमेरिकाबीचको भाइचाराको प्रतीक भएको माचादोले बताइन् ।

‘र इतिहासको २०० वर्षपछि बोलिभरका जनताले वाशिङटनका उत्तराधिकारीलाई एउटा पदक, यस अवस्थामा नोबेल शान्ति पुरस्कारको पदक, फिर्ता दिइरहेका छन् । यो हाम्रो स्वतन्त्रताप्रति उनको अनुपम प्रतिबद्धताको कदर हो,’ उनले भनिन् ।

वाशिङटन भ्रमणका क्रममा माचादोले अमेरिकी सिनेटरहरूलाई भेट्न संसद्को पनि भ्रमण गरिन् । त्यहाँ पत्रकारहरूसँगको उनको कुराकानी समर्थकहरूको मारिया, प्रेसिडेन्टे (मारिया, राष्ट्रपति) भन्ने नारा र भेनेजुएलाको झण्डा हल्लाउने आवाजले छोपिएको थियो ।

माचादोले ट्रम्पसँगको समय रोड्रिगेजको अन्तरिम सरकारलाई समर्थन गर्नु गल्ती हो र उनको विपक्षी गठबन्धनले यस संक्रमणकालीन अवस्थाको नेतृत्व गर्नुपर्छ भनेर मनाउन प्रयोग गर्ने अपेक्षा गरिएको थियो ।

बिहीबार भेटवार्ता चलिरहँदा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारहरूलाई माचादो भेनेजुएलाका धेरै जनताका लागि एक उल्लेखनीय र साहसी आवाज हुन् र ट्रम्प यस भेटको प्रतिक्षामा थिए भनिन् । भेनेजुएलाको वर्तमान जीवनको यथार्थबारे स्पष्ट र सकारात्मक छलफलको अपेक्षा गरिएको उनले बताइन् ।

ट्रम्पले यसअघि माचादोलाई स्वतन्त्रता सेनानी भनेका थिए । तर, मदुरोको निष्काशनपछि माचादोलाई भेनेजुएलाको नेतृत्व सुम्पने कुरालाई अस्वीकार गर्दै उनीसँग पर्याप्त आन्तरिक समर्थन नरहेको तर्क गरेका छन् ।