
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार युक्रेन युद्धमा जारी गतिरोधका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दोष दिएका छन् ।
उनले झण्डै चार वर्षदेखि जारी र दशौं हजार मानिसको ज्यान लिएको यो द्वन्द्व समाधानका लागि जेलेन्स्की नै मुख्य बाधक भएको बताए ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्की दुवैको बारम्बार आलोचना गर्दै आएका ट्रम्प कहिले किएभको समर्थन त कहिले मस्कोप्रति सहानुभूति जनाउने काम गरिरहन्छन् । त्यसले युद्धका सुरुवाती वर्षहरूमा जस्तै अमेरिका अब निश्चित सहयोगी नरहेको संकेत गरेको छ ।
ओभल अफिसमा रोयटर्ससँग कुरा गर्दै ट्रम्पले पुटिन सम्झौता गर्न तयार रहेको बताए र शान्ति सम्झौतामा ढिलाइ हुनुको ठ्याक्कै कारणबारे सोधिएको प्रश्नमा उनले केवल जेलेन्स्की भने । ‘हामीले राष्ट्रपति जेलेन्स्कीलाई यसमा सहमत गराउनुपर्छ,’ उनले थपे ।
गुप्तचर सूचना आदानप्रदान मार्फत युक्रेनको रक्षाका लागि अमेरिकी सुरक्षा ग्यारेन्टीको विचारलाई समर्थन गर्नुहुन्छ भनी सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘हामीले केही गर्न सक्यौं भने मद्दत गर्नेछौं । युक्रेन र रुसका गरी महिनामा ३० हजार सैनिकहरू मारिँदैछन् । अब युरोपले हामीलाई यसमा मद्दत गर्नेछ ।’
ट्रम्पको भर्खरैको टिप्पणीले युक्रेनी नेताप्रति उनको नयाँ आक्रोशको संकेत गरेको छ । यी दुई राष्ट्रपतिबीच लामो समयदेखि अस्थिर सम्बन्ध रहेको छ यद्यपि ट्रम्प सत्तामा फर्किएको पहिलो वर्षमा उनीहरूबीचको कुराकानीमा सुधार आएको देखिन्थ्यो ।
आफ्नो निराशाका बीच ट्रम्प कहिलेकाहीँ शान्तिका लागि पुटिनको आश्वासन स्वीकार गर्न बढी इच्छुक देखिएका छन् । यसले युक्रेन, युरोपेली देश र केही रिपब्लिकनहरू लगायत अमेरिकी सांसदहरूलाई रुष्ट बनाएको छ ।
बारम्बारका अवरोधपछि अमेरिकाको नेतृत्वमा भइरहेका वार्ताहरू अब युद्धपछिको युक्रेनका लागि सुरक्षा ग्यारेन्टीमा केन्द्रित भएका छन् । सम्भावित शान्ति सम्झौतापछि रुसले फेरि आक्रमण नगरोस् भन्ने सुनिश्चितता खोजिएको छ । तर, अमेरिकी वार्ताकारहरूले रुससँगको कुनै पनि सम्झौताको हिस्साका रूपमा युक्रेनलाई आफ्नो पूर्वी डोनबास क्षेत्र छोड्न दबाब दिएका छन् जुन युक्रेनका लागि अस्वीकार्य शर्त हो ।
जेलेन्स्कीले मस्कोलाई कुनै पनि भूभाग सुम्पिने कुरालाई सार्वजनिक रूपमा अस्वीकार गरेका छन् । उनले देशको संविधान अनुसार किएभलाई कुनै पनि जमिन त्याग्ने अधिकार नभएको बताएका छन् । गत साता उनले किएभका लागि अमेरिकी सुरक्षा ग्यारेन्टीको रूपरेखा समेटिएको मस्यौदा योजना ट्रम्पको स्वीकृतिका लागि पेश गर्न लगभग तयार रहेको बताएका थिए ।
हालैका वार्तामा युक्रेनी अधिकारीहरू गहिरो रूपमा संलग्न छन् जसको नेतृत्व अमेरिकाका तर्फबाट विशेषदूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरले गरिरहेका छन् । ब्लुमबर्गका अनुसार, यी दुईजना पुटिनलाई भेट्न मस्को जाने तयारीमा छन् ।
पुटिनले रुसको सैन्य आक्रमणमा कडा अडान कायम राखेका छन् र आफ्नो सेनालाई युक्रेनको जापोरिजा क्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्ने प्रयास जारी राख्न आग्रह गरेका छन् । क्रेमलिनले किएभको नियन्त्रणमा रहेका पूर्वी युक्रेनका बाँकी भागहरूबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने आफ्नो मागलाई पनि दोहोर्याएको छ ।








प्रतिक्रिया