गगन, विश्वप्रकाश र फरमुल्लाको नाम कांग्रेसको वेबसाइटबाट हटाइयो

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापासहित तीन नेताको नाम र तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ ।

बिहीबार बिहानै कांग्रेसको वेबसाइटबाट थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरको नाम तथा तस्बिर हटाइएको हो

यसअघि पार्टीको वेबसाइटमा उपसभापतिको तल महामन्त्रीका रूपमा गगन थापा र विश्वप्रकाश शर्माको नाम राखिएको थियो । त्यस्तै, आठ जना सहमहामन्त्रीको सूचीको सुरुवातमै फरमुल्लाह मन्सुरको नाम थियो । अहिले भने तीनै जनाको नाम र तस्बिर हटाइएर महामन्त्री र सहमहामन्त्रीको स्थान खाली राखिएको छ ।

भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा उपसभापति र फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका थिए । त्यसअघि १४औं महाधिवेशनबाट गगन थापा महामन्त्री निर्वाचित भएका थिए ।

तर, बुधबार बसेको संस्थापन पक्षको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तत्कालीन महामन्त्री गगन थापासहित विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

संस्थापन कांग्रेसले उनीहरूमाथि कारबाही गरेपछि विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको थियो । त्यसको भोलिपल्टै पार्टीको आधिकारिक वेबसाइटबाट तीनै नेताको नाम र तस्बिर हटाइएको हो ।