अमेरिकाले आधिकारिक रूपमा भेनेजुएलाको तेल बेच्न थाल्यो


एजेन्सी । अमेरिकाले ५० करोड डलर बराबरको भेनेजुएलाली तेलको पहिलो बिक्री सम्पन्न गरेको सीएनएनले एक प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ ।

ती अधिकारीले आगामी दिन र हप्ताहरूमा तेलको थप बिक्री हुने अपेक्षा गरिएको पनि बताए ।

यसै महिनाको आरम्भमा अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेदेखि राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त देशको विशाल तेल भण्डार उपयोग गर्ने आफ्नो योजना स्पष्ट पारेका छन् ।

ट्रम्पले शुक्रबार तेल उद्योगले भेनेजुएलाको जर्जर ऊर्जा क्षेत्रको पुनर्निर्माणका लागि कम्तीमा १०० अर्ब डलर लगानी गर्ने बताएका थिए । तर, यो तथ्यांक कहाँबाट आयो भन्ने कुरा स्पष्ट छैन ।

भेनेजुएलाको तेलबाट फाइदा लिने प्रशासनको योजनाप्रति शुक्रबार ह्वाइट हाउसमा अमेरिकी उर्जा क्षेत्रका कार्यकारीहरूले आशंका व्यक्त गरेका थिए ।

‘भेनेजुएलाको ऊर्जा क्षेत्र लगानीयोग्य छैन,’ भेनेजुएलामा व्यापार गर्दा आइपर्ने बाधाहरूबारे छलफल गर्ने क्रममा एक्सनमोबिलका सीईओ डेरेन वुड्सले अधिकारीहरूलाई बताए, ‘हामीले लगानीबाट कस्तो प्रतिफल पाउँछौं भन्ने कुरा बुझ्नका लागि मात्रै पनि धेरै कानूनी र व्यावसायिक ढाँचाहरू स्थापना गर्नुपर्ने हुन्छ ।’

अन्य धेरै कार्यकारीहरूले पनि यो संकटग्रस्त दक्षिण अमेरिकी देशमा व्यापार गर्न अनिच्छा व्यक्त गरेका छन् । शुक्रबार ह्वाइट हाउसमा भएको लामो बैठकपछि ट्रम्प र उनका प्रमुख सल्लाहकारहरू उक्त देशमा अर्बौं डलर लगानी गर्ने सम्बन्धमा कम्पनीहरूबाट कुनै ठूलो प्रतिबद्धता बिना नै बाहिरिएका थिए ।

बुधबार तेलको पहिलो बिक्रीको विवरण स्पष्ट थिएन । तर, ह्वाइट हाउसकी प्रवक्ता टेलर रोजर्सले एक विज्ञप्तिमा बताएअनुसार, राष्ट्रपति ट्रम्पको टोलीले भेनेजुएलाको तेल पूर्वाधार पुनःस्थापनाका लागि अभूतपूर्व लगानी गर्न इच्छुक र तयार रहेका तेल कम्पनीहरूसँग सकारात्मक र निरन्तर छलफलको सहजीकरण गरिरहेको छ ।’

बुधबार रोयटर्सले रिपोर्ट गरेअनुसार, क्यानडा जस्ता अन्य देशका प्रतिस्पर्धी तेलको तुलनामा भेनेजुएलाको कच्चा तेल व्यापारीहरूलाई छुटमा प्रस्ताव गरिएको थियो ।