
काठमाडौं । होटल संघ नेपाल (हान) ले आफ्नो स्थापनाको ६०औं वर्षगाँठलाई ‘राष्ट्रिय आतिथ्य महोत्सव’ का रूपमा भव्यताका साथ मनाउने भएको छ ।
आगामी २०८२ माघ २ र ३ गते काठमाडौंमा आयोजना हुने यस विशेष समारोहमा नेपालको पर्यटन र आतिथ्य उद्योगको ६० वर्षको प्रगतिको समीक्षा गरिने संघले जनाएको छ ।
महोत्सवको मुख्य आकर्षणका रूपमा ‘नेपाल होटल एक्स्पो २०२६’ र ‘नेपाली रैथाने खाना महोत्सव’ रहनेछन् । कार्यक्रममा सातै प्रदेशका ६० थरिका मौलिक नेपाली खानाका परिकारहरूको प्रदर्शनी तथा सत्कार गरिनेछ ।
यसै अवसरमा मुलुकको खाना संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले सातै प्रदेशका परिकारहरू समेटिएको पुस्तक ‘नेपाल हेरिटेज कुक बुक: लिभिङ फ्लेभर्स’ र पर्यटन क्षेत्रको तथ्याङ्क समेटिएको ‘नेपाल होटल इयरबुक २०२६’ विमोचन गरिने कार्यक्रम छ ।
हानका अनुसार महोत्सवले विशेष गरी नयाँ पुस्ता (जेनजी) को उदयपछि पर्यटन क्षेत्रमा देखिएका परिवर्तन, सम्भावना र चुनौतीहरूमाथि घनीभूत छलफल गर्नेछ ।
‘टेक-पावर्ड हस्पिटालिटी’ (प्रविधियुक्त आतिथ्य) थिममा आयोजना हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । जसमा होटल उद्योगमा अटोमेसन, एआईको प्रयोग र प्रकृतिमैत्री व्यवसाय सञ्चालनका असल अभ्यासहरूबारे जानकारी दिइनेछ ।
महोत्सवबारे जानकारी दिँदै संघले भनेको छ, “यो उत्सव ६० वर्षको इतिहासको खुसीयाली मात्र नभई, नेपाली आतिथ्यलाई विश्वबजारमा फरक ब्रान्डका रूपमा स्थापित गर्ने रणनीति तय गर्ने अवसर पनि हो ।”
पछिल्लो समय नेपालमा अन्तर्राष्ट्रिय चेन होटल र स्वदेशी ब्रान्डहरूको विस्तारले पर्यटनमा नयाँ उत्साह थपेको भन्दै संघले यस कार्यक्रममार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र सातै प्रदेशमा पर्यटनलाई चलायमान बनाउने लक्ष्य राखेको छ । संघले सन् २०२६ भरि नै सातै प्रदेशमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गर्ने योजना समेत सार्वजनिक गरेको छ ।








प्रतिक्रिया