
काठमाडौं । नेपाली कांग्रेसमा जारी विशेष महाधिवेशन र नेतृत्व विवादका बीच सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको वार्ता आंशिक रूपमा सकारात्मक भए पनि ठोस निष्कर्षमा भने पुग्न सकेन ।
बुधबार बिहान देउवा निवास महाराजगञ्जमा करिब एक घन्टा चलेको छलफलमा प्रत्यक्षतर्फको संसदीय निर्वाचनमा उम्मेदवारको टिकट दर्ताका क्रममा सभापतिबाहेक अन्य नेताको हस्ताक्षर गराउने विषय मुख्य बिन्दु बनेको थियो । सभापति देउवाले कानुन र निर्वाचन आयोगले मिल्ने ठाने प्रत्यक्ष निर्वाचनमा अर्कै नेताले हस्ताक्षर गर्ने व्यवस्था गर्न आफू तयार रहेको बताएका छन् ।
‘माघ ११ गतेको राष्ट्रियसभा निर्वाचन र फागुन २१ गतेको प्रतिनिधिसभा समानुपातिक बन्दसूचीमा मेरो हस्ताक्षर भयो। अब प्रत्यक्षतर्फ अर्कै साथीलाई हस्ताक्षर गर्ने अधिकार दिन मिल्छ कि मिल्दैन, कानुनी रूपमा हेरौँ, म तयार छु,’ देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सञ्चारकर्मीसँऊ भने ।
वार्तामा सहभागी नेता रमेश लेखकले संवाद सकारात्मक रहेको दाबी गर्दै भने, ‘महामन्त्रीहरुको बटमलाइन नै संसदीय चुनावको टिकटमा सभापतिबाहेक अरुको हस्ताक्षर हुनुपर्ने थियो। निर्वाचन आयोगले मान्छ भने म हस्ताक्षर छाड्न तयार छु भन्ने कुरा सभापतिले गर्नुभएको छ।’
यद्यपि, महामन्त्रीद्वयले अघि सारेको सभापति देउवाको राजीनामा वा सक्रिय भूमिकाबाट अलग हुनुपर्ने मागमा भने सहमति हुन सकेन । दुई महामन्त्रीले देउवाको राजीनामालाई आफ्नो ‘बटमलाइन’ बनाएका थिए भने देउवाले नेतृत्व हस्तान्तरण वैशाखमा हुने १५औँ महाधिवेशनबाटै हुने स्पष्ट पार्दै अहिले नै राजीनामाको कुरा नउठाउन आग्रह गरेका थिए ।
‘मैले सार्वजनिक रूपमै अब सभापतिको उम्मेदवार हुँदैन भनेको छु । विधान अनुसार पनि म फेरि सभापति बन्न पाउँदिनँ । वैशाख २८ देखि ३१ गतेसम्म हुने १५औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन हुन्छ,’ देउवाले भनेका थिए ।
राजीनामाको विषयमा सहमति नजुटेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो । त्यसपछि महामन्त्रीद्वय विशेष महाधिवेशन स्थल भृकुटीमण्डपतर्फ फर्किएका छन् र अब निर्वाचन प्रक्रिया अघि बढाउने संकेत दिएका छन् । उता संस्थापन पक्षका नेताहरू पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठकको तयारीमा जुटेका छन् ।
विशेष महाधिवेशनलाई लिएर संस्थापन, शेखर कोइराला समूह र विशेष महाधिवेशन पक्षबीच बनेको वार्ता समितिले पनि सहमति निकाल्न सकेको थिएन । त्यसपछि शीर्ष तहमा संवाद भएको भए पनि अन्तिम निर्णयमा पुग्न नसक्दा विवाद कायमै रहेको छ।
यद्यपि, दुवै पक्ष फेरि छलफलमा बस्न सकारात्मक देखिएका छन् । सभापति देउवाले निर्वाचन आयोगमा जाने बाहेक अन्य हस्ताक्षरमा आफ्नो रुचि नरहेको स्पष्ट पार्दै आयोगले माने प्रत्यक्ष निर्वाचनमा टिकट वितरण प्रक्रियाबाट आफू अलग रहने संकेत दिएका छन् ।
कांग्रेसभित्र जारी शक्ति संघर्ष र विशेष महाधिवेशनको प्रक्रिया अघि बढिरहँदा कांग्रेस फुटको नजिक पुगेको विश्लेषण नेताहरूले गरेका छन् । यद्दपि, पार्टीलाई एकतावद्ध बनाएर लैजान अन्तिम समयसम्म प्रयत्न गर्ने नेताहरूको भनाइ छ ।
विशेष महाधिवेनको हलमा उपस्थित प्रतिनिधिले भने नयाँ नेतृत्व चयन गरेर जानु पर्ने र देउवा लगायतलाई प्रतिस्थापन गरेर अघि बढ्नु पर्ने भन्दै नाराबाजी गर्दै आएका छन् ।








प्रतिक्रिया