सिन्धुलीमा नेपाल एसविआई बैंक लुटियो


काठमाडौं । सिन्धुलीमा नेपाल एसविआई बैंकको शाखा लुटिएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखामा मंगलबार साँझमा नकाबधारी समूहले लुटपाट गरेको हो ।

नकाब लगाएर आएको ६-७ जनाको एउटा समूहले बैंकका सुरक्षा गार्डमाथि प्रहार गरी र कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो साँझ ७ बजेतिरको घटना हो ।

लुटेरा समूहले बैंकमा कार्यरत सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरेका छन् भने अन्य कर्मचारीहरूको हात बाँधेर बैंकभित्रको रकम लुटेका हुन् । लुटेरालाई प्रतिवाद गर्न खोज्ने सुरक्षा गार्डको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

साँझ ७:३० बजेको समयमा बैंकमा लुटपाट गरिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए । गार्डलाई कुटपिट गरेर बैंकबाट नगद लुटिएको उनले बताए । ‘यति नै रकम लगेको भनेर भन्न नसकिने अवस्था छ । प्रहरी घटनास्थलतर्फ जाँदैछ,’ उनले भने ।

घ्याङलेख काभ्रेपलाञ्चोकसँग सीमा जोडिएको दुर्गम स्थानीय तह हो ।