
काठमाडौं । नेपालको वित्तीय प्रणालीमा शंकास्पद कारोबारको दरमा उल्लेख्य वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइ (एफआईयू) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले यस्तो तथ्य देखाएको हो ।
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा रहेको अवस्थामा शंकास्पद वित्तीय कारोबार बढ्दै जानु तर त्यसको अनुसन्धानमा उल्लेख्य प्रगति हुन नसक्नुले नेपाललाई ग्रे लिस्टबाट बाहिर आउन थप चुनौती थपिएको संकेत गरेको छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा शंकास्पद कारोबार र गतिविधि रिपोर्ट (एसटीआर/एसएआर) को सङ्ख्यामा ३०.३५ प्रतिशतले वृद्धि भई ९ हजार ५ सय ६५ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो सङ्ख्या ७ हजार ३ सय ३८ मात्र थियो । वित्तीय जानकारी इकाइको ‘गो एएमएल’ प्रणालीमार्फत प्राप्त भएका रिपोर्टहरूमध्ये गहन विश्लेषणपश्चात् ९ सय ४५ वटा वित्तीय सूचना प्रतिवेदनहरू थप अनुसन्धान र अभियोजनका लागि नेपाल प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका कानुन कार्यान्वयन गर्ने निकायहरूमा पठाइएको प्रतिवेदनमा उल्लेख छ । कुल प्राप्त रिपोर्टहरूमध्ये २ हजार २ सय ८२ वटाको गहन विश्लेषण गरिएको थियो ।
शंकास्पद कारोबारमा भएको वृद्धिसँगै वित्तीय जानकारी इकाइले विश्लेषण गरी थप अनुसन्धानका लागि पठाएका फाइलहरूको सङ्ख्या पनि बढ्दै गएको देखिन्छ ।
आर्थिक वर्ष २०८०/८१ मा शंकास्पद कारोबारका १ हजार ६ सय ३५ फाइलहरूको गहन विश्लेषण गरी ८ सय ८९ वटा प्रतिवेदन थप अनुसन्धानका लागि पठाइएको थियो ।
यस्तै, तोकिएको सीमाभन्दा बढीको नगद कारोबार (टीआरआर) अन्तर्गत पनि २२ लाख ३६ हजारभन्दा बढी रिपोर्टहरू प्राप्त भएका छन् । यसले बजारमा ठूलो मात्राको नगद प्रवाह अझै कायम रहेको देखाउँछ ।
पछिल्लो समय नेपाल सम्पत्ति शुद्धीकरणको निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को ग्रे लिस्टमा परेको अवस्थामा वित्तीय जानकारी इकाइबाट भएका यी कारबाहीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सन् २०२५ फेब्रुअरीमा नेपाललाई ग्रे लिस्टमा राखिएपछि इकाइले यसबाट बाहिर निस्कन विशेष रणनीति अख्तियार गरेको छ ।
इकाइका निर्देशक बासुदेव भट्टराईले प्रतिवेदनमार्फत नेपाललाई यो सूचीबाट सफलतापूर्वक बाहिर निकाल्न तीनवटा मुख्य योजना सार्वजनिक गरेका छन् । जसमा जोखिममा आधारित दृष्टिकोणको प्रभावकारी कार्यान्वयन, अत्याधुनिक प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा सबै सरोकारवाला निकायहरूसँगको समन्वयलाई प्राथमिकता दिइएको छ ।
वित्तीय जानकारी इकाइले वित्तीय क्षेत्रमा प्रविधिको प्रयोगमा भएको सुधारलाई यस वर्षको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । इकाइले सञ्चालन गरेको ‘गो एएमएल’ प्रणालीमा आबद्ध हुने संस्थाहरूको सङ्ख्या ११३ प्रतिशतले बढेर ३ हजार ४ सय ९७ पुगेको छ । यस वर्ष प्राप्त सबै शंकास्पद कारोबारका रिपोर्टहरू शतप्रतिशत डिजिटल माध्यमबाटै प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । यसले गर्दा सूचनाको गोपनीयता र विश्लेषणको गतिमा उल्लेख्य सुधार आएको इकाइको दाबी छ ।
पछिल्लो समय बढेका वित्तीय अपराधका नयाँ प्रवृत्तिका सम्बन्धमा पनि इकाइले चासो देखाएको छ । विशेषगरी साइबर ठगी, हुन्डी र भर्चुअल एसेट अर्थात् क्रिप्टोकरेन्सीमार्फत हुने वित्तीय अपराधहरू बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।
हुन्डी कारोबारमा क्रिप्टोकरेन्सीको प्रयोग भइरहेको र पेमेन्ट गेटवेका खाताहरूलाई शंकास्पद रकम जम्मा गर्ने र व्यवस्थापन गर्ने माध्यमका रूपमा प्रयोग गरिएको पाइएको छ । यस्ता गतिविधि रोक्न इकाइले व्यापारमा आधारित सम्पत्ति शुद्धीकरण र कर छलीसँग सम्बन्धित रिपोर्टिङलाई अझ कडाइ गरेको जनाएको छ । गत आर्थिक वर्षमा व्यापारमा आधारित सम्पत्ति शुद्धीकरण समूहमा भएका शंकास्पद कारोबार उल्लेख्य बढेको देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा यस्तो कारोबारका २२ वटा मात्र रिपोर्ट प्राप्त भएकोमा २०८१/८२ मा बढेर ४३ पुगेको छ ।
वित्तीय अपराधको जालो अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएकाले इकाइले वैदेशिक सहकार्यलाई पनि तीव्रता दिएको छ । गत आर्थिक वर्ष नेपालले बहराइनको वित्तीय सूचना केन्द्रसँग द्विपक्षीय समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ, योसँगै यस्तो सम्झौता गर्ने देशको सङ्ख्या २० पुगेको छ । गत वर्ष वित्तीय जानकारी इकाइले अन्तर्राष्ट्रिय समकक्षीहरूसँग ६४ वटा सूचना आदानप्रदान गरी सीमापार वित्तीय जोखिम न्यूनीकरणमा काम गरेको उल्लेख छ ।
प्रतिवेदनले आगामी वर्षको कार्यदिशालाई प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ । अबका दिनमा ‘गो एएमएल’ प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ जस्ता अत्याधुनिक प्रविधि जडान गरी शंकास्पद कारोबारको विश्लेषणलाई थप प्रभावकारी बनाउने इकाइले जनाएको छ । वित्तीय प्रणालीको अखण्डता जोगाउन र अन्तर्राष्ट्रिय साख कायम राख्न रिपोर्टिङ गर्ने संस्थाहरूको गुणस्तर सुधार र नियामक निकायहरूबीचको एकता नै अबको मुख्य बाटो रहेको निर्देशक बासुदेव भट्टराईले बताए ।








प्रतिक्रिया