चीनको एआई कम्पनी चिपुको आईपीओ जारी भएपछि अध्यक्ष बने अर्बपति


एजेन्सी । चीनको एआई मोडल कम्पनी नलेज एटलास टेक्नोलोजी (जसलाई चिपु नामले बढी चिनिन्छ) का अध्यक्ष तथा सह–संस्थापक ल्यु तपिङले आफ्नो कम्पनीलाई हङकङको सेयर बजारमा सूचीकृत भएसँगै अर्बपति बनेका छन् ।

चिपुलाई च्याटजीपीटीको माउ संस्था ओपनएआईको प्रमुख प्रतिद्वन्द्वी मानिन्छ ।

४९ वर्षीय ल्युको चिपुमा रहेको हिस्साको आधारमा उनको कुल सम्पत्ति २.१ अर्ब डलर पुगेको फोर्ब्सले अनुमान गरेको छ ।

उनले सन् २०१९ मा प्रमुख कार्यकारी चाङ पङसँग मिलेर यो कम्पनी स्थापना गरेका थिए । विवरणपत्र अनुसार, कम्पनीले आफ्नो आईपीओमा ३ करोड ७४ लाख सेयर बिक्री गरेर ५५ करोड ८० लाख डलर संकलन गरेको छ ।

यसका प्रारम्भिक लगानीकर्ताहरूमा अलिबाबा, टेन्सेन्ट, हिलहाउस, किमिङ भेन्चर पार्टनर्स र चिनियाँ सरकारी कोषहरू रहेका छन् ।

हाल करिब ७.५ अर्ब डलर मूल्य बराबरको यस कम्पनीले संकलित रकमको अधिकांश हिस्सा अनुसन्धान र विकास कार्यमा खर्च गर्ने योजना बनाएको विवरणपत्रले देखाउँछ । सेयर बजारमा मन्द सुरुवात भए पनि दिनको अन्त्यमा यसको सेयर मूल्य १३.२ प्रतिशतले वृद्धि भयो । बिहानी सत्रमा त सेयरको भाउ आईपीओ मूल्यभन्दा पनि थोरै तल झरेको थियो ।

च्याटजीपीटी जस्तै सेवा ‘जेड डट् एआई’ सञ्चालन गर्ने चिपुले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

सार्वजनिक सेयर निष्काशन गर्ने चीनको पहिलो ठूलो जेनेरेटिभ एआई स्टार्टअपको रूपमा यसको सूचीकरण निकै प्रतीक्षित थियो । तर, यो कतिपयले आशा गरे जस्तो आकर्षक भने भएन ।

‘मूर थ्रेड्स’, ‘मेटाएक्स इन्टिग्रेटेड सर्किट्स’ वा ‘शाङ्हाई बिरेन टेक्नोलोजी’ जस्ता चिनियाँ एआई चिप कम्पनीहरूले सुरुमा प्राप्त गरेको भारी बढोत्तरीको तुलनामा चिपुको प्रदर्शन कमजोर देखियो । अर्को चिनियाँ एआई मोडेल कम्पनी मिनीम्याक्स पनि शुक्रबार हङकङ स्टक एक्सचेन्जमा सूचीकृत हुँदैछ ।

बेइजिङले रणनीतिक महत्त्वको मानेका क्षेत्रहरूमा यी सबै कम्पनीहरूले काम गर्छन् । यिनीहरूको आईपीओमा हजारौं गुणा बढी आवेदन पर्ने गरेको छ । यसले गर्दा हङकङ वा मुख्यभूमि चीनका बजारहरूमा सूचीकृत हुँदा सुरुमै सेयर मूल्यमा दोब्बर वा तेब्बर अंकको उछाल आउने गर्छ ।

स्टक एक्सचेन्जको विवरण अनुसार, चिपुको सेयर बिक्रीमा सर्वसाधारणतर्फको हिस्सामा १ हजार गुणाभन्दा बढी निवेदन परेको थियो । त्यसो भए सुरुवात किन तुलनात्मक रूपमा फितलो भयो त ?

एभरब्राइट सेक्युरिटीज इन्टरनेशनलका हङकङस्थित रणनीतिज्ञ केनी एनजीका अनुसार, एनभिडिया चिप्सको प्रयोगमा लगाइएको प्रतिबन्धका रिपोर्टहरू यसको एउटा कारण हो ।

पोहोर सालको अन्त्यमा ट्रम्प प्रशासनले उन्नत एआई चिप्सको निर्यातमा लगाएको लामो समयदेखिको प्रतिबन्ध हटाए पनि चिनियाँ अधिकारीहरूले स्थानीय प्रविधि कम्पनीहरूलाई एनभिडियाको एच२०० चिप्स अर्डर नगर्न निर्देशन दिएको बताइएको छ ।

अधिकारीहरूले केही कम्पनीहरूलाई निश्चित व्यापारिक प्रयोजनका लागि ती चिपहरू किन्न अनुमति दिन सक्ने भए पनि ब्लुमबर्ग न्यूजले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै उल्लेख गरे अनुसार यस्तो अंकुशले चिनियाँ कम्पनीहरूको गति सुस्त बनाउन सक्छ ।

सन् २०२५ को सुरुमा अमेरिकी सरकारको व्यापारिक कालोसूचीमा परेको चिपुले अर्बपति चन थ्याँशीको क्याम्ब्रिकन टेक्नोलोजी वा अर्बपति चाङ च्यानचोङको मुर थ्रेड्स जस्ता स्थानीय विकल्पहरूमा आधारित एआई मोडलहरू विकास गरेको छ ।

तर, विश्वव्यापी लक्ष्य राखेको यस कम्पनीले एच२०० चिप्सको अभावमा आफ्ना मोडलहरूलाई प्रभावकारी रूपमा तालिम दिन नसक्ने हो कि भन्ने चिन्ता लगानीकर्ताहरूमा देखिन्छ किनकि एआई मोडल तालिमका लागि ती चिप्स अझै पनि उत्कृष्ट मानिन्छन् ।

तर, चिपु तीव्र गतिमा विस्तार भइरहेको छ । यसले विश्वभरिका व्यक्तिगत डेभलपर, उद्यमी र सार्वजनिक क्षेत्रहरूलाई तर्क गर्न सक्ने तथा चित्र र भिडियो बनाउन सक्ने एआई मोडलहरू उपलब्ध गराउँछ ।

सन् २०२५ को पहिलो ६ महिनाको वित्तीय नतिजा अनुसार, यसको आम्दानी चार गुणाले बढेर २ करोड ७३ लाख डलर पुगेको छ । तर, अनुसन्धानमा भारी खर्च भएका कारण सोही अवधिमा यसको घाटा झण्डै दोब्बर भएर ३४ करोड ३० लाख डलर पुगेको छ ।

विवरणपत्र अनुसार, कम्पनीका झण्डै ९० प्रतिशत ग्राहकहरू मुख्यभूमि चीनका छन् । तर, यसले मलेसिया, सिंगापुर र अमेरिकाबाट पनि आम्दानी गरिरहेको छ । अध्यक्ष ल्यु कम्प्युटिङ प्रविधि क्षेत्रका अनुभवी व्यक्ति हुन् ।

उनले आफ्नै व्यवसाय सुरु गर्नुअघि करिब दुई दशकसम्म सूचना प्रविधि कम्पनी ‘टेक्नीकलर’ र राष्ट्रपति सी चिनपिङको मातृसंस्था चिङह्वा विश्वविद्यालयमा इन्जिनियरको रूपमा काम गरेका थिए । सह–संस्थापक चाङले पनि सन् २०२० सम्म चिङह्वामा एक दशकभन्दा बढी काम गरेका थिए यद्यपि विवरणपत्रमा उनको पद खुलाइएको छैन ।