कांग्रेस विशेष महाधिवेशन: सभापतिमा उम्मेदवारी दिन ३० हजार, अरु पदमा कति ?


काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनका लागि उम्मेदवारी मनोनयन दर्ता शुल्क निर्धारण गरिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै विभिन्न पदका लागि लाग्ने शुल्कको विवरण सार्वजनिक गरेको हो

निर्वाचन समितिका संयोजक सीताराम केसीद्वारा जारी सूचना अनुसार, ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका, २०८२’ को अनुसूची ७ मा व्यवस्था भए बमोजिम यो शुल्क तय गरिएको हो ।

कुन पदलाई कति शुल्क ?

निर्वाचन समितिले तोकेको दररेट अनुसार सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ तोकिएको छ।

यसैगरी, सहमहामन्त्री पदका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनेले १० हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका स्वीकृत गर्दै मतदानको समय निश्चित गरेको हो ।

सार्वजनिक कार्यतालिकाअनुसार नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि १ बजेसम्म मतदान हुनेछ। निर्वाचन प्रक्रिया भने आज दिउँसोदेखि नै सुरु भइसकेको छ ।

तालिकाअनुसार दिउँसो १२:३० बजे प्रथम मतदाता नामावली प्रकाशन गरिएको छ। दिउँसो १:३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध र छानबिनको समय तोकिएको थियो भने अपराह्न २ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी छ ।

निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय तोकेको छ। मनोनयन दर्तापछि उम्मेदवारहरूको पहिलो नामावली नेपाली वर्णानुक्रम (देवनागरिक लिपि) अनुसार प्रकाशन गरिनेछ ।

उम्मेदवारीमाथि दाबी–विरोध र त्यसको छानबिन साँझ ७ बजेसम्म सम्पन्न गरी राति ८:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने सूचनामा उल्लेख छ। अन्तिम नामावली प्रकाशन भएलगत्तै राति ९ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ।

निर्वाचन समितिले मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाएसँगै संस्थापन र इतर पक्षका नेताहरू आ–आफ्नो रणनीति बनाउन र आन्तरिक छलफलमा तीव्र रूपमा सक्रिय भएका छन्।