
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्रका सबै मतभेदहरू संवादबाट टुंग्याउनुपर्ने बताएका छन् ।
विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीका समस्याहरू संवादमार्फत टुंग्याइदनुपर्ने बताएका हुन् ।
उनले कांग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको उल्लेख गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रीय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभाव अस्वीकार गर्नेहरूका कारण आजको परिस्थिति सिर्जना भएको बताए ।
उनले वर्तमान विषम परिस्थितिमा कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने बताए ।
नेतृत्व हस्तान्तरणका लागि तयार रहन सभापति शेरबहादुर देउवालाई आग्रह गरे ।
विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
‘नेपाली कांग्रेस एउटा गम्भीर संकटको मोडमा छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रिय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभावलाई लतारेर केही पदाधिकारी र केन्द्रिय कमिटीका मानिसबाट जनताको चाहना, नागरिकको चाहना, नेता, कार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशन नबोलाएपछि यो अवस्था सिर्जना भयो । वर्तमान विषम परिस्थितिमा कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्छ । नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्छ । विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्छ । पार्टीभित्रका सबै मतभेदहरू संवादबाट टुंग्याइनुपर्छ । सहमति भाँड्ने उश्रृंखल गतिविधिले पार्टीलाई कमजोर बनाउँछ ।’
उनले एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुरा अस्वीकार्य रहेको छ । कांग्रेस संकटमा परे देश संकटमा पर्ने भएकाले उच्च जिम्मेवारीका साथ अघि बढ्न सबै नेताहरूलाई आग्रह गरे ।
विवाद समाधानका लागि वार्ता समिति बनेकाले मंगलवार बेलुकासम्म वार्ता निष्कर्षमा पुर्याउन आग्रह गरे ।








प्रतिक्रिया