
काठमाडौं । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिन भृकुटीमण्डपमा बन्द सत्र सुरु भएको छ ।
विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिका सदस्यहरूमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।
सोमबार पारित कार्यविधि अनुसार निर्वाचनसम्बन्धी निर्देशिका तय गरी नेतृत्व चयन प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी यस समितिलाई दिइएको छ।
बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि नौवटा समूह बनाएर छलफल भइरहेको छ ।
मंगलबार ती समूहका टोली नेताहरूले आफ्नो निष्कर्ष हलमा प्रस्तुत गर्नेछन्, जसलगत्तै नेतृत्व चयनको थप प्रक्रिया अघि बढ्नेछ ।
एकतर्फ विशेष महाधिवेशन चलिरहँदा अर्कोतर्फ संस्थापन पक्षले मंगलबार दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । तर, विशेष महाधिवेशन पक्षधर नेताहरूले उक्त बैठकमा सहभागी नहुने घोषणा गरेका छन् ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार विशेष महाधिवेशनको बन्द सत्रमा वर्तमान केन्द्रीय समिति भंग गर्ने प्रस्तावसमेत पेस भएको र कार्यविधि पारित भइसकेको अवस्थामा आफूहरू संस्थापनको बैठकमा नजाने अडानमा छन् ।
मंगलबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग दुवै पक्षबीच संवादको तयारी गरिएको छ ।
सभापति शेरबहादुर देउवाले सक्रिय राजनीति छाडेर अभिभावकीय भूमिकामा बस्नुपर्ने। निर्वाचनमा उम्मेदवारलाई दिइने टिकटमा सभापति देउवाको नभई कार्यवाहक सभापतिको हस्ताक्षर चल्नुपर्ने। पार्टीमा रूपान्तरण र पुस्तान्तरण सुनिश्चित गर्न सभापति देउवाले यसपटक चुनाव लड्न नहुने, संस्थापन पक्षले यस महाधिवेशनलाई केवल ‘भेला’ नभनी औपचारिक रूपमा स्वीकार गर्नुपर्ने र यसका निर्णयहरूलाई पार्टीको सम्पत्तिका रूपमा कार्यान्वयन गर्नुपर्ने लगायत महाधिवेशन पक्षधरको बटमलाइन छ ।








प्रतिक्रिया