
काठमाडौं । सरकारले आगामी माघ २ गते देशभर २८औँ भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरेको छ।
‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ भूकम्प सुरक्षा दिवस देशव्यापी रूपमा मनाइने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।
विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक इ.रविन्द्र बोहराले काठमाडौं महानगरपालिकास्थित खुलामञ्चमा मूल समारोह आयोजना गरिने जानकारी दिए।
उनकाअनुसार दिवसका दिन वसन्तपुरबाट सुरु हुने भूकम्प सुरक्षा र्याली आकाशभैरव, इन्द्रचोक र असन हुँदै खुलामञ्च पुग्नेछ।
र्याली पछि प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम आयोजना हुनेछ । सोही स्थानमा दुई दिने भूकम्प सुरक्षा प्रदर्शनी पनि सञ्चालन गरिनेछ।
प्रदर्शनीमा विपद् जोखिम न्यूनीकरण क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूको सहभागिता रहने छ।
भूकम्प सुरक्षा दिवसकाअवसरमा देशभर प्रदेश, जिल्ला र स्थानीय तहमा गोष्ठी, अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम, र्याली, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक तथा अडियो भिडियो सामग्रीमार्फत व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि सबै सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन जारी भइसकेको विभागले जनाएको छ।
महानिर्देशक बोहराले भूकम्पका बेला जनधनको ठूलो क्षति कमजोर घर तथा संरचना भत्किँदा हुने भएकाले सुरक्षित भवन निर्माण नै सबैभन्दा प्रभावकारी पूर्वतयारी भएको बताए।
‘यसका लागि राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ। नयाँ निर्माण तथा पुराना घरको प्रबलीकरण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनिवार्य लागू गर्नुपर्छ,’ उनले भने।
विभागका अनुसार भवन संहिता कार्यान्वयन, प्राविधिक तालिम, अनुगमन तथा अनुसन्धानलाई तीव्र बनाइएको छ । काठमाडौँ उपत्यकाका सात स्थानीय तहमा ‘बिल्डिङ स्ट्रक्चर वर्कफ्लो’ पाइलट परीक्षण सफल भएपछि देशभर नक्सा पास प्रणालीलाई एकीकृत रूपमा लागू गर्ने तयारी भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प तथा अन्य विपद्बाट प्रभावित परिवारलाई सुरक्षित आवासका लागि अनुदान र प्राविधिक सहयोग प्रदान गर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ।
साथै, आपतकालीन सामग्री भण्डारण, खोज तथा उद्धार तयारी, पुनर्निर्माण तथा पुनस्थापनासम्बन्धी कार्यहरू पनि निरन्तर अघि बढाइँदै आएको विभागले जनाएको छ।
सरकारले भूकम्प जोखिम न्यूनीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउँदै सुरक्षित निर्माण, पूर्वतयारी, प्रतिकार्य र पुनस्थापनालाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित भूकम्प सुरक्षा दिवस मनाउन लागिएको जनाएको छ।








प्रतिक्रिया