
काठमाडौं । स्यानिटरी प्याड र डाइपर उत्पादन गर्ने जस्मिन हाइजिन प्रोडक्ट्सको व्यापार १३ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १३ प्रतिशतले घटेको हो ।
सन् २०२४ मा कम्पनीको व्यापार रिबाउन्ड हुँदै गएको थियो । सन् २०२४ मा ७७ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको व्यापार गत आर्थिक वर्षमा घटेर ६६ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले सन् २०२३ मा ५९ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले चालु आवको ५ महिनाको अवधिमा ३८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवमा ०.४७ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.५९ प्रतिशत खुद नाफा कमाएको थियो । कम्पनीको ४ करोड ४० लाख रुपैयाँ वित्तीय लागत रहेको रेटिङमा उल्लेख छ ।
सन् २००४ मा स्थापना भएको कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीको रूपमा परिणत भएको थियो । विराटनगरमा उद्योग रहेको कम्पनीले वार्षिक ५ करोड पिस स्यानिटरी प्याड, ४ करोड ५० लाख पिस डाइपर र ६० लाख मास्क उत्पादन गर्दै आएको छ ।
कम्पनीअनुसार नेपालमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डसँग उच्च प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । स्यानिटरी प्याडमा अन्तर्राष्ट्रिय ब्रान्ड स्टे फ्रि, ह्वीस्पर र डाइपरमा प्याम्पर, म्यामी पोको पेन्ट्स, हगिससँग उच्च प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । जसले गर्दा नेपाली उद्योगीहरूका लागि मूल्य र व्यापारमा निकै प्रभाव पर्ने रेटिङमा उल्लेख छ ।
शारडा ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५७ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० करोड रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया