
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको बन्दसत्र अघि आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
दिउँसो ३ बजे देउवा निवास महाराजगञ्जमा छलफल राखिएको केन्द्रीय सदस्यहरूले जानकारी दिएका छन् । यसअघि देउवाले कानुनी पृष्ठभूमि भएका आफू निकट नेता तथा कानुन व्यवसायीसँग पनि परामर्श गरेका थिए।
देउवाको असहमतिकाबीच भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । अपेक्षाभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी भएपछि नेतृत्व चयनको विकल्पसम्म अघि बढेको देखिएको छ ।
नेतृत्व चयनमा समेत विशेष महाधिवेशन अघि बढ्ने भएपछि देउवा निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरू भेला भएका छन् र देउवाले उनीहरूलाई पार्टी एकताका लागि पहल गर्न निर्देशन दिएका छन्।
त्यसअनुसार देउवा निवासबाट विशेष महाधिवेशनमा सहभागी भएका आफू पक्षका केन्द्रीय सदस्यहरूलाई फोन गरेर फर्किन आग्रह भइरहेको छ । तर महाधिवेशनमा सहभागी भइसकेका केही नेताले बिचमै छाडेर आउन नसक्ने जानकारी गराएका छन्।
यसअघि पार्टी विभाजन रोक्न पहल गर्दै आएका करिब ३ दर्जन केन्द्रीय सदस्यले देउवा, शेखर कोइराला लगायतलाई भेटेर समस्या समाधानका लागि अनुरोध गरेका थिए । तर आफूहरूलाई बेवास्ता गरिएको भन्दै उनीहरू अन्तिम समयमा विशेष महाधिवेशनमा सहभागी भएका थिए ।
अहिले भृकुटीमण्डपमा बन्दसत्र जारी रहेको छ । बन्दसत्रमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले साङ्गठनिक तथा समसामयिक प्रतिवेदन पेस गरिसकेका छन् । समूहगत छलफलपछि वर्तमान समिति भंग गरी नयाँ नेतृत्व चयन गर्ने कार्यविधिअनुसार प्रक्रिया अघि बढाउने तयारी छ ।
प्रतिवेदन पेस गर्दै महामन्त्री गगन थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने दाबी गरेका छन् ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै विधान अनुसार आफूहरूले आह्वान गरेको भन्दै वैधानिक नै रहेको बताए।
‘नेपालको संविधान छ, जुन संविधानमा राजनीतिक दल सम्बन्धी व्यवस्था गरिएको छ। त्यो मध्येको एउटा संविधान भनेको हाम्रो संविधान पनि हो। त्यसैले संविधान भन्दा माथि केही पनि छैन। त्यो संविधानको व्यवस्थामा राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था छ। त्यसको आधारमा हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित भएको विधान हो,’ उनले भने ।
विशेष महाधिवेशनबारे कसैले कानुनी प्रश्न उठाउन नसक्ने उनको भनाइ छ ।
‘आज यो विषयको बारेमा कसैले कानुनी प्रश्न उठायो भने नेपालको संविधानको आधारमा नेपालको निर्वाचन आयोगले हाम्रो विशेष अधिवेशनलाई अवैधानिक भन्न सक्दै सक्दैन। ढुक्क भएर बस्नुस्, सक्दैन। त्यसको आधार के छ भनेर मैले खुलाएको छु,’ उनले भनेका छन् ।








प्रतिक्रिया