
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन सभापति शेरबहादुर देउवालाई पुनः आग्रह गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै महामन्त्री थापाले विधानसम्मत ढंगले आयोजना गरिएको यो महाधिवेशन पार्टीकै आधिकारिक कार्यक्रम भएको उल्लेख गर्दै सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत शीर्ष नेताहरूलाई महाधिवेशनमा सहभागी हुन पुनः अनुरोध गरे।
‘यो कुनै अलग कार्यक्रम होइन, पार्टीको विधानअनुसार भएको कार्यक्रम हो। बन्दसत्रबाट पनि हामी पार्टीका सभापतिजी र कार्यवाहक सभापतिजीलाई सहभागी हुन आग्रह गरिरहेका छौँ,’ थापाले भने । उनले उद्घाटन सत्रमा पनि सभापति देउवालाई सहभागी हुन अपिल गरेका थिए।
महाधिवेशनमा देशभरका नेता तथा कार्यकर्ताहरू सहभागी हुन चाहेको भए पनि स्थानीय नेताहरूसँग डराएर खुला रूपमा आउन नसकेको गुनासो थापाले गरे । ‘धेरै साथीहरूले बाहिर–भित्रबाट सम्पर्क गरिरहेका छन्। आउन चाहनु हुन्छ तर जिल्लाका नेताहरूसँग डराउनु भएको छ,’ उनले भने । साथै, आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनलाई कसैले पनि अवैधानिक ठहर्याउन नसक्ने दाबी समेत गरे।
यसैबीच, विशेष महाधिवेशनको दोस्रो दिन सोमबार समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले निर्वाचनपूर्व गठबन्धन गर्ने प्रचलन पूर्ण रूपमा अन्त्य गर्ने उद्घोष गरेका छन्। प्रतिवेदनमा पार्टीका आदर्श र सिद्धान्तलाई त्यागेर केवल सत्ता र शक्तिको स्वार्थमा केन्द्रित राजनीतिलाई नेपाली कांग्रेसले अस्वीकार गर्ने स्पष्ट उल्लेख छ।
‘चुनाव जित्नकै लागि जोसँग जहाँ र जहिले पनि गठबन्धन गर्ने प्रवृत्तिको अन्त्य गरिन्छ,’ प्रतिवेदनमा भनिएको छ। २०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित नीतिलाई स्मरण गर्दै प्रतिवेदनमा भविष्यमा हुने आवधिक निर्वाचनहरूमा नेपाली कांग्रेसले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने दृढ संकल्प दोहोर्याइएको छ।
महामन्त्री थापाले नेपाली कांग्रेस मूल्य, मान्यता र सिद्धान्तमा आधारित पार्टी भएको उल्लेख गर्दै कठिन परिस्थिति आए पनि लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र विधिको शासनमा कहिल्यै सम्झौता नगर्ने बताए। ‘हामी आफ्नै जनता र पार्टीको शक्तिको आधारमा एक्लै चुनाव लड्नेछौँ र मतदातालाई हाम्रो चुनाव चिह्न ‘रुख’ मा मात्र मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ,’ उनले भने।
कांग्रेस सभापति देउवा नेकपा एमालेसँग चुनावी गठबन्धनका लागि संवादमा रहेको चर्चा चलिरहेका बेला विशेष महाधिवेशनबाट निर्वाचनपूर्व गठबन्धन नगर्ने संकल्प आउनुले पार्टीभित्रको राजनीतिक बहस थप तीव्र बनाएको छ। नेपाली कांग्रेस अब जसरी पनि जित्ने होइन, सही बाटो हिँडेर जित्ने राजनीतिक यात्रामा अघि बढ्ने संकल्पका साथ अगाडि बढ्ने थापाको भनाइ छ।








प्रतिक्रिया