पाइप बेच्ने मंगलम इन्डष्ट्रिजले एकै वर्ष गर्‍यो १ अर्बको व्यापार, नाफा कति ?


काठमाडौं । मंगलम इन्डष्ट्रिजले गत आर्थिक वर्षमा १ अर्ब ८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२३ मा ९९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा १ अर्ब १४ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब १० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको व्यापार पछिल्लो दुई वर्षमा ४ प्रतिशतले बढेको पाइएको छ ।

कम्पनीको व्यापार बढे पनि नाफा भने घटेको छ । कम्पनीले सन् २०२३ मा २० करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो भने सन् २०२४ मा १७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, गत आर्थिक वर्षमा कम्पनीले १३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको कुल नगद सञ्चय पनि घटेको छ । कम्पनीको सन् २०२३ मा ७ करोड १० लाख रुपैयाँ र सन् २०२४ मा ६ करोड ९० लाख रुपैयाँ कुल नगद सञ्चय थियो । गत आवमा ५ करोड ३० लाख रुपैयाँ कुल नगद सञ्चय रहेको रेटिङमा उल्लेख छ ।

सन् २००९ मा स्थापना भएको यो कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले वार्षिक ७ हजार ९ सय ६२ मेट्रिक टन पोलिमर प्रशोधन गर्दै आएको छ ।

कम्पनीले पोलिमर उत्पादन गरी पाइपिङ सिस्टम र वाटर स्टोरेज सोलुसनका लागि आवश्यक सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादन गरेका सामग्री ‘मंगलम’ ब्रान्डमा बिक्री हुने गरेका छन् ।

कम्पनीमा तीन जनाको स्वामित्व छ । जसमा शशी चुरीवालको ५१.३५ प्रतिशत, अवसर इक्विटी डाइभर्सिफाइड फन्ड होल्डिङको २८.५७ प्रतिशत र शाइनी खेतान होल्डिङको १९.९८ प्रतिशत स्वामित्व छ ।

चुरीवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १४ करोड ४९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५२ करोड ४९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६२ करोड रुपैयाँको रेटिङ गराएको हो ।