देउवा विशेष महाधिवेशनको बन्दसत्रमा जान लागेका हुन्?


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहभागी हुन भृकुटीमण्डप नजाने भएका छन् । देउवा आज बन्दसत्रमा सहभागी हुन आउने भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । सचिवालयका अनुसार सभापति देउवा आज भृकुटीमण्डप जाने कुनै पनि कार्यक्रम छैन।

देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्तिमार्फत सभापति भृकुटीमण्डपमा आयोजना भएको विशेष महाधिवेशनको बन्दसत्रमा नजाने स्पष्ट पारेका हुन् ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह भएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं ।’

आइतबार भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनको उद्घाटन सत्रमा पनि सभापति देउवा सहभागी भएका थिएनन् । यद्यपि विशेष महाधिवेशनका पक्षधर नेताहरूले बन्दसत्रमा भए पनि सभापति देउवा उपस्थित भए कांग्रेसभित्र एकताको सन्देश जाने तर्क गरेका थिए । यही आशयका साथ महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले सक्रिय राजनीतिबाट बिदा हुने अवस्थामा विवादमा नपर्न आग्रह गर्दै सभापतिलाई बन्दसत्रमा आउन अनुरोध गरेका थिए ।

५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरे पनि कांग्रेस संस्थापन पक्षले यसलाई अस्वीकार गर्दै आएको छ । तर, आइतबार विशेष महाधिवेशनको पक्षमा ५६ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएपछि संस्थापनविरुद्ध बहुमत उभिएको छ । यसले विशेष महाधिवेशनबाटै नेतृत्व परिवर्तन गर्नुपर्ने दबाब बढेको छ ।

हालसम्म सभापति देउवाले यस विषयमा कुनै औपचारिक निर्णय लिइसकेका छैनन्। यद्यपि उनी निकट नेताहरूसँग निरन्तर संवादमा रहेको बताइएको छ ।

आज हुने बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

विशेष महाधिवेशनमा प्रतिनिधिले नाम दर्ता गर्ने क्रम आज बिहानैदेखि सुरु भएको छ । महाधिवेशनमा आइतबार मात्र दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएका थिए ।

आइतबार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)बाट १७८ र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १९५ जनाले नाम दर्ता गराएका थिए ।

कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले नाम दर्ता गराउनका लागि भिन्दाभिन्दै आठ स्टलको व्यवस्था गरेको थियो । विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले आज बिहान ८:३० बजेदेखि नै नाम दर्ता सुरु गरिएको जानकारी दिए ।

उनले हिजो दर्ता गर्न छुटेका प्रतिनिधिको सहजताका लागि आज नाम दर्तालाई निरन्तरता दिएको बताए । उक्त नाम दर्ता बिहान ११ बजेसम्म सञ्चालन हुने संयोजक पाण्डेयले बताए । कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आज बन्दसत्र हुनेछ ।

बिहान ८ बजेदेखि बन्दसत्र गर्ने कार्यक्रम रहे पनि प्राविधिक कारण बन्दसत्र कार्यक्रम केही समयलाई लम्बिएको आयोजकले जनाएको छ ।