हामी नयाँ ढंगले जाने मनोविज्ञान र मोडमा छौँ: विश्वप्रकाश


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई समुन्नतिको उचाइमा पुर्‍याउन कांग्रेस आफैं रूपान्तरण हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बदलिएको समय र परिस्थितिअनुसार पार्टीलाई परिवर्तन गर्न विशेष महाधिवेशनको मैदानमा उभिएको स्पष्ट पारे ।

महामन्त्री शर्माले कांग्रेसले विगतमा देशको समयलाई आफ्नो अनुकूल बदलेको स्मरण गराउँदै अहिले भने बदलिएको समयअनुसार कांग्रेस आफैं बदलिनुपर्ने अवस्था आएको बताए । उनले भने, ‘देशको समयलाई कुनैबेला कांग्रेसले आफूअनुकूल बदलेको थियो, आज बदलिएको समयअनुकूल कांग्रेसले आफूलाई बदल्नुपर्छ । त्यसकै लागि हामी विशेष महाधिवेशनको मैदानमा खडा भएका छौँ ।’

शर्माले कांग्रेस नयाँ ढंगले अघि बढ्ने मोडमा उभिएको उल्लेख गरे । बदलिएको मौसम र मनोविज्ञानअनुसार पार्टीलाई रूपान्तरण गर्दै नवीन संकल्प गर्नुपर्नेमा जोड दिँदै उनले असन्तुष्टि र निराशासँग जुधिरहेको देशलाई नयाँ आशा दिन कांग्रेस अग्रसर हुने बताए । ‘हामी नयाँ ढंगले जाने मनोविज्ञान र मोडमा छौँ, त्यसैले केही नवीन संकल्प गरौँ,’ उनले भने ।

उनले देशलाई सुशासनतर्फ लैजान कांग्रेसले स्पष्ट अठोट लिनुपर्ने बताउँदै आत्मालोचनासहित पार्टीलाई बदलेर जाने प्रतिबद्धता व्यक्त गरे । महाधिवेशन प्रतिनिधिले पनि रूपान्तरित कांग्रेस खोजिरहेको उल्लेख गर्दै शर्माले पार्टीभित्रका कमजोरीको जिम्मेवारी नेतृत्व तहमा रहेका व्यक्तिहरूले पनि लिनुपर्ने स्वीकार गरे ।

‘पार्टीभित्रको कमजोरीको हिस्सा ड्राइभिङ सिटको नजिक बसेका हामीले पनि लिन्छौँ,’ उनले भने, ‘बनेको परिस्थितिको सामना गर्न पुरानो मनस्थिति राखेर हुँदैन, बदलिनुपर्छ ।’ पुरानो बानी र सोच राखेर नयाँ देश निर्माण गर्न नसकिने उनको निष्कर्ष थियो ।