
काठमाडौं । विशाल ग्रुपको मैनावती स्टिल इन्डष्ट्रिजको व्यापार १३ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १३ प्रतिशतले घटेको हो ।
सन् २०२५ मा २ अर्ब ९८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा ३ अर्ब ४८ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा ६ अर्ब ३ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा ४ अर्ब २९ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले गत आवमा ६.६५ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा भने कम्पनीले १.६४ प्रतिशत खुद नाफा कमाएको थियो ।
सन् १९९५ मा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रूपमा परिणत भएको थियो । कम्पनीले विभिन्न प्रकारका पोल, स्टिल तथा स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता १ लाख १३ हजार ९ सय मेट्रिक टन स्टिलजन्य सामग्री रहेको छ ।
कम्पनीले विशेषगरी एमएस ब्ल्याक पाइप, एमएस सिट, ट्युबुलर/टेलिस्कोप पोल, जीआई पाइप, स्ट्रक्चर, एंगल्स, शटर प्रोफाइल, कोइल, सिट्स तथा विभिन्न तारजन्य सामग्री उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । यी सामग्रीहरू कम्पनीले एमएसआई ब्रान्डमार्फत बिक्री वितरण गर्दै आएको छ । कम्पनीले आन्तरिक बजारसँगै निर्यात पनि गर्दै आएको छ ।
त्रिलोकचन्द अग्रवाल अध्यक्ष रहेको कम्पनीमा उनको १७ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ६ अर्ब ५२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।








प्रतिक्रिया