
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामै भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) ४ खर्बभन्दा बढीले बचतमा पुगेको छ ।
आयातमा केही वृद्धि भए पनि निर्यातसँगै रेमिट्यान्स उच्च दरमा आएको र सूचना प्रविधि सेवा निर्यात पनि बढ्दै जाँदा भुक्तानी सन्तुलन बचत लगातार उच्च देखिएको छ ।
चालु आर्थिक वर्षको ५ महिना अर्थात् मंसिरसम्म नै शोधनान्तर बचत ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा थियो ।
शोधनान्तर स्थिति मात्रै नभएर चालु खाता बचत पनि साढे ३ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ । मंसिर मसान्तमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षको मंसिरसम्म चालु खाता १ खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १८ करोडले बचतमा रहेको चालु खाता यो वर्षको मंसिरसम्म २ अर्ब ५४ करोडले बचतमा छ ।
चालु आर्थिक वर्षको मंसिरसम्म खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड थियो । यस्तै मंसिरसम्म ७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६ अर्ब ३ करोड रहेको थियो ।








प्रतिक्रिया