३२ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, १८.२ महिनाको आयात धान्न पुग्ने

140
Shares

काठमाडौं । नेपालको विदेशी मुद्रा (विनिमय) सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिरसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको हो ।

गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५ महिनामै १९.६ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मंसिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ३ खर्ब ३५ अर्ब कायम भएको छ । २०८२ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत छ ।

आयातमा वृद्धि भए पनि लगातार उच्च रूपमा बढेको रेमिट्यान्सले विदेशी विनिमय सञ्चिति निरन्तर बढेको छ । जसले गर्दा सञ्चिति पर्याप्तता सूचक पनि लगातार बढेको छ ।

आर्थिक वर्ष २०८२/८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

२०८२ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५२.४ प्रतिशत, कुल आयातसँगको अनुपात १५४.९ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३९.४ प्रतिशत छ ।

२०८२ असार मसान्तमा कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४३.८ प्रतिशत, कुल आयातसँगको अनुपात १२८.१ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३४.१ प्रतिशत छ ।