
काठमाडौं । गत वर्षमा भारत सरकारले तेलमा लगाएको भन्सार दरका कारण नेपाली खानेतेल रिफाइनरी उद्योग मालामाल भएका छन् । भारत सरकारले सन् २०२४ को सेप्टेम्बरबाट लागू हुने गरी पाम, सोयाबिन र सूर्यमूखी तेल आयातमा लाग्दै आएको भन्सार शुल्क बढाएको थियो ।
भारत सरकारले कच्चा र प्रशोधित खाद्य तेलमा भन्सार दर २० प्रतिशतले बढाएको थियो ।
भारतले आयात गर्ने कच्चा खाने तेलमा लाग्ने कर २७.५ प्रतिशत बनाएको थियो भने प्रशोधित तेलमा भन्सार दर ३५.७५ प्रतिशत पुर्याएको थियो । त्यसअघि कच्चा पाम, सोयाबिन तथा सूर्यमूखी तेल आयात गर्दा ५.५ प्रतिशत र प्रशोधित खाने तेलमा १३.७५ प्रतिशत भन्सार लाग्दै आएको थियो ।
भारत सरकारले गत वर्ष भन्सार दर पनि नेपाली तेल उद्योगले लाभ लिनुको खास कारण छ।
भारतले लगाउने यो भन्सार दर विकासशील वा विकसित देशबाट आयात गर्दा लाग्छ । तर, नेपाल जस्तो अतिकम विकसित मुलुकले डब्लूटीओ र साफ्टाको खास सुविधा पाउँछन् । त्यसैले इन्डोनेसिया, थाइल्यान्ड लगायत देशबाट तेल आयात गर्नुको सट्टा नेपालजस्तो देशबाट आयात गर्नु त्यहाँका व्यवसायीलाई लाभदायक हुन्छ । नेपाल र भारत सीमा जोडिएको तथा व्यापार पनि सहज भएकाले यहाँबाट भारत तेल लैजानु सस्तो र सजिलो हुन्छ ।
नेपालका खानेतेल प्रशोधन गर्ने उद्योगले इन्डोनेसिया, थाइल्यान्ड लगायत देशबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गर्छन् । उनीले ३० प्रतिशतसम्म मूल्य अभिवृद्धि गरेर भारत निकासा गर्छन् । नेपाली तेलले भारतीय बजारमा भन्साररहित प्रवेश पाउने हुँदा यसको प्रत्यक्ष लाभ तेल उद्योगीहरुले लिएका हुन् ।
यसता भारत सरकारले गत वर्षमा बढाएको भन्सार दर अहिले भने आधा घटाएको छ । भन्सार दर घटाएसँगै आगामी दिनमा निर्यात प्रभावित हुने देखिएको छ । तर, गत आर्थिक वर्षमा भने नेपाली उद्योगीहरुले भारतीय सरकारले बढाएको भन्सार दरमा उच्च लाभ लिएको उद्योगहरुको व्यापारको तथ्यांकले स्पष्ट देखाउँछ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आवमा मात्रै करिब २ खर्ब रुपैयाँ बराबरको तेल निर्यात भएको छ ।
नेपालमा करिब २७ वटा तेल उद्योग छन् । त्यसमध्ये ८ वटा उद्योगको तथ्याङ्कले गत आवमा तेल उद्योगहरुले उच्च भारतमा तेल निर्यात गरेको देखाउँछ । गत आवमा उक्त ८ वटा उद्योगले आधा खर्बभन्दा बढी अर्थात् ५२ अर्ब ४७ करोड ४० लाख रुपैयाँको व्यापार गरेका छन् । कम्पनीहरुको व्यापार बढ्नुको मुख्य कारण नै भारत सरकारले बढाएको भन्सार दर रहेको जनाएको छ ।
कम्पनीहरुले गरेको रेटिङअनुसार गत आवमा अधिकांशको व्यापारमा निर्यातको हिस्सा उच्च रहेको उल्लेख छ । देशभर रहेका विभिन्न कम्पनीमध्ये नारायणी रिफाइनरी आयल उद्योगले १० अर्ब २१ करोड ४० लाख रुपैयाँ, सुशील वनस्पतिले ९ अर्ब ५२ करोड ६० लाख रुपैयाँ, गणपति वनस्पतिले ८ अर्ब २५ करोड ४० लाख रुपैयाँ, बाबा भेजिटेबल्स आयल इन्डस्ट्रिजले ५ अर्ब ९१ करोड ५० लाख रुपैयाँ, सिद्धिविनायक आयलले ५ अर्ब ९ करोड ७० लाख रुपैयाँ, बागमती आयल इन्डस्ट्रिजले ५ अर्ब ३ करोड ५० लाख रुपैयाँ, एबीसी आयल इन्डस्ट्रिजले ४ अर्ब ३५ करोड ९० लाख रुपैयाँ र कालिका रिफाइनरीले ४ अर्ब ७ करोड ४० लाख रुपैयाँको व्यापार गरेका छन् ।
कुन कम्पनीले कति गरे व्यापार ?
नारायणी रिफाइनरी आयल उद्योगः त्रिशक्तिसहित अन्य ६ वटा ब्रान्डको तेल बेच्ने नारायणी आयल रिफाइनरी उद्योग प्रालिले गत आवमा १० अर्ब २१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ४ अर्ब ५८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२३ मा ६ अर्ब ४१ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीअनुसार गत आवमा व्यापार रिबाउन्ड भएको उल्लेख छ । कम्पनीको व्यापार गत आवमा १२३ प्रतिशतले बढेको छ । जसमा कम्पनीको व्यापार बढ्नुमा भारतले भन्सारमा लिएको नीतिले जनाएको छ । कम्पनीले गत गरेको व्यापारमध्ये ६७ प्रतिशत आम्दानी निर्यातबाट भएको रेटिङमा उल्लेख छ । सन् २०२४ मा उक्त निर्यातको हिस्सा ४ प्रतिशत मात्रै थियो ।
कम्पनीको नाफा मार्जिन ५.२९ प्रतिशत खुद नाफा कमाएको छ । जबकी विगतका वर्षहरुमा कम्पनीले उच्च खुद घाटा व्यहोर्दै आएको थियो । साथै, कम्पनीको कुल सञ्चय नगद ५७ करोड ५० लाख रुपैयाँ रहेको जनाएको छ ।
सन् १९८९ मा स्थापना भएको उद्योगले विभिन्न प्रकारका तेल प्रशोधन गरी बजारमा बिक्रीवितरण गर्दै आएको छ । विगत तीन दशकदेखि कारोबार गर्दै आएको कम्पनीले भटमास, पामोलिन, वनस्पति आयल, तोरीको तेल, सनफ्लावर तेल र पाम आयल प्रशोधन गर्दै आएको छ । कम्पनीले वार्षिक १ लाख २८ हजार ५ सय मेट्रिक टन क्षमतामा तेल प्रशोधन गर्दै आएको छ । कम्पनीले प्रशोधन गरेको तेल त्रिशक्ति, स्मायल, आरोग्य, श्री, निलम, कुन्दन र निल्कमल ब्रान्डमा आन्तरिक बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले आन्तरिक बजारमा मात्रै नभएर भारतमा पनि निर्यात गर्दै आएको छ ।
कम्पनीले तेल प्रशोधनका लागि आवश्यक कच्चा पदार्थ विभिन्न देशबाट आयात गर्दै आएको छ । जसमा कम्पनीले गत वर्ष कारोबार गरेकोमध्ये ९० प्रतिशत हिस्सा कच्चा पदार्थको रहेको रेटिङमा उल्लेख छ । चचन फ्यामिली ग्रुपद्धारा सञ्चालित कम्पनीको निर्देशक निखिल चचन हुन् ।
सुशील वनस्पति प्रालिः केडिया ग्रुपद्वारा सञ्चालित सुशील वनस्पति प्रालिले गत आवमा ९ अर्ब ५२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ८२ करोड र सन् २०२३ मा ३ अर्ब ५३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा ९ अर्ब ८४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीअनुसार सन् २०२५ मा ४२३ प्रतिशतले बढेको उल्लेख गरेको छ । कम्पनीले सन् ८ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ०.५ प्रतिशत नाफा कमाएको थियो । कम्पनीले गरेको व्यापारमध्ये ७९ प्रतिशत हिस्सा निर्यातको रहेको छ । कम्पनीको नेपाल र भारतमा गरी २ सय ५० वितरक छन् ।
सन् १९८८ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा तेल आयात गरी आन्तरिक बजारसँगै भारतमा निर्यात गर्दै आएको छ । कम्पनीले राजहंश ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । रतनलाल केडिया अध्यक्ष रहेको कम्पनीमा ५० प्रतिशत उनैको स्वामित्व छ । बाँकी ५० प्रतिशत उनका परिवारको स्वामित्व छ ।
गणपति वनस्पति लिमिटेडः गणपति वनस्पतिले गत आवमा ८ अर्ब २५ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब २४ करोड रुपैयाँको कारोबार गरेको हो । कम्पनीले सन् २०२३ मा ६ अर्ब ५० करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा १२ अर्ब ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् १९९८ मा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ । कम्पनीले वनस्पति घ्यू, रिफाइन्ड आयल, सोडियम सिलिकेट जार, टिना, प्रिफर्म र पेट बोटल्स, पिना, एसिड आयल प्रशोधन गरी व्यापार गर्दै आएको छ । कम्पनीले तोरीको तेलसहित अन्य तेल गरी वार्षिक १ लाख २० हजार मेट्रिक टन क्षमतामा कार्य गर्दै आएको छ । कम्पनीले प्रशोधन गरेको तेल सफारी, सफारी हेल्थ, छक्र र रामदेव ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
लक्की ग्रुपद्वारा सञ्चालित कम्पनीमा अमित मोर राजीव मोरको स्वामित्व छ । जसमा अमित मोर अध्यक्ष छन् भने राजीव मोर निर्देशक छन् । कम्पनीले आन्तरिक बजारसँगै भारतमा पनि निर्यात गर्दै आएको छ । कम्पनीले गरेको व्यापारमध्ये ८२ प्रतिशत निर्यातबाट भएको रेटिङमा उल्लेख छ । सन् २०२४ मा निर्यातबाट ११ प्रतिशत व्यापार गरेको थियो । कम्पनीअनुसार गत आवमा कम्पनीको व्यापार रिबाउन्ड हुँदै गएको जनाएको छ । कम्पनीले सन् २०२४ मा घाटा व्यहोरेको थियो । गत आवमा भने कम्पनीले २६ करोड १० कलाख रुपैयाँ खुद नाफा कमाएको छ । साथै, कम्पनीले कुल सञ्चय नगद १७ करोड ७० लाख रुपैयाँ रहेको छ ।
बाबा भेजिटेबल आयल इन्डस्ट्रिजः सिद्ध बाबा ब्रान्डको विभिन्न तेल बेच्ने बाबा भेजिटेबल आयल इन्डस्ट्रिजले गत आवमा ५ अर्ब ९१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२४ मा २ अर्ब २ करोड ९० लाख रुपैयाँ र सन् २०२३ मा ३ अर्ब ६७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १९१ प्रतिशतले बढेको छ ।
कम्पनीअनुसार गत आवमा भारतमा उच्च तेल निर्यात हुँदा व्यापारमा उछाल आएको हो । सन् १९९३ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी देशभर बिक्री वितरणका साथै भारतमा निर्यात गर्दै आएको छ । कम्पनीले वार्षिक ४५ हजार मेट्रिक टन भटमास, पामोलिन र सनफ्लावर तेल प्रशोधन गर्दै आएको छ । कम्पनीले आन्तरिक बजारमा सिद्ध बाबा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीको विराटनगर, काठमाडौं र पोखरामा डिपो छन् । कम्पनीले गत आवमा व्यापार गरेकोमध्ये ८८ प्रतिशत हिस्सा निर्यातको छ । कम्पनीले विभिन्न देशबाट कच्चा तेल आयात गर्दै आएको छ ।
कम्पनीले कारोबार गरेकोमध्ये ९० प्रतिशत हिस्सा कच्चा पदार्थको छ । कम्पनीले गत आवमा ५.७० प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा कम्पनीले घाटा व्यहोरेको थियो ।
कम्पनीको अध्यक्ष प्रकाशकुमार मुन्डाडा हुन् । उनीसँगै व्यवस्थापन सदस्यमा सुरेशकुमार राठी छन् ।
सिद्धिविनायक आयल प्रालिः समृद्धि ब्रान्डको विभिन्न प्रकारका तेल बेच्ने सिद्धिविनायक आयल प्रालिले गत आवमा ५ अर्ब ९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ४२ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ८८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा स्थापना भएको कम्पनीले विभिन्न देशबाट कच्चा आयल आयात गरी प्रशोधन गर्दै आएको छ । कम्पनीले विगत दुई वर्षदेखि उच्च व्यापार गर्दैै आएको छ । कम्पनीको व्यापार गत आव रिबाउन्ड भएको उल्लेख गरेको छ । कम्पनीअनुसार गत आव व्यापार तेब्बरले बढेको छ ।
भारतमा तेलको उच्च माग भएसँगै मूल्य पनि बढेको पाइएको छ । सन् २०२४ मा कम्पनीले प्रति मेट्रिक टन १ लाख ५७ हजार २ सय ८८ रुपैयाँमा बिक्री गरेको थियो । सन् २०२५ मा बढेर प्रति मेट्रिक टन २ लाख ७ हजार ४ सय २३ रुपैयाँ पुगेको छ । कम्पनीले गत आवमा ५ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा घाटा व्यहोरेको थियो ।
कम्पनीले भटमास, पाम आयल र सनफ्लावर गरी वार्षिक ३६ हजार ६४ मेट्रिक टन तेल प्रशोधन गर्दै आएको छ । कम्पनीले प्रशोधन गरेको तेल समृद्धि ब्रान्डमा देशभर बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले आन्तरिक बजारमा मात्रै नभएर भारतमा पनि निर्यात गर्दै आएको छ । कम्पनीले करिब तीन वर्षदेखि लगातार व्यापार गर्दै आएकोमा गत आवमा मात्रै नाफा कमाएको छ । विगतका वर्षहरुमा कम्पनीले घाटा व्यहोरेको थियो । कम्पनीले गत आवमा गरेको कारोबारमध्ये ९४ प्रतिशत हिस्सा कच्चा पदार्थको रहेको उल्लेख गरेको छ ।
गोयन्का ग्रुपद्वारा सञ्चालित कम्पनीको अध्यक्ष गोपाल गोयन्का हुन् । गोयन्का विगत ३५ वर्षदेखि विभिन्न क्षेत्रमा कार्यरत भई काम गरिसकेको अनुभव छ । उनीसँग निर्माण क्षेत्र, आर्थिक क्षेत्र र ट्रेडिङ क्षेत्रमा अनुभव छ ।
बागमती आयल इन्डस्ट्रिज प्रालिः बागमती आयल इन्डस्ट्रिजले गत आवमा ५ अर्ब ३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा २ अर्ब ७३ करोड रुपैयाँ, सन् २०२३ मा ३ अर्ब २२ करोड रुपैयाँ, सन् २०२२ मा ३ अर्ब १० करोड १० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ५० करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीअनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा ८४ प्रतिशतले व्यापार बढेको छ । गत आवमा भारतमा तेल उच्च निर्यात हुँदा व्यापार सकरात्मक रहेको कम्पनीले जनाएको छ ।
सन् २००८ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सनफ्लावर तेल र भटमासको तेल प्रशोधन गरी सेल्लो ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । बागमती ग्रुपद्वारा सञ्चालित कम्पनीमा सकेत राठीको ६० प्रतिशत, अनिलकुमार अग्रवालको ३४ प्रतिशत र मनोजकुमार टपरीयको ६ प्रतिशत स्वामित्व छ ।
एबीसी आयल इन्डस्ट्रिज लिमिटेडः एबीसी आयल इन्डस्ट्रिजले गत आवमा ४ अर्ब ३५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ४१ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ मा २ अर्ब १२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीअनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा २०८ प्रतिशतले व्यापार बढेको जनाएको छ । कम्पनीले गत आवमा ३.८० प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.६५ प्रतिशत खुद नाफा कमाएको थियो ।
त्यसैगरी, कम्पनीले चालु आवको पहिलो तीन महिनामा १ अर्ब ६० करोड रुपैयाँको कारोबार गरिसकेको रेटिङमा उल्लेख छ । सन् २०२१ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी व्यापार गर्दै आएको छ । कम्पनीले सन् २०२२ को मेबाट व्यवासायिक कारोबार सुरु गरेको थियो । कम्पनीले गत जुलाईमा मात्रै पब्लिक कम्पनीमा परिणत भएको थियो ।
कम्पनीले वार्षिक ६० हजार मेट्रिक टन तेल प्रशोधन गर्ने क्षमता छ । जसमा कम्पनीले ३६ हजार मेट्रिक टन पाम तेल, १२ हजार मेट्रिक टन सनफ्लावर तेल र १२ हजार मेट्रिक टन भटमासको तेल प्रशोधन गर्ने क्षमता छ । कम्पनीले कच्चा पदार्थ विदेशबाट आयात गर्दै आएको छ ।
कालिका रिफाइनरी प्रालिः कालिका रिफाइनरीले गत आवमा ४ अर्ब ७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२४ मा २ अर्ब ९ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब ६१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ९५ प्रतिशतले व्यापार बढेको जनाएको छ । सन् २०१९ मा स्थापना भई सन् २०२१ बाट व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले विभिन्न प्रकारका कच्चा तेल प्रशोधन गरी तेल उत्पादन गर्दै आएको छ ।
कम्पनीले सनफ्लावर तेल, सोयाबिन, पामोलिन र तोरीको तेल प्रशोधन गर्दै आएको छ । कम्पनीले दैनिक एक सय मेट्रिक टन क्षमतामा उत्पादन गरिरहेको छ । कम्पनीले अम्बे र एग्रो गोल्ड ब्रान्डमा आन्तरिक बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले कच्चा तेल भने अर्जेन्टिना, अष्ट्रेलिया, न्युजिल्यान्ड, नेदरल्यान्डस्, ब्राजिल, इन्डोनेसिया र युक्रेनबाट आयात गरी आपूर्ति गर्दै आएको छ । सन् २०२३ र २०२४ मा तेल उद्योगहरुका लागि निकै कठिन स्थितिमा सञ्चालन भएको थियो । तर, भारत सरकारले तेलमा लगाइएको भन्सार दरले गर्दा गत आवमा नेपाली उद्योगहरुको व्यापारमा उल्लेख्य वृद्धि भएको छ । नेपाली उद्योगहरुले भारततर्फ निर्यात गर्दा व्यापारमा उछाल आएको देखिन्छ । कम्पनीले सन् २०२३ मा विश्वबजारमा कच्चा तेलको मूल्य वृद्धि हुँदा खुद घाटा व्यहोरेको थियो ।
कम्पनीले सन् २०२४ मा ५.४४ प्रतिशत नाफा कमाएको थियो । सन् २०२५ मा ८.५८ प्रतिशत नाफा कमाएको छ ।








प्रतिक्रिया