
काठमाडौं । टेक्नो जय ज्वेलरीले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमै करिब डेढ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको पाँच महिनाको अवधिमा १ अर्ब ४० करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।
चाँदीको मूल्य निरन्तर आकासिँदा चाँदीको गहना बनाउने कम्पनीकाे व्यापार पनि सोही दरमा बढेको हो । एक वर्ष अघि चाँदी प्रतितोला १८०० रूपैयाँमा कारोबार भएकामा अहिले ४८०० रूपैयाँ पुगेको छ । चाँदीको मूल्य दोब्बरभन्दा बढी हुँदा चाँदीको व्यापार गर्ने यो कम्पनीले चालु आवको ५ महिनामै करिब गत वर्षभरको बराबरको चाँदीका गहना बिक्री गरेको हो ।
कम्पनीको व्यापार गत आवमा ७९ प्रतिशतले बढेको थियो । कम्पनीले सन् २०२४ मा ८२ करोड ९० लाख रुपैयाँको व्यापार गरेकामा सन् २०२५ मा १ अर्ब ४८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
यस हिसाबले चालु आर्थिक वर्षको पहिलो ५ महिनामा टेक्नो जयले झण्डै गत वर्षको बराबर व्यापार गरेको हो ।
सन् २०२३ मा कम्पनीले ७८ करोड ८० लाख रुपैयाँको मात्र व्यापार गरेको थियो ।
गत आवमा कम्पनीको नाफा मार्जिन ६.४५ प्रतिशत मात्र छ । सन् २०२४ मा यस्तो मार्जिन ९.३५ प्रतिशत थियो ।
कम्पनीले कच्चा चाँदीलाई गहना बनाउँदै आएको छ । मोरङ जिल्लाको विराटनगरमा रहेको उद्योगले दैनिक ३० हजार ग्राम (३० केजी) क्षमतामा कच्चा चाँदी प्रशोधन गरी गहना बनाउँदै आएको छ । कम्पनीको देशभर ६ वटा आउटलेट छन् ।
कम्पनीको २ वटा आउटलेट विराटनगरमा छन् भने बाँकी काठमाडौं, भैरहवा, पोखरा र नेपालगञ्जमा छन् ।
टेक्नो जयले कच्चा चाँदी दुबाईबाट आयात गर्दै आएको छ । अन्य कच्चा पदार्थ जिन्क र एलोय भारतबाट आयात गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १५ करोड ९६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १३ करोड ९६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब २ करोड रुपैयाँको रेटिङ गराएको हो ।
सन् २००५ मा स्थापना भएको कम्पनीको अध्यक्ष देवकिसन मुन्डाडा हुन् । सुरुमा घरेलु तथा साना उद्योगको रुपमा दर्ता भएको कम्पनी २०१६ मा मात्र प्रालिमा परिणत भएको थियो ।








प्रतिक्रिया